close

अब टेलिकम कम्पनीले फ्रिक्वेन्सी लिएर प्रयोग नगरे स्वतः फिर्ता हुने

टेकपाना टेकपाना

कात्तिक १४, २०८० १६:३०

अब टेलिकम कम्पनीले फ्रिक्वेन्सी लिएर प्रयोग नगरे स्वतः फिर्ता हुने

काठमाडौं । अब टेलिकम कम्पनीहरूले राज्यको अमूल्य स्रोतको रूपमा रहेको रेडियो फ्रिक्वेन्सी लिएर प्रयोग नगरी होल्ड मात्र गरेर राख्न नपाउने भएका छन् । दुई साताअघि पारित दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीतिमार्फत यस्तो व्यवस्था गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको अध्यक्षतामा रहेको समितिको बैठकले यसअघिको नीतिलाई खारेज गर्दै नयाँ नीति जारी गर्ने निर्णय लिएको छ । उक्त नयाँ नीतिमार्फत फ्रिक्वेन्सी होल्डिङ मात्र गरी सेवा सञ्चालन नगर्ने कार्यलाई निरुत्साहित गर्न र फ्रिक्वेन्सीको अधिकतम सदुपयोग सुनिश्चित गर्न यस्तो व्यवस्था राखिएको बताइएको छ ।

यससँगै अब कुनै टेलिकम कम्पनीले प्राप्त गरेको फ्रिक्वेन्सी उपयोग नगरेमा अथवा उक्त फ्रिक्वेन्सीमा सेवा प्रदायकले सेवा सञ्चालन नगरी होल्ड गरेको खण्डमा नेपाल दूरसञ्चार प्राधिकरणले फिर्ता लिने बाटो खुलेको छ । यद्यपि त्यसका लागि प्राधिकरणले थप छ महिनाको समय भने सेवाप्रदायकलाई उपलब्ध गराउने व्यवस्था राखिएको समितिका एक सदस्यले जानकारी दिए ।

"प्राधिकरणले अनुपयोग स्थितिमा रहेको फ्रिक्वेन्सी उपयोग गरी सेवा प्रदान गर्न दिएको थप अवधिमा समेत निर्देशन पालना नगरेको खण्डमा सेवा प्रदायकलाई दिइएको फ्रिक्वेन्सी स्वतः फिर्ता हुनेछ," ती सदस्यले भने ।  

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८० १६:३२