close

एक पल्ट प्रयोग गरेपछि फेरिफेरि प्रयोग गरिरहन मन लाग्ने गुगल डक्सका १० फिचर

टेकपाना टेकपाना

असोज २९, २०८० १६:५६

एक पल्ट प्रयोग गरेपछि फेरिफेरि प्रयोग गरिरहन मन लाग्ने गुगल डक्सका १० फिचर

 

काठमाडौं । गुगल डक्समा यस्ता कम थाहा पाइएको थुप्रै फिचर छन्, जुन तपाईंले एक पटक थाहा पाउनु भयो भने सधैं प्रयोग गर्ने चाहना पलाउनेछ । चाँडो डकुमेन्ट बनाउनेदेखि ध्यानभङ्ग नगरिकन लेख्न सकिने तरिका गुगल डक्समा छन् । 

आज हामी तपाईंलाई तिनै गोप्य फिचरबारे बताउँदै छौं ।  

 

तत्कालै नयाँ डक्स बनाउन

 

नयाँ खाली डकुमेन्ट खोल्न तपाईं हरेक पटक गुगल ड्राइभ वा डक्समा गइरहनु पर्दैन । आफ्नो समय बचाउन र काम फत्ते गरिहाल्न ब्राउजरमा केही अक्षर टाइप गरे पुग्छ । 

त्यसका लागि कुनै पनि ब्राउजरको सर्च बारमा अङ्ग्रेजीमा डीओसी डट न्यू (doc.new) टाइप गरेर इन्टर थिच्नु होस् । तत्कालै तपाईंले प्रयोग गरिरहनु भएको गुगल अकाउन्टमा नयाँ डकुमेन्ट खुल्छ । जहाँ तपाईंले काम गर्न सक्नुहुन्छ ।

 

टुल फाइन्डर

 

डक्समा कुन टुल कहाँ भनेर थाहा पाउनु नयाँ प्रयोगकर्ताका लागि निकै गाह्रै काम हो । तर यो समस्याको समाधान स्वरूप गुगलले डक्समा ‘टुल फाइन्डर’ दिएको छ । म्यानुअल्ली हरेक मेनुमा गएर के के टुल छन् भनेर खोज्‍नु भन्दा यसको सहारा लिनु निकै सहज हुन्छ ।

यसबाट मेनु बारमा भएका सबै टुल खोज्न सकिन्छ । टुल फाइन्डर प्रयोग गर्न माथि ‘हेल्प मेनु’मा क्लिक गर्नुहोस् । त्यसपछि देखिने ‘सर्च द मेनुज’मा क्लिक गर्नुहोस् । त्यहाँबाट तपाईंले आफूलाई आवश्यक पर्ने टुल खोज्‍न सक्नुहुन्छ ।

अथवा तपाईं अल्ट सँगै ब्याक स्ल्याश (Alt+/) थिचेर पनि टुल फाइन्डरसम्म पुग्न सक्नुहुन्छ । अब स्क्रिनको माथि बायाँ भागमा टुल फाइन्डर देखा पर्छ । त्यहाँ तपाईंले आफूलाई आवश्यक पर्ने टुलको नाम टाइप गर्न सक्नुहुन्छ ।

 

पृष्ठ रहित ढाँचा

 

डिफल्टका रूपमा गुगल डक्समा पृष्ठहरू खुल्छन् । डकुमेन्टलाई प्रिन्ट गर्दा कस्तो देखिन्छ भनेर थाहा पाउन पृष्ठ प्रयोग गर्न सकिन्छ । यद्यपि यो डिजिटल युगमा सबैले डकुमेन्ट प्रिन्ट गर्छन् भन्ने छैन ।

यदि तपाईंलाई अझ डिजिटल फाइल मात्र चाहिएको छ भने डक्समा पृष्ठको त्यति धेरै आवश्यकता पर्दैन । यसो हुँदा तपाईंले डकुमेन्ट बनाउँदा पृष्ठ रहित ढाँचामा काम गर्न सक्नुहुन्छ ।

यसका लागि फाइल मेनुमा गएर पेज सेटअपमा जानुहोस् । त्यहाँ पेजलेस ट्याब क्लिक गरी ‘ओके’ चयन गर्नु होस् । तर यसो गर्दा तपाईंले काम गरिरहेको डकुमेन्ट मात्र पृष्ठ रहित ढाँचामा जान्छ ।

तर यदि तपाईंले काम गर्ने सबै डकुमेन्टहरू यही ढाँचामा होस् भन्ने चाहनु हुन्छ भने यहीं रहेको ‘सेट एज डिफल्ट’ चयन गर्न सक्नुहुन्छ । 

 

अनुवाद

 

अन्य भाषामा डकुमेन्ट पढ्नु पर्ने छ तर तपाईंलाई त्यो भाषा आउँदैन भने गुगल डक्समा चिन्ता लिनु पर्दैन । यस्तो समस्या समाधानका लागि गुगलले डक्समा इन बिल्ट अनुवाद फिचर दिएको छ ।

यसका लागि तपाईंले टुल मेनु भित्र गएर ‘ट्रान्सलेट डकुमेन्ट’मा जानु पर्ने हुन्छ । त्यसपछि त्यहाँ देखा पर्ने डायलग बक्समा विभिन्न भाषा चयन गर्ने विकल्प दिइएको पाउनु हुनेछ । अब ‘ट्रान्सलेट’मा क्लिक गरेपछि अनुवाद भएको डकुमेन्ट नयाँ ट्याबमा खुल्छ । 

 

एक्सप्लोर टुल

 

आफूले काम गरिरहेको डकुमेन्टभन्दा बाहिर भएका सामग्री तपाईंलाई चाहियो, अगाडि नै लेखिसकेको कुरा पुन: हेर्नु पर्‍यो, तस्विर चाहियो, यी सबैका लागि तपाईंलाई एक्सप्लोर टुल उपयोगी हुन्छ । डकुमेन्टमा काम गरिरहँदा यस भन्दा बाहिर (इन्टरनेट र गुगल ड्राइभ) सर्च गर्न यो टुलले सहयोग गर्छ ।

यसलाई प्रयोग गर्न टुल मेनुमा गएर एक्सप्लोरमा जानुपर्ने हुन्छ । यस बाहेक तपाईंले कन्ट्रोल, अल्ट, सिफ्ट र आई (Ctrl+Alt+Shift+I) सँगै क्लिक गरेर पनि उक्त टुलमा पहुँच पाउन सक्नु हुन्छ ।

यो टुल स्क्रिनको बायाँ भागमा आउँछ । त्यसमा तपाईंले आफूलाई आवश्यक पर्ने कुरा लेख्न सक्नु हुन्छ । त्यस्तै वेब, इमेज र ड्राइभमा क्लिक गरेर त्यही ठाउँमा मात्र सर्च गर्न सक्नुहुन्छ । 

 

अटोमेटिक मार्क डाउन

 

डकुमेन्टमा काम गरिरहँदा कहिले बोल्ड बनाउनु पर्ने हुन्छ, कहिले अन्डरलाइन कोर्नुपर्छ । यस्ता यावत कामका लागि हरेक पटक माउस प्रयोग गरिरहनु पर्छ । तर ती काम अटोमेटिक मार्क डाउन टुलबाट केही क्षणमै गर्न मिल्छ ।

यसबाट तपाईंले आफ्नो अक्षरको ढाँचा इन्पुटको आधारमा फेर्न सक्नुहुन्छ । यसलाई चलाउन सिक्नका लागि केही समय लाग्न सक्छ । जसै तपाईंले चलाउन जान्नु हुन्छ, यसले तपाईंको धेरै समय जोगाउँछ ।

यसमा पहुँच पाउन टुल मेनु भित्र प्रिफरेन्समा जानु होस् । त्यहाँ विभिन्न विकल्प दिइएका छन्  अब आफूलाई आवश्यक पर्नेमा क्लिक गरेर ‘ओके’ प्रेस गर्नु होस् । 

 

डबल फुल स्क्रिन

 

यदि तपाईं डकुमेन्टमा काम गरिरहँदा ध्यान मग्न भएर बिना अवरोध काम गर्न चाहनुहुन्छ भने यो फिचर सबैभन्दा राम्रो विकल्प हो । यसका लागि भ्यु मेनुमा गएर फुल स्क्रिनमा क्लिक गर्नुहोस् ।

त्यसपछि माथि दायाँ तर्फ रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् । यसपछि ब्राउजरको सेटिङ खुल्छ । अब त्यहाँ भएका विभिन्न विकल्पहरू मध्ये जुममा क्लिक गर्नुहोस् ।

अथवा तपाईंले फङ्सन कि ११ (F11) क्लिक गर्न पनि सक्नुहुन्छ । यति गरेपछि तपाईंले आफ्नो डकुमेन्टमा केही विकल्पहरू देख्नुहुन्न  । तर स्क्रिन भने पूरै डकुमेन्टले भरिएको देख्नुहुन्छ । अब पुन: अघिल्लो अवस्थामा फर्कन एस्केप (Esc) कि थिचेपछि एफ ११ थिच्नुपर्छ । 

 

गुगल फोटो

 

कहिलेकाहीँ काम गर्दा गर्दै फोटो पनि आवश्यक पर्छ । यस्तोमा तपाईंले सिधै गुगल फोटोजमा भएका आफ्ना फोटो प्रयोग गर्न सक्नुहुन्छ ।  यसका लागि तपाईंले आफ्नो फोनमा गुगल फोटो एप डाउनलोड गरेको हुनु पर्छ ।

साथै त्यसमा स्वत: फोटो सिंक भएको हुनु पर्छ । यसका लागि इन्सर्ट मेनुमा गएर इमेज क्लिक गर्नुहोस् । अब त्यहाँ आउने विभिन्न विकल्प मध्ये फोटोजमा जानुहोस् । त्यसपछि स्क्रिनको दायाँ भागमा फोटोहरू देख्न सक्नु हुनेछ ।  

 

शब्दकोष

 

डकुमेन्ट बनाइरहँदा कहिलेकाँही त्यस्ता शब्द आउँछन्, जसको अर्थ नै थाहा हुँदैन । यस्तो अवस्था आउँदामा तपाईं कि त शब्दकोष पल्टाउनु हुन्छ अथवा अनलाइनमा त्यसको अर्थ खोज्‍नु हुन्छ ।

तर गुगल डक्सको डिक्सनरी फिचरले ती कुनै काम गर्नै पर्दैन । डक्समा डिक्सनरी चलाउन टुल मेनु भित्र जानु होस् । यसका लागि तपाईंले कन्ट्रोल, सिफ्ट र वाई (Ctrl+Shift+Y) एकसाथ थिच्न पनि सक्नु हुन्छ । डक्सको डिक्सनरीले शब्दको उच्चारण, अर्थ, समानार्थी शब्द दिने गर्छ ।

 

अटोमेटिक सब्सटिच्युसन

 

यदि तपाईंले बारम्बार लेखिरहनु पर्ने वाक्यहरू छन् भने अटोमेटिक सब्सटिच्युसन फिचर प्रयोग गरेर समय जोगाउन सक्नुहुन्छ । यो फिचर प्रयोग गरेर तपाईंले कुनै पनि वाक्यको छोटो रूप बनाउन सक्नुहुन्छ ।

जुन टाइप गर्नासाथ डक्सले स्वत: पूरा वाक्य बनाउँछ । यो फिचर प्रयोग गर्न टुल मेनु भित्र प्रिफरेन्समा जानुहोस् । अब त्यहाँ सब्सटिच्युसन ट्याबमा क्लिक गर्नुहोस् ।

त्यहाँ बायाँ भागमा आफूले चाहेको वाक्यको छोटो रूप र दायाँ भागमा  पूरा रूप लेख्नुहोस् । त्यसपछि 'ओके'मा क्लिक गर्नु भयो भने यो काम स्वचालितमा परिणत हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८० १७:०