close

ईसेवामा अब व्यक्तिगत र मर्चेन्ट अकाउन्ट एउटै एपबाट प्रयोग गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

भदौ १३, २०८१ ९:४३

ईसेवामा अब व्यक्तिगत र मर्चेन्ट अकाउन्ट एउटै एपबाट प्रयोग गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । डिजिटल वालेट ईसेवाले आफ्ना मर्चेन्टका लागि नयाँ सेवा ल्याएको छ । मर्चेन्टको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले हालै एउटै एपमा व्यक्तिगत र मर्चेन्ट अकाउन्ट लिङ्क गर्न सकिने सुविधा ल्याएको हो । 

यसअघि व्यवसायीले आफ्नो व्यवसायको मर्चेन्ट अकाउन्टका लागि छुट्टाछुट्टै लगइन/लगआउट गर्नुपर्ने अवस्था थियो । एउटा अकाउन्ट लगआउट नगरी अर्को अकाउन्ट लगइन गर्न नसकिने अवस्था थियो । अब भने मर्चेन्ट लिङ्क सेवा प्रयोग गरेर एउटै एपमा मर्चेन्ट र व्यक्तिगत ईसेवा अकाउन्ट प्रयोग गर्न सकिन्छ । 

यस मार्फत प्रयोगकर्ता तथा मर्चेन्टहरूले सजिलै आफ्ना भुक्तानी र कारोबारको निगरानी एउटै एपबाट गर्नसक्ने कम्पनीले जनाएको छ । त्यसबाहेक भुक्तानीको जानकारी सोही एपको नोटिफिकेसन मार्फत पाउन सकिनेछ । आफ्नो मर्चेन्ट खातामा भएका फोनपे क्यूआर मार्फत हुने कारोबार पनि सोही एपबाट लिन सकिने छ । 

त्यसका साथै मर्चेन्ट अकाउन्टमा लिङ्क गरिएको सेटलमेन्ट बैंक खाताबाट सरल रूपमा पैसा निकाल्न सकिने सुविधा उपलब्ध छ । 

“यो नयाँ सुविधा व्यवसायीहरूलाई वित्तीय व्यवस्थापनमा थप सहजता र समयको बचत गराउनेछ,” ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भने ।

कसरी लिङ्क गर्ने ईसेवा एपमा मर्चेन्ट अकाउन्ट र व्यक्तिगत अकाउन्ट ?

ईसेवामा मर्चेन्ट अकाउन्ट बनाउँदा ईसेवा आईडी वा बैंक अकाउन्टलाई सेटलमेन्ट अकाउन्टका रूपमा राख्नुपर्ने हुन्छ । तपाईंले सेटलमेन्ट अकाउन्टमा बैंक अकाउन्ट राख्नु भएको छ भने एपमा मर्चेन्ट अकाउन्ट लिङ्क गर्नका लागि ( [email protected]) मा ईमेल पठाउनु पर्ने हुन्छ ।

त्यसबाहेक ईसेवाको टोल फ्रि नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ । त्यसपछि ईसेवाको टिमले नै तपाईको विवरण अद्यावधिक गर्छ । तर, सेटलमेन्ट अकाउन्ट ईसेवा आईडी राख्नु भएको छ भने तलको प्रक्रिया अपनाएर मर्चेन्ट र व्यक्तिगत अकाउन्ट लिङ्क गर्न सक्नुहुन्छ । 

  • सबैभन्दा पहिले ईसेवा खोल्नुहोस् । 

  • त्यसपछि तल दायाँपट्टि रहेको चार ओटा बक्सको आइकनमा ट्याप गर्नुहोस् । अनि लिङ्क मर्चेन्ट अकाउन्ट भन्ने अप्सन देखिन्छ । त्यसैमा ट्याप गर्नुहोस् । 

  • यति गरिसकेपछि त्यहाँ तपाईंको मर्चेन्ट अकाउन्टको विवरण राखिएको देखिन्छ । 

  • अनि मर्चेन्ट अकाउन्ट छानी तलपट्टि रहेको टर्म्स अफ सर्भिस (Terms of service) को अप्सन मार्क गर्नुहोस् । 

  • र, ‘कन्टिन्यु’ (Continue) को बटन ट्याप गर्नुहोस् । 

  • यति गरेपछि एसएमएस मार्फत भेरिफिकेसन गर्ने पेज खुल्छ । त्यसमा ‘प्रोसिड टु सेन्ड एसएमएस’ (Proceed to Send SMS) को बटनमा ट्याप गर्नुहोस् । 

  • यसपछि तपाईंको मेसेज एप खुल्छ । उक्त मेसेज बक्समा एउटा कोड टाइप भएको हुन्छ । तपाईंले उक्त कोडसहित मेसेज पठाउनुपर्ने हुन्छ । 

  • मेसेज पठाइसकेपछि तपाईंको मेसेज बक्समा ओटीपी कोड आउँछ । उक्त ओटीपी कोड तपाईंले ईसेवा एपमा गई राख्नुपर्ने हुन्छ ।

  • कोड राखेर भेरिफाई एन्ड प्रोसिड (Verify and Proceed) को अप्सनमा जानुहोस् । 

  • यति गरेपछि तपाईंको अकाउन्टमा मर्चेन्ट अकाउन्ट लिङ्क हुन्छ । तपाईंले आफूलाई आवश्यकता अनुसार व्यक्तिगत अकाउन्ट र मर्चेन्ट अकाउन्ट स्विच गरेर प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १३, २०८१ ९:५०