close

‘साढे ३ लाखमा किनेको बिजुली स्कुटरको डिकी झरीको समयमा आफैं खुल्यो’

रञ्जु बाबा श्रेष्ठ

असोज १२, २०८० १७:९

‘साढे ३ लाखमा किनेको बिजुली स्कुटरको डिकी झरीको समयमा आफैं खुल्यो’

मैले चलाउने रेस्टुरेन्ट नक्सालमा छ । तर बसाइँ गोकर्णमा । घरदेखि नक्सालको दूरी १०/११  किलोमिटर छ । कहिलेकाहीँ लामो बाटो भएर जाँदा १२/१३ किलोमिटर पनि पर्छ । ‌किनमेलको काम गर्न यताउता गइरहनु पर्छ । त्यसो हुँदा म दिनको औसत ४० किलोमिटर यात्रा गर्छु । तर काम अनुसार दिनमा पार‍ गर्ने दूरी तलमाथि हुन्छ ।

मलाई यत्रो यात्रा गर्न बिजुली स्कुटर भएर निकै सजिलो भएकाे छ । हुन त मैले यो स्कुटर किनेको डेढ महिना मात्रै भएको छ । चिनियाँ कम्पनी ‘सुनरा रोबो एस’ (Sunra Robo S)को बिजुली स्कुटर किनेकाे हुँ । खासमा जेठी छोरीका लागि भनेर यो स्कुटर किनेकी थिएँ । तर छोरीले ‘तपाईं नै चलाउनू’ भने पछि मैले चलाउन थालेँ । अर्को साधन पनि बिजुलीवाला नै किन्ने योजनामा भने थिएँ ।

मैले यो स्कुटर किन्नुको कारण शाेरुमका मानिसहरूले राम्रो व्यवहार गर्नु पनि हो । उहाँहरूले भविष्यमा सेवा राम्रो दिने र कुनै समस्या आए सहयोग गर्ने बताउनु भएको थियो । यही मोडलको सात/आठ ओटा स्कुटर बजारमा गइसकेको पनि जानकारी दिनुभएको थियो । तर यो स्कुटर किन्नुअघि मेरा दुई छोरीले अन्य ब्रान्डहरू पनि हेरेका थिए । नेपालमा पाइने सबै बिजुली स्कुटर हेरेपछि अन्तमा मात्र यो किनेका थियौं ।

तर बिजुली स्कुटर भएपछि बाहिर जाँदा समस्या नहोस् भनेर अलि सचेत हुनुपर्ने रहेछ । पेट्रोल जहीँतहीँ पाइए जस्तै चार्जिङ स्टेसन पाइँदैन । पेट्रोल पम्पमा गएर एक मिनेटमै पेट्रोल भरेजस्तो स्कुटरकाे ब्याट्री चार्ज गर्न सकिँदैन । तर विश्वमा बिजुली गाडी व्यापक बन्दै गइरहेको अवस्थामा हामीले बिजुली गाडी प्रयोग गर्नुपर्छ । बिजुली गाडी प्रयोग गर्दा ध्वनि प्रदूषण लगायतका वातावरणीय प्रदूषण कम हुन्छन् । 

तर सबै कुरा राम्रो हुँदैन भने जस्तै बिजुली गाडीका सबै कुरा राम्रा छैनन् । यो स्कुटरका पनि नराम्रो पक्ष छन् ।

एक पटक कार्यक्रममा जाँदा पानी परिरहेको थियो । कार्यक्रमबाट फर्केर आउँदा त स्कुटरको डिकी आफैं खुलेको भेटेँ । यो स्कुटर फिङ्गरप्रिन्टको आधारमा पनि ‘अन’ हुन्छ । मेरो फिङ्गरप्रिन्ट नमिलेसम्म ‘अन’ नहुनु पर्ने हो, तर त्यसबेला डिकी कसरी ‘अन’ भयो, अचम्ममा परेँ । त्यसपछि त डिकीमा सामानहरू राखेर निस्कँदा डराउनु पर्ने भएको छ ।

शाेरुम गएर बुझ्दा पानीको थोपाले सेन्सर छोएर खुलेको भन्नुभयो । म कार्यक्रममा गइरहनु पर्छ । महिलाको बढी नै सामान हुन्छ । त्यस्तो भए त समस्या हुन्छ । उहाँहरूले सेन्सरलाई छोप्न भन्नु भएको छ । तर त्यो सम्भव हुँदैन । स्कुटरको यो नराम्रो पक्ष हो । उहाँहरूले यसलाई सुधार गर्नुहुन्छ होला ।

स्कुटरमा दुई ओटा ब्याट्री छन् । तिनलाई निकालेर चार्ज गर्न अलि अप्ठ्यारो छ । म सिधा चार्जिङ पोर्ट खोलेर चार्ज गर्छु । स्कुटरको ग्राउन्ड क्लियरेन्स कम देखियता पनि समस्या दिएको छैन । राति कुदाउँदा हेडलाइटले राम्रै काम गरेको छ ।

स्कुटरमा पार्किङमा मोड छ । ब्याट्री कति प्रतिशत बाँकी छ भनेर स्क्रिनमै देखिन्छ । रिभर्स मोड पनि छ । म सामान बोकेर हिँड्दा यो फिचर निकै सहयोगी बनेको छ । समग्रमा स्कुटरको अनुभव ठीकै छ । पेट्रोल किन्न पर्दैन । सुरुमा कुदाउन अलि अप्ठ्यारो लागेको थियो । तर विस्तारै बानी पर्दै जान्छ । अहिले निकै सजिलै छ । यो डेढ महिनामा नै मैले १००० किलोमिटर भन्दा बढी कुदाइसकेकी छु । 

स्कुटर किन्न जाँदा शाेरुममा यसको मूल्य तीन लाख ८० हजार भन्नु भएको थियो । तर हामीले ‘नयाँ मोडल हो, अलि छुट दिनु न’ भनेर भनेपछि उहाँहरूले २५ हजार छुट दिनु भएको थियो । यो स्कुटरले मलाईमा दैनिक यात्रा गर्न सहज बनाएको छ । कम्पनीले स्कुटरको ब्याट्रीमा दुई वर्ष र मोटरमा एक वर्ष कम्पनीले वारेन्टी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८० १७:९