close

आफूलाई विदेशी भन्दै  गिफ्ट पठाएको बहानामा १९ लाख बढी ठग्ने २३ वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

कात्तिक २०, २०८० ९:२७

आफूलाई विदेशी भन्दै  गिफ्ट पठाएको बहानामा १९ लाख बढी ठग्ने २३ वर्षीय युवक पक्राउ

 

काठमाडौं । अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौंडा घर भई हाल काठमाडौं बस्दै आएका २३ वर्षीय शिरीष श्रेष्ठलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार आरोपी श्रेष्ठ सबैभन्दा पहिले फेसबुकमा रेबिका एकपोटो (Rebecca EKpoto), जुफेङ (Jufesng) र इन्स्टाग्राममा ब्रेन ब्रेन्सो ४१३ (Brain_brainso413) युजरनेम भएका अकाउन्ट खोलेर पीडितसँग नजिकिए । कुराकानी गर्दै साथीहुँदै प्रेमको प्रपञ्च रच्न थाले । 

कुरा गरेको मान्छे विश्वस्त हुने अवस्था आएपछि मिलियन डलर, आईफोन, घडी, गरगहना, ल्यापटप लगायतका सामानसहितको गिफ्ट पठाएको छु भन्थे । र, विभिन्न ह्वाट्सएप नम्बर प्रयोग गरी ती मानिसहरूलाई पार्सल पठाएको फोटो तथा भिडिओ पठाएर विश्वास दिलाउँथे । 

त्यसको केही समयपछि सोही पार्सल टर्की विमानस्थल, काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विभिन्न देशका भन्सार कार्यालयहरूमा सामान आइपुगेको छ भन्दै अपडेट दिन्थे । जब पनि उनी यस्ता विमानस्थलका नाम लिन्थे, त्यो बेला कस्टम चार्ज, डेलिभरी चार्ज, इन्स्योरेन्स चार्ज, जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नुपर्ने भन्दै रकम पठाउन लगाउँथे । 

यसरी विभिन्न पीडितबाट आरोपी श्रेष्ठले १९ लाख २५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका श्रेष्ठमाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८० ९:२७