close

२ लाख ३० हजारमा किनेको बिजुली स्कुटरले निकै सजिलो बनाएको छः पूजा श्रेष्ठ

पूजा श्रेष्ठ

कात्तिक १६, २०८० १७:५८

२ लाख ३० हजारमा किनेको बिजुली स्कुटरले निकै सजिलो बनाएको छः पूजा श्रेष्ठ

हामीलाई आफ्नो व्यावसायिक कामका लागि स्कुटर किन्नु थियो । बजारमा भएका विभिन्न ब्रान्डमध्ये याडिया छान्यौं । यही ब्रान्डका विभिन्न मोडलहरू हेर्‍यौं । धेरै मोडलहरू आकर्षक थिए । कार्यालय प्रयोजनका लागि किन्न लागेकाले ‘लुक्स’ भन्दा पनि बढी प्रयोग हुने स्कुटर छान्नु थियो । 

अनि धेरै मोडल हेरेपछि हामीले 'याडिया ई एट एस प्रो' (Yadea E8S pro) छान्यौं । तर बुकिङ गरेको एक महिना पछि मात्र स्कुटर हात पर्‍यो ।

अहिले हामीले चलाउन थालेको दुई महिना मात्र भएको छ । नयाँ भएकाले कुदाउन एकदम सहज छ । म बाहेक कार्यालयका अन्य कर्मचारीले काम अनुसार यो स्कुटर चलाउँछन् । 

मुख्यत: हाम्रो कर्मस्थान काठमाडौं उपत्यका भएकाले हामी यहाँ मात्रै चलाउँछौं । यसकारण रेन्ज एन्जाइटीको समस्या छैन । स्कुटरमा गतिका लागि 'गियर वन' र 'गियर टू' गरी दुई विकल्प छन् । 

'गियर वन'मा प्रतिघण्टा ३० किलोमिटर र 'गेयर टु'मा प्रतिघण्टा ६० किलोमिटरसम्मको गतिमा चलाउन सकिन्छ । हामीले कुदाउने ठाउँ नै सीमित भएकाले चार्ज सकिएर बाटोमा रोकिनु परेको छैन । 

कहिलेकाहीँ खाल्डाखुल्डी भएको बाटोमा चलाउँदा ग्राउन्ड क्लियरेन्स कम भएकाले अलि समस्या हुन्छ । तर काठमाडौंमा चलाउन भने त्यस्तो समस्या हुन्छ जस्तो लाग्दैन ।

दुई महिनाको अवधिमा हामीले दुई हजार किलोमिटर गुडाइसकेका छौं । कहिले कुदाउने काम नै पर्दैन, त कहिले दिनभर गुडाउनु पर्छ । 

हामी प्रत्येक दिन चार्ज पनि गर्दैनौं । आवश्यक परेको खण्डमा मात्रै चार्ज गर्छौं । स्कुटरलाई टु पिन पावर केवलबाट सजिलैसँग चार्ज गर्न सकिन्छ । 

त्यसबाट छ घण्टा भित्र स्कुटर फुल चार्ज हुन्छ । स्कुटरलाई एक पटकको सिङ्गल चार्जमा १५० किलोमिटर कुदाउन सकिन्छ ।

अहिले बिजुली स्कुटर किनेर धेरै सजिलो भएको छ । पेट्रोल हाल्न गइरहनु पर्दैन । यसको डिकी पनि ठूलो भएकाले हामीलाई भने उपयोगी नै छ । 

त्यस्तै स्ट्यान्ड लगाएको समयमा स्कुटर ‘अन’ गर्न सकिंदैन । जुन सुरक्षाको हिसाबले राम्रो फिचर हो । नयाँ स्कुटर खरिद गर्दा रेन्ज कति दिन्छ, कुदाउन सहज छ/छैन जस्ता कुराहरू विचार गर्नु पर्छ । 

हामीले पनि त्यस्तै कुराहरू विचार गरेर २ लाख ३० हजार रुपैयाँमा यो स्कुटर लिएका हौं । व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न, कलेज/कार्यालय आउजाउ गर्न वा सामान्य यात्रा गर्न यो स्कुटर शुल्क अनुसार राम्रो छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८० १८:३