close

प्रिमियम लाइट सब्सक्रिप्सन प्लान बन्द गर्दै युट्युब

टेकपाना टेकपाना

असोज ९, २०८० १२:०

प्रिमियम लाइट सब्सक्रिप्सन प्लान बन्द गर्दै युट्युब

काठमाडौं । युरोपेली देशमा मात्र उपलब्ध युट्युबको प्रिमियम लाइट प्लान बन्द हुने भएको छ । विज्ञापनरहित भिडिओ हेर्नका लागि कम शुल्क तिरेर लिन सकिने यस्ताे सब्सक्रिप्सन सेवा २५ अक्टोबरदेखि बन्द हुने भएको हो ।

भर्ज अनुसार युट्युबले सो सब्सक्रिप्सन लिने प्रयोगकर्तालाई ईमेल पठाउँदै प्रिमियम लाइट सेवा बन्द गर्न लागेको जानकारी दिएको छ । सन् २०२१ मा युरोपेली देशका प्रयोगकर्ताका लागि उपलब्ध प्रिमियम लाइट सेवाको शुल्क मासिक ६.९९ युरो तोकिएको थियो ।

यो सेवा लिने प्रयोगकर्ताले कुनै पनि भिडिओ हेर्दा विज्ञापन देखिँदैन । युट्युबको अर्को प्रिमियम फिचरजस्तो यो लाइट सेवामा अफलाइन डाउनलोड, ब्याकग्राउन्ड प्ले जस्ता सेवा छैनन् । अब भने प्रिमियम लाइट सेवा लिने प्रयोगकर्ताका लागि दुई विकल्प हुनेछन् ।

एउटा, कि विज्ञापन सहितका भिडिओ हेर्नुपर्‍यो, कि युट्युबको प्रिमियम सब्सक्रिप्सन लिनुपर्‍यो । ईमेलमा युट्युबले प्रिमियम लाइट सेवा लिने प्रयोगकर्तालाई एक महिनाको फ्रि ट्रायल उपलब्ध गराउने उल्लेख गरेको छ ।

यसका लागि कि प्रयोगकर्ता आफैंले लाइट सब्सक्रिप्सन बन्द गर्नुपर्‍यो, कि कम्पनीले बन्द गर्छ । युट्युबले गत जुलाईदेखि अमेरिकामा प्रिमियम र म्युजिक सब्सक्रिप्सन शुल्क बढाएको युट्युबले छ । 

पछिल्लो समय युट्युबले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै युट्युबमा प्रिमियम सब्सक्रिप्सन लिन प्रेरित गरेको छ । नेपाली भाषामै बज्ने युट्युबको विज्ञापन राखेर कम्पनीले आफ्नो प्रिमियम सेवाको प्रचार गरिरहेको छ ।

नेपालबाट यो प्रिमियम शुल्क लिन प्रति महिना ३.४९ डलर लाग्ने युट्युबको भनाइ छ । यो सेवा लिएपछि प्रयोगकर्ताले विज्ञापन रहित भिडिओ हेर्न पाउनेछन् । त्यस्तै ब्याकग्राउन्डमा भिडिओ बजाउन, भिडिओ डाउनलोड गर्न तथा युट्युबको म्युजिक प्रिमियम सेवा समेत पाउन सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८० १२:४