close

किन सस्तो हुन्छ प्याकेजको डेटा ?

उष्मा अधिकारी

कात्तिक १५, २०८० १२:५४

किन सस्तो हुन्छ प्याकेजको डेटा ?

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनीहरूले विभिन्न प्याकेज ल्याइरहेका हुन्छन् । त्यसबाट आफ्ना लागि उपयुक्त प्याकेज कसरी छान्ने ? सामान्य तवरमा मोबाइल सेवा उपभोग गर्दा र प्याकेज लिँदा कस्तो फाइदा र घाटा हुन सक्छ ? आज हामी यसैबारे चर्चा गर्दै छौं ।

कम शुल्कमा बढी सेवा

नेपाल टेलिकमको प्रिपेड सिमबाट त्यसैको नेटवर्कमा कल गर्दा प्रतिमिनेट डेढ रुपैँया र अन्य नेटवर्कमा फोन गर्दा दुई रुपैँया शुल्क लाग्छ । डेटाको हकमा प्याकेज नलिई चलाउँदा प्रति एमबी एक रुपैँया पर्न आउँछ ।

अब नेपाल टेलिकमको सबैभन्दा सस्तो प्रिपेड सजिलो कम्बो प्याकलाई उदाहरणको रुपमा हेरौं । यो प्याकेज खरिद गर्न १९९ रुपैँया पर्छ, जसमा २८ दिनसम्म हरेक दिन १५ मिनेट जुनसुकै नेटवर्कमा कल गर्न सकिन्छ । भन्नुको मतलब दिनको ३० रुपैँयाको दरले २८ दिनमा ८४० रुपैँया बराबारको भ्वाइस सेवा पाइने भयो ।

त्यस्तै यो प्याकेज लिएपछि हरेक दिन १५० एमबी डेटा पनि पाइन्छ । जसको उपभोग गर्दा सामान्य प्रयोगकर्तालाई १५० रुपैँया कम्तिमा पर्न आउँछ । २८ दिनको हिसाब गर्दा यो प्याकेज लिनेले करिब ४,२०० रुपैयाँ मूल्यको डेटा उपयोग गर्न पाउँछन् । त्यति मात्रै होइन दैनिक १५ ओटा एमएमएस जुनसुकै नेटवर्कको नम्बरमा पठाउन सकिन्छ, जसको हिसाब किताब गर्दा एक रुपैँया २५ पैसाका दरले २८ दिनमा २२५ रुपैँया पर्ने एसएमएसको फाइदा लिन सकिने भयो ।

समग्रमा हेर्दा केबल १९९ रुपैँयाको प्याकेज लिँदा जति भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध हुन्छ, बिना प्याकेज चलाउने हो भने यसको लागि ५,२६५ रुपैँया पर्न आउँछ । 

अब एनसेलको प्याकेजलाई पनि उदाहरणको रुपमा हेरौं । यसमा २८ दिनको लागि ४९९ रुपैँयाको कम्बो प्याक खरिद गर्न सकिन्छ । जसमा हरेक दिन जुनसुकै नेटवर्कमा फोन गर्न ७० मिनेटको भ्वाइस सुविधा, ७० ओटा एसएमएस अनि दैनिक ७०० एमबी डेटा उपलब्ध हुन्छ । अघि जस्तै हिसाब गर्दा ४९९ रुपैँयाको यो प्याकेजमा प्राप्त हुने भ्वाइस सेवाका लागि मात्रै सामान्य तवरमा चलाउँदा ३,१७५ रुपैँया पर्न आउँछ ।

दैनिक ७०० एमबी डेटा २८ दिनका लागि प्याकेज नलिई खपत गर्ने हो भने १९ हजार ६०० रुपैँया खर्च निस्किन्छ । यस अलावा यो प्याकेजमा प्राप्त हुने एसएमएस सामान्य तरिकाले प्रयोग गर्दा ३,९२० रुपैँया शुल्क तिर्नुपर्ने हुन्छ । यी सबैलाई जोड्दा ४९९ रुपैयाँको यो प्याकेजमा २६ हजार ६९५ रुपैँयाको भ्वाइस, डेटा र एसएमएस उपयोग गर्न सकिन्छ ।

यसरी हेर्दा प्याकेजमा सेवा उपलब्ध गराउँदा कम्पनीलाई ठूलो घाटा भएजस्तो देखिन्छ । तर कम्पनीलाई त्यस्ता प्याकेजले दिर्घकालीन लाभ दिइरहेको हुन्छ । फलस्वरुप नेपाल टेलिकम होस् वा एनसेल, सबै टेलिकम कम्पनीले आफ्ना सेवालाई धेरैभन्दा धेरै प्याकेज बनाएर बिक्री गर्ने गर्छन् । यसबाट उपभोक्तालाई कस्तो फाइदा हुन्छ भन्ने कुरा त माथिका उदाहरणबाट नै प्रस्ट भइसकेको छ । तर कम्पनीलाई हुने फाइदाबारे जानिहालौं:

सस्तो प्याकेज दिँदा टेलिकम कम्पनीलाई हुने फाइदा

पहिलो कुरा प्याकेजमा सेवा उपलब्ध गराउँदा कम्पनीलाई अग्रिम भुक्तानी प्राप्त हुन्छ । प्रयोगकर्ताले पहिले प्याकेज किन्छन् अनि मात्र सेवा उपभोग गर्न पाउँछन् । साप्ताहिक वा मासिक प्याकेज खरिद गर्दा त करिब एक महिनापछि उपभोग गर्ने सेवाको शुल्क कम्पनीलाई एक महिनाअघि नै प्राप्त हुन्छ । जसले कम्पनीलाई वित्तीय स्थिरता कायम गर्न सघाउनुका साथै योजना कार्यान्वयनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँछ । 

अर्को कुरा उपभोक्तामा सेवा उपभोग गर्ने बानीको विकास हुन्छ । भन्नुको मतलब प्याकेज बाँकी छ भने कामै नपरे पनि तपाईं सम्झी सम्झी आफ्ना साथीभाइलाई कल वा एसएमएस गर्नुहुन्छ । किनकि प्याकेज त्यसै खेर के फाल्नु भन्ने प्रयोगकर्तालाई लाग्न सक्छ । फोन वा एसएमएस गर्ने फुर्सद भएन र प्याकेज पूरै सकिएन भने कम्पनीलाई झन् फाइदा हुन्छ ।

सामान्य अनुभवका आधारमा भन्ने हो भने पनि त्यस्ता प्याकेज खरिद गर्दा प्राप्त हुने एसएमएस सेवाको कमै मात्र उपयोग भइरहेको हुन्छ । २८ दिनमा हरेक दिन भ्वाइस, डेटा र एसएमएसको शतप्रतिशत प्रयोग गर्नेहरु कमै हुन्छन् । यद्यपि, प्रयोगकर्ताले प्रयोग गरे पनि, नगरे पनि कम्पनीले पैसा भने असुलिसकेका हुन्छन् ।

त्यस्तै महँगो छ भनेर प्रयोगकर्ताले प्याकेज नलिँदा खासै डेटा अन गर्दैनन् । जुन कम्पनीका लागि घाटाको कुरा हो । प्रयोग नै नहुनुभन्दा सस्तो दाममा नै किन नहोस् सेवाको खपत बढ्नु कम्पनीका लागि फाइदाको कुरा हो ।

त्यसमाथि प्याकेजअन्तर्गतको डेटा सस्तो पर्ने भएकाले मन खुम्च्याउने प्रयोगकर्ताको बानी हट्दै जान्छ । जसले दीर्घकालमा कम्पनीलाई डेटा बिक्रीतर्फ राम्रै फाइदा पुग्छ ।

प्याकेज लिने तरिका

माथि उदाहरणमा दिएका कम्बो प्याकहरु नै प्रयोगकर्ताले लिनुपर्छ भन्ने पनि छैन । यदि डेटा र एसएमएस चाहिँदैन भने कम्बो प्याकका लागि कम शुल्क भए पनि उपभोक्ताका हिसाबले त्यो बेकारको खर्च हो ।

प्रयोगकर्ताले डेटा वा भ्वाइस सेवा कुन बढी प्रयोग गर्छन्, त्यो अनुसार प्याकेज छान्न सक्छन् । यदि आफूले किनेको प्याकेजको सेवाहरू खासै चाहिँदैन भने त्यो अनावश्यक खर्च हुन सक्छ ।

अझै अलि बुढापाका वा प्याकेजबारे जानकारी नभएका कयौं प्रयोगकर्ता अहिले पनि बिना प्याकेज सामान्य तरिकाले दूरसञ्चार सेवा लिइरहेका हुन्छन् । प्याकेज लिन नजान्दा उनीहरुले चाहिनेभन्दा बढी शुल्क खर्चिरहेका हुन्छन् ।

नेपाल टेलिकमका प्रयोगकर्ताले *1415# र एनसेल प्रयोगकर्ताले *123# डायल गरेर डेटा लिने प्रकिया सुरु गर्न सक्छन् । यस्तोमा यी टेलिकमका मोबाइल एपमार्फत वा विभिन्न डिजिटल वालेटबाट आफूले चाहेको व्यक्तिलाई विभिन्न प्याक खरिद गरिदिन पनि सक्छन् । यसबाहेक यी टेलिकमका आधिकारिक वेबसाइटबाट ती प्याकेजबारे थाहा पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८० १२:५४