काठमाडौं । पछिल्ला केही दिन देखि ईसेवाको मोबाइल एप गुगल प्ले स्टोरमा भेटिंदैन । यस्तोमा सुरक्षा कमजोरी रहेकाले ईसेवाको एप गुगलले डिलिट गरिदिएको बजार हल्ला समेत चलिरहेको छ ।
तर ईसेवाको मोबाइल एप प्ले स्टोरबाट हट्नुको वास्तविक कारण भने अर्कै छ, ‘बिजनेस भेरिफिकेसन’का दौरान भएको गडबडी । पहिला पहिला गुगल प्ले स्टोरमा एप पब्लिस गर्न डेभलपरलाई निकै सजिलो थियो ।
तर गत वर्षदेखि भने गुगलले प्रयोगकर्ताको सुरक्षा र अद्भुत युजर एक्सपिरियन्सका लागि भन्दै नयाँ नीति जारी गरेको छ । जस अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै समस्या देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरू हटाउने गर्छ ।
सो नीति अनुसार गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबै बिजनेसहरूले आफ्नो अकाउन्ट भेरिफाई समेत गर्नुपर्ने हुन्छ । यसै अनुरूप ईसेवाले चालु अङ्ग्रेजी वर्ष २०२४ को ५ अगस्टदेखि ५ अक्टोबरसम्मको अवधिमा आफ्नो बिजनेस भेरिफिकेसन गरि सक्नु पर्ने थियो ।
ईसेवाको गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि थियो । २८ वैशाख २०८१ देखि भने कम्पनी लिमिटेडमा रूपान्तरण भयो । यही नाम परिवर्तनको मामिलाले अहिले ईसेवाको बिजनेस भेरिफिकेसनमा समस्या उत्पन्न भएको हो ।
गुगलले बिजनेस तथा संस्था भेरिफाई गर्न डुन्स (D-U-N-S) नम्बर प्रयोग गर्छ, जुन डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ । नौ अङ्कको मौलिक किसिमको यस्तो नम्बर विश्वव्यापी रूपमा बिजनेसहरूको पहिचान प्रमाणीकरणका लागि प्रयोग हुने गर्छ ।
डुन एन्ड ब्राडस्ट्रिटले स्वतन्त्र तवरमा कम्पनी रजिस्ट्रारको कार्यालयबाट सङ्कलन गरेको कागजातको आधारमा ईसेवाको व्यावसायिक नाम ईसेवा प्रालिबाट ईसेवा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको उल्लेख थियो ।
उता बिजनेस भेरिफिकेसनका लागि ईसेवाको डेभलपर टिमले गएको सोमबार अपराह्न तिर गुगललाई डुन्स नम्बर ५५७७६९९१२ भएको आफ्नो बिजनेसको नाम ईसेवा लिमिटेड उल्लेख गरेर पठायो । तर गुगलले भेरिफिकेसन गर्नुको साटो उल्टै बिजनेसको नाम र ठेगाना मेल नखाएको भन्दै डेभलपर अकाउन्ट नै रेस्ट्रिक्टेड (प्रतिबन्धित) गरिदियो ।
उक्त डेभलपर अकाउन्टमा ईसेवासँगै ईसेवा मर्चेन्ट एप समेत रहेको थियो, सोही दिन राति करिब ११ बजेदेखि ती दुवै एप प्ले स्टोरमा देखिन छाडे । गुगलले ईसेवामाथि आफ्नो डेभलपर प्रोग्राम पोलिसी पालना नगरेको भन्दै ‘गुगल प्ले स्टोरबाट डेभलपर प्रोफाइल र सम्पूर्ण एप हटाइएको’ जानकारी गराएको छ । यो समस्या समाधान नभएसम्म ईसेवाले उक्त डेभलपर अकाउन्टबाट हटाइएका एप फिर्ता ल्याउन र अन्य कुनै एप पब्लिस गर्न पाउँदैन ।
ईसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यका अनुसार गुगलले अकाउन्ट माथिको रेस्ट्रिक्सन फुकाउन र बिजनेस भेरिफिकेसनका लागि दुई ओटा विकल्प दिएको छ । एउटा ‘ईसेवा लिमिटेड’ नाम गलत हो भने गुगलमा सच्याएर पठाउने र अर्को यदि सो नाम सही हो भने डुन एन्ड ब्राडस्ट्रिटमा अपडेट गर्ने । गुगल प्ले स्टोरमा बिजनेस भेरिफाई हुनका लागि प्ले कन्सोल र डुन एन्ड ब्राडस्ट्रिट प्रोफाइलमा भएको विवरण एकआपसमा मेल खानुपर्ने हुन्छ ।
कम्पनी दर्ताको कागजमा ‘ईसेवा पब्लिक लिमिटेड कम्पनी’ लेखिएको भए पनि व्यवसायको आधिकारिक नाम ईसेवा लिमिटेड हुने भएकाले डुन एन्ड ब्राडस्ट्रिटमा अपडेटका लागि पठाइएको शाक्यले बताए । “डुनबाट नाम सच्चिएको देखिन सात दिनसम्म लाग्ने भए पनि डेटाबेसमा अपडेट भइसकेको ईमेल आइसकेको छ,” उनले भने, “सोही आधारमा हामीले गुगललाई एप रि-स्टोर तथा अकाउन्ट भेरिफिकेसन रिभ्युका लागि अपिल गरेका छौं । गुगलले त्यस उपर विचार गर्न सात दिनसम्म लाग्ने भनेर ईमेल पठाएको छ ।”
गुगलमा बिजनेस भेरिफिकेसनका दौरान ईसेवाले भोगेको समस्या अन्य एप डेभलपरका लागि समेत पाठ हुन सक्छ । यसबाट बच्न भेरिफिकेसनका लागि अनुरोध गर्नु अघि डुन एन्ड ब्राडस्ट्रिटको वेबसाइटमा गएर आफ्नो कम्पनीको नाम र डुन्स नम्बर राम्रोसँग चेक गर्न सक्नु हुनेछ ।
प्रयोगकर्तालाई के असर पर्छ ?
गुगल प्ले स्टोरबाट ईसेवाको एप हट्नुमा सुरक्षा वा अन्य कुनै कारण नभई बिजनेस भेरिफिकेसनका क्रममा डेटा फरक पर्नु हो । यस अघि जजसको मोबाइलमा ईसेवा इन्स्टल भएको छ, उनीहरूकोमा यथावत् रूपमा चलिरहेको छ भने एप्पलको आईओएस एप स्टोरमा रहेको ईसेवा एपमा पनि कुनै फरक परेको छैन ।
“बिजनेस भेरिफिकेसनको प्राविधिक समस्याले मात्रै एप प्ले स्टोरबाट अस्थायी रूपमा अनपब्लिस भएको हो,” शाक्यले भने, “ईसेवा अकाउन्टमा भएको ग्राहकको पैसा सुरक्षित छ, कहिँ जाँदैन र पूर्ववत् रूपमा रकम लोड गर्नेदेखि भुक्तानी गर्ने सम्मका सबै सेवा निर्धक्क प्रयोग गर्न सक्नु हुन्छ ।”
बिजनेस भेरिफिकेसनको समस्या सल्टिएको खण्डमा बढीमा एक साताभित्र ईसेवाको एन्ड्रोइड एप प्ले स्टोरमा फर्किने आशा गर्न सकिन्छ । त्यतिन्जेल सम्मका लागि एन्ड्रोइड मोबाइलमा ईसेवाको एप राख्न चाहने नयाँ प्रयोगकर्ताका लागि सो एप रहेको अर्को मोबाइलबाट शेयर तथा ट्रान्सफर गर्ने विकल्प मात्रै छ ।