close

सामान पाउनुअघि नै पैसा तिर्दा अनलाइनमा ठगिन्छन् धेरै नेपाली, जोगिने कसरी ?

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ २४, २०८० ११:८

सामान पाउनुअघि नै पैसा तिर्दा अनलाइनमा ठगिन्छन् धेरै नेपाली, जोगिने कसरी ?

काठमाडौं । नयाँ बानेश्वर, काठमाडौंका महेश थापा (नाम परिवर्तन) सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छन् । उनी विशेषगरी ह्वाट्सएप र फेसबुक बढी प्रयोग गर्छन् । 

गत वर्ष मंसिरको कुरा हो, उनलाई एउटा क्यामेरा खरिद गर्ने रहर जाग्यो । उनले विभिन्न प्लेटफर्ममा क्यामेराबारे खोजे । पछि फेसबुकको एल्गोरिदमले उनलाई क्यामेराको विज्ञापन राखिएको पोस्टमा पुर्‍यायो ।

डिजिटल क्यामेराज एन्ड कम्प्युटर्स (DIGITAL CAMARAS & COMPUTERS) नामको उक्त फेसबुक पेजमा दिवस न्यौपानेले क्यानन ९० डी क्यामरा बिक्रीमा राखेको देखिन्थ्यो । सोही पोस्टमा काठमाडौंको गोंगबु स्थित रोयल क्यामेरा शप नेपाल पेजलाई पनि ट्याग गरिएको थियो । 

विज्ञापन देखेपछि थापाले मेसेन्जरमा दिवस न्यौपानेसँग म्यासेज गरी आफू क्यामेरा खरिद गर्न इच्छुक रहेको सुनाए । कुरा गर्दै जाँदा थापालाई दिवस न्यौपाने नाम भएको फेसबुक अकाउन्टबाट क्यामेरा बुटवलमा रहेको पसलबाट बिक्री गर्ने गरेको भनियो । 

त्यसपछि शर्मालाई मेसेन्जरबाटै मोबाइल नम्बर पठाउन भनियो । शर्माले आफूले खरिद गर्न चाहेको क्यामेराको मूल्य पनि बुझे । पसले भनिएका व्यक्तिले उनलाई सो क्यामेराको मूल्य एक लाख ८० हजार रुपैयाँ रहेको बताए । 

शर्माले क्यामेरा अर्डर गर्न अग्रिम भुक्तानी स्वरूप ५० प्रतिशत रकम तिर्नुपर्ने थियो । सो रकम पठाएपछि क्यामेरा कुरियर गरेर पठाउने भन्दै शर्मालाई ठेगाना सहितका विवरण मागियो । 

थापाले पनि त्यति बेलासम्म पैसा बाहेक फोन नम्बर, आफ्नो नाम, ठेगाना जस्ता विवरण पठाइसकेका थिए । उनले यी कागजात पठाएपछि सो फेसबुक पेज सञ्चालकले रूपन्देहीमा रहेको डिजिटल क्यामेराज एन्ड कम्प्युटर्सको प्रमाणपत्र पनि पठाए । 

थापाले विश्वास गर्न सक्ने अवस्था आएपछि उनलाई नागरिकताको फोटो पठाउन भनियो । थापाले पनि आफ्नो नागरिकता पठाए । त्यसलगतै आईएमई पेको नम्बर पठाएर थापालाई रकम पठाउन भनियो । 

थापाले १ मंसिर २०७९ मा पहिलो पल्ट २५ हजार, अर्को पटक ५० हजार र अन्तिम पटक २५ हजार गरी तीन पटकमा एक लाख रुपैयाँ बुझाए । 

रकम पठाइसकेपछि सो क्यामेरा भेरी ढुवानी सेवाको कुरियरमा सामान डेलिभरी गरिसकेको भन्दै बिलको फोटो पठाएर थापालाई आश्वस्त पारियो ।

तर, उनीहरूले भनेको मितिमा क्यामेरा थापाको दैलोमा आउने चालचुल थिएन । थापाले मेसेज पठाएर आफ्नो सामान कहिले आइपुग्छ भनेर बारम्बार सोधिरहे । तर, सामान छिट्टै उपलब्ध गराउने भन्दै आलटाल गर्न थालेपछि उनले आफूलाई झुक्याएर ठगी गरिएको चाल पाए । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर उजुरी दिए ।

बुटवलका २५ वर्षीय कृष्ण छेत्री (नाम परिवर्तन) वैशाख २०७८ को एक दिन फेसबुक स्क्रोल गर्दै थिए । त्यति नै बेला उनको आँखा फिडो मोबाइल स्टोर नामक पेजबाट राखिएको आईफोन सेभेन प्लसको विज्ञापनमा पर्‍यो । 

विज्ञापनमा फोनको आकर्षक तस्विर सहित त्यसको मूल्य २५ हजार रुपैयाँ राखिएको थियो । उनलाई सो फोन खरिद गर्ने इच्छा जाग्यो ।

त्यसपछि फोनबारे थप बुझ्न उनले उक्त पेजमा मेसेज गरे । छेत्रीले फोनबारे थप बुझ्न खोजेपछि पेजबाट उक्त कम्पनी क्यानडामा रहेको रिप्लाई आयो । 

"हामी रमजानको उपलक्ष्यमा आईफोन सेभेन प्लस मोबाइल सेट सस्तो दरभाउमा बिक्री गरिरहेका छौं," पेजबाट आएको मेसेजमा लेखिएको थियो, "यो मोबाइल खरिद गर्दा घडी निःशुल्क आउँछ ।"

यति भएपछि अरू के चाहियो र ? छेत्रीलाई सो आईफोन खरिद गर्ने इच्छा बढ्दै गयो । कुरा गर्दै जाँदा छेत्री सो फोनप्रति झनै आकर्षित भए । 

त्यसपछि उनले आफू सो फोन खरिद गर्न इच्छुक भएको मेसेज पठाए । फोन खरिद गर्ने पक्कापक्की भएपछि उनलाई एउटा ईसेवा आईडी दिएर त्यसैमा २५ हजार रुपैयाँ पठाउन भनियो । 

"उनीहरूले दिएको ईसेवा आईडीमा रकम पठाएँ भने मैले त्यो फोन पाउँछु भनिएको थियो," छेत्रीले उजुरीपत्रमा लेखे, "रकम पठाएपछि फोन आइपुग्छ भन्नेमा म विश्वस्त भएपछि उनीहरूले भनेको ईसेवा आईडीमा रकम पठाइ दिएँ ।"

२२ वैशाख २०७८ मा उनले आफ्नो ईसेवा वालेटबाट भनिएको ईसेवा वालेटमा २५ हजार रुपैयाँ पठाए । त्यसको स्क्रिनशट उनले उजुरीसँगै पेस गरेका थिए । 

साँझ फोन आइपुग्ने आशले छेत्री हौसिएका थिए । ईसेवाबाट सबैभन्दा पहिले रकम पठाइसकेपछि उनलाई एउटा विदेशी नम्बरको ह्वाटएसप नम्बरबाट ट्रयाकिङ कोड आयो । 

सो कोडसँगै मेसेजमा उक्त पार्सल ग्रिस, स्पेन, इराक, इरान हुदै भारत आई पुगेको जस्तो देखिने पोस्टर पठाइएको जस्तो देखिन्थ्यो ।

त्यतिन्जेलसम्म फोन पाउनेमा छेत्री विश्वस्त थिए । लगतै उनलाई उक्त ह्वाट्सएप नम्बरबाट सम्पर्क गरी तपाईंले कस्टम चार्जका लागि ५५ हजार रुपैयाँ तिर्नुपर्छ भनियो । 

उनलाई एनआईसी एसियाको अकाउन्ट नम्बर पठाएर त्यसैमा रकम पठाउन भनियो । विदेशबाट फोन आउँदैछ तर नेपाली व्यक्तिको खाता नम्बर दिएर रकम पठाउन भनिएको थियो । 

छेत्रीले कुनै पनि आशङ्का गरेनन् । पहिले २५ हजारमा सबै आउँछ भनिएको फोनलाई उनले त्यतिबेलासम्म ८० हजार रुपैयाँ तिर्नुपर्ने थियो । 

उनले फेसबुक पेजबाट भने बमोजिम थप ५५ हजार रुपैयाँ बैंकमा पठाइदिए । उनीहरूले अबको केही समयमा आईफोन डेलिभरी हुन्छ भनेर क्षेत्रीलाई विश्वस्त पारे । 

तर त्यसपछि फेरि ह्वाटएसबाट उनलाई अर्को मेसेज आयो । "तपाईंको नाममा एउटा आईफोन जानुपर्ने, तर झुक्किएर दुई ओटा आईफोन गएको रहेछ," मेसेजमा लेखिएको थियो, "अर्को मोबाइलको चार्ज तपाईंले २५ हजार रुपैयाँ तिर्नुपर्ने भयो ।"

उनलाई भनिएको रकम तिरेपछि मात्र फोन हातमा पर्ने बताइएको थियो । यतिका रकम तिरिसकेका क्षेत्रीलाई अर्को फोन पनि आएको हो भने २५ हजार तिर्न त्यति सङ्कोच लागेन । उनले फेरि पनि २५ हजार रुपैयाँ ईसेवा आईडीमार्फत एनआईसी एसिया बैंकमा पठाइदिए ।

यति भएपछि अब त फोन पक्कै आउँछ भन्नेमा क्षेत्री आशावादी थिए । "त्यसपश्चात् तपाईंको मोबाइल सेट नेपालमा आइसकेको छ, डेलिभरी गर्ने व्यक्तिका लागि रकम १५ हजार रुपैयाँ सोही ईसेवा आईडीमा पठाइदिन भने," उनले उजुरीमा उल्लेख गरेका छन् । उनले त्यस बापत पनि १५ हजार रुपैयाँ ईसेवामा पठाइदिए ।

यतिबेलासम्म छेत्रीले कूल एक लाख २५ हजार रुपैयाँ पठाइसकेका थिए । यति रकम पठाइसकेपछि फोन चलाउने आतुरी लाग्नु जायजै थियो । 

तर भनेको समयमा पनि आईफोन नपाएपछि उनले ह्वाट्सएपमा मेसेज पठाउन थाले । तर उनीहरूले छेत्रीबाट रकम असुल गर्न कुनै कसुर बाँकी राखेनन् ।

छेत्रीका अनुसार उनीहरूले पटक पटक ह्वाट्सएपमा सम्पर्क गरी कहिले डेलिभरी चार्ज, कहिले कस्टम चार्ज, कहिले इन्स्योरेन्स शुल्कका लागि भन्दै पटक पटक सम्पर्क गरी ईसेवा आईडीबाट ३९ हजार ५०० रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकमा पाँच हजार रुपैयाँ, एभरेस्ट बैंकमा खाता रहेका गौरव शर्माको नाममा ४० हजार रुपैयाँ पठाइसकेका थिए ।

यतिबेलासम्म छेत्रीको गोजीबाट दुई लाख पाँच हजार रुपैयाँ गइसकेको थियो । त्यसपछि पनि आलटाल गर्दै लामो समयसम्म झुलाउन थालेपछि छेत्रीले यो कुरा आफ्ना साथीहरूलाई सुनाए । 

उनका साथीहरूले ती व्यक्ति नराम्रोसँग झुक्याएको भनेपछि छेत्री छाँगाबाट खसेझैं भए । त्यही विषयमा अनुसन्धानका लागि उनले काठमाडौं आएर उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए ।

विवेक राई (नाम परिवर्तन) एउटा फोटो स्टुडियो सञ्चालन गर्ने सोचमा थिए । त्यसपछि उनी फेसबुकमा क्यामेरा र फोटोग्राफीसँग सम्बन्धित उपकरणहरूबारे बुझ्न थाले । 

त्यही बेला उनले फेसबुकममा फोटोग्राफर्स इन्स्ट्रुमेन्ट (Photographer’s Instrument) नामक फेसबुक पेज देखे । सो पेजमा भिडिओ क्यामेरा, ड्रोन र डीएसएलआर क्यामेरा सस्तो मूल्यमा बिक्री गर्ने भन्दै विज्ञापन गरिएको थियो । उनले विज्ञापन देखेपछि पोस्टको तल देखिने सेन्ड मेसेज बटनमा ट्याप गरी मेसेज लेखे । 

उनले पेजमा आफूलाई भिडिओ क्यामेरा, ड्रोन र डीएसएलआर क्यामेरा आवश्यक परेको खुलाए । त्यसपछि सो पेजबाट ह्वाट्सएप नम्बर पठाउन भनियो । उनले पनि ह्वाट्सएप नम्बर पठाए । यति गरेपछि उनलाई सोही ह्वाट्सएप नम्बरबाट मेसेज आयो ।

उनलाई ह्वाट्सपपमा मेसेज पठाएर तीन ओटा उपकरण (भिडियो क्यामरा, ड्रोन क्यामरा र DSRL क्यामरा) को मूल्य एक लाख तीन हजार रुपैयाँ पर्ने जानकारी गराइयो । कुरा गर्दै जाँदा ती सामान अमेरिकाबाट डेलिभरी हुने र बुकिङ गर्न प्रत्येक डिभाइसका लागि अग्रिम भुक्तानी स्वरूप १० हजार रुपैयाँ तिर्नुपर्ने बताइको । सो रकम उनले नेपालमा भएको ईसेवा नम्बरमा पठाउनुपर्ने थियो । क्यामेरा पाउने कुरामा ढुक्क भएपछि राईले ती डिभाइस स्वरूप दुई पटकमा ३० हजार रुपैयाँ बुझाए । 

त्यसपछि राईलाई क्यामेरा बिक्री गर्नेले एउटा वेबसाइटको लिङ्क र ट्रयाकिङ कोड आयो । सो वेबसाइट भिजिट गरी कोड राख्दा सामान कहाँकहाँ पुग्यो र कसरी आउँदैछ भन्ने देखिने कुरा बताइएको थियो । यसरी राईले ट्रयाकिङ कोड राखे र आफ्नो सामान ट्रयाक गर्दै कुरिबसे । केही समयपछि सो सामान अमेरिकाबाट इराक आई भन्सारमा सामान अड्किएको देखियो । सामान अड्किएपछि राईको ह्वाट्सएपमा पुनः कल आयो । कल उठाएपछि राईलाई कस्टम चार्ज स्वरूप पाँच हजार रुपैयाँ ईसेवामा पठाउन भनियो । आफैंले गुगलबाट हेर्दा सामान अड्किएको देखेपछि राईले सामान छुटाउनका लागि पाँच हजार रुपैयाँ पठाइदिए । 

उनले सो रकम पठाएपछि सामान इराकबाट पाकिस्तानतर्फ आएको देखियो । राईलाई पनि सामान छिट्टै आफूले पाउँछु भन्ने लाग्यो । तर, त्यसको केही समयपछि सामान पाकिस्तानको भन्सारमा अड्किएको देखियो । त्यो सामान किन अड्कियो भनेर राईले ह्वाट्सएपमा बुझ्न खोजे । उनलाई कस्टम चार्ज तिरे मात्र सामान छुट्छ भनेर आश्वासन दिइयो । 

उनले पाकिस्तानको भन्सारबाट सामान छुटाउन पटक पटक गरी ६८ हजार रुपैयाँ तिरे । तर पनि सामान आउने कुनै सुरसार नै देखिएन । उनीसँग विभिन्न बहानामा रकम माग गर्न थालेपछि राईले आफू ठगिएको थाहा पाए र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । 

सर्मिला पाण्डे (नाम परिवर्तन) नर्सको परीक्षा दिएपछि फुर्सदको समयमा घरमा बस्दै आइरहेकी थिइन् । इन्टरनेट तथा सामाजिक सञ्जालमा अभ्यस्त उनलाई एउटा मोबाइल फोनको खाँचो थियो । उनले फेसबुकमा विभिन्न किसिमका फोन बिक्री गर्ने कम्पनीहरू खोज्न थालिन् । 

त्यही़ बेला उनले टेरिम इलेक्ट्रिक ग्याजेट (Terim Electronic Gadgets) नामक फेसबुक पेजबाट आईफोन ११ बिक्रीमा राखिएको देखिन् । सो विज्ञापनमा एउटा आईफोन खरिद गर्दा अर्को निःशुल्क पाइने भनिएको थियो । उक्त फोन किस्ताबन्दीमा समेत खरिद गर्न सकिने भनेपछि सर्मिलालाई उक्त फोन खरिद इच्छा झन् बढेर गरयो । 

त्यसपछि उनले सो फेसबुक पेजमा मेसेज पठाएर कुरा गर्न थालिन् । उनलाई फोन खरिद गर्न फाराम भर्न लगाइयो ।

फारम भरेर पठाएपछि एडभान्स रकम सात हजार  रुपैयाँ पठाइ दिनु पर्छ अनि प्रोसेसिङ गरिदिने भनियो । सो रकम खल्ती आईडीमार्फत बुझाउनुपर्ने भनिएको थियो । 

रकम पठाएपछि सिपिङ फारामका लागि लाग्ने थप चार्ज ११ हजार रुपैयाँ पठाउन भनियो । उनले सो रकम पनि पठाइन् । 

यति रकम पठाएपछि पाण्डे फोन घरमा आइपुग्ने आशामा कुर्दै बसेकी थिइन् । तर उनलाई पहिले रकम ढिलो पठाएकाले अतिरिक्त शुल्क लाग्ने भन्दै छ हजार रुपैयाँ पठाउन भनियो । उनले उक्त कुरामा समेत विश्वास गरी रकम पठाइदिइन् । 

रकम पठाएको जानकारी दिएपछि अमेरिकाबाट मोबाइल प्याकेजिङ गरी पठाएको भनी प्याकिङ बक्सको फोटो र ट्र्याकिङ कोड पठाइयो । उक्त ट्र्याकिङ कोड प्रयोग गरी गुगलको माध्यमबाट हेर्दा पाण्डेले सो सामान फ्रान्स, बेल्जियम हुँदै नेपालमा आइरहेको देखिन् । 

तर, सामान नेपालको भन्सारमा आएर अड्कियो । सामान अड्किएपछि उनलाई इम्पोर्टेसन लाइसेन्सका लागि १० हजार रुपैयाँ पठाउन भनियो । उनले मागे बमोजिम नै रकम पठाइदिइन । त्यसपछि उताबाट डेलिभरी गरिदिने व्यक्तिको नम्बर पठाए ।

सोही नम्बरबाट युवतीलाई ह्वाट्सएपमा मेसेज गरी सामान डेलिभरी हुन लागेको र अन्तिममा वारेन्टी कार्डका लागि ११ हजार १०० रुपैयाँ पठाउन भनियो । युवतीले पनि उनीहरूले भने अनुसार नै रकम पठाइरहेकी थिइन् । त्यतिबेलासम्म युवतीको हातबाट ४५ हजार १०० रुपैयाँ गइसकेको थियो ।

उनीबाट त्यसपछि पनि विभिन्न बाहानामा ८,९०० रुपैयाँ मागियो । यति रकम बुझाइ सक्दा पनि फोन आउने नदेखिए पछि युवतीले विभिन्न व्यक्तिसँग यसबारे बुझिन् र, अन्तिममा आफू ठगिएको थाहा पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिइन् । 

श्याम राना (नाम परिवर्तन) काठमाडौंको जमल स्थित वर्ल्डलिङ्क कम्पनीका कर्मचारी हुन् । उनी पनि सामाजिक सञ्जालका माध्यमबाटै ठगिनेमध्येका एक हुन् । उनले एक दिन फेसबुकको मार्केटप्लेसमा श्रावन अधिकारीको नामबाट आईफोन ११ प्रो म्याक्स फोन ४४ हजारमा बिक्रीका लागि राखेको देखे । 

सो अकाउन्टमा कुरा गर्दै जाँदा श्यामलाई भाइबर नम्बर पठाएर त्यसैमा सम्पर्क गर्न लगाइयो । कुरा गर्दै जाँदा अधिकारीले सो फोन पोखराबाट डेलिभरी गर्नुपर्ने बताए । तर, त्यसका लागि उनले सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने शर्त थियो ।

फोन आउने कुरामा विश्वस्त भएपछि श्यामलाई रकम तिर्न सङ्कोच लागेन । उनले पनि अधिकारीले भनेकै अकाउन्टमा एक पटक सात हजार, अर्को पटक १२ हजार र अर्को पटक २५ हजार रुपैयाँ पठाए । रकम पठाइसकेपछि अधिकारीलाई सो फोन बुद्ध एयरबाट कार्गोमार्फत पठाएको भन्दै भौचर प्राप्त भयो । भौचर पाएपछि विश्वस्त श्याम फोन आउने आशामा पर्खि बसे ।  

पछि फोन काठमाडौं आइसक्यो लिन जानु भन्ने जानकारी आएपछि श्याम फोन लिन भौचरका साथ विमानस्थल पुगे । त्यसपछि भौचर देखाएर आफ्नो फोन मागे । तर, उनले आफ्नो साथमा लगेको भौचर नक्कली थियो । त्यसपछि श्यामले श्रावनलाई सम्पर्क गर्न खोजे । तर, उनी सम्पर्क विहीन भइसकेका थिए । त्यसपछि आफू ठगिएको थाहा पाएर श्यामले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । 

यी केही प्रतिनिधिमूलक घटनमा मात्र हुन् । अचेल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा यसैगरी ठगीमा पर्नेहरूका उजुरी महिनामा औसत १२५ ओटा उजुरी आउने गरेका छन् । 

कार्यालयले सार्वजनिक गरेको तीन वर्षको तथ्याङ्कमा पनि अनलाइन शपिङ गर्दा ठगिमा परेका घटना बढेको देखिन्छ । कार्यालयमा आर्थिक वर्ष २०७७/७८ मा अनलाइन शपिङ स्क्याम, इन्भेस्टमेन्ट स्क्याम र थर्ड पार्टी कन्ट्रोल एपबाट ठगी भएका घटनाको सङ्ख्या ४३ थियो ।

जसबाट कूल ५७ लाख ८७ हजार १७० रुपैयाँको ठगिएको बिगो दाबी गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८/८९ मा सोही शीर्षकमा ८५ ओटा उजुरी परेका थिए । जसमा एक करोड ५२ लाख ४५ हजार ६२८ रुपैयाँको बिगो दाबी गरिएको थियो । 

आर्थिक वर्ष २०७९/८० मा यस्ता उजुरीको सङ्ख्या बढेर ४९७ पुगेको छ । यसमा पीडितले कूल पाँच करोड २९ लाख ५५ हजार ६०९ रुपैयाँ गुमाएको भन्दै बिगो दाबी गरेका छन् । 

अनलाइन शपिङका नाममा ठगिने अधिकांशले अग्रिम भुक्तानी गर्ने गरेको कार्यालयका साइबर पिल्लर प्रमुख एवं प्रहरी नायब उपरीक्षक लिलाराज डाँगीले बताए । 

“अनलाइनबाट ठगिएका अधिकांश घटना केलाउने हो भने अग्रिम भुक्तानी दिएरै ठगिएको देखिन्छ,” डाँगीले भने, “त्यो बाहेक पनि केहीले भने जस्तो सामान सामान नपाएर, पुरानो र कामै नलाग्ने सामान आएको भन्दै उजुरी दिन्छन् ।”

यस्ता अनलाइन ठगीका घटनाबाट जोगिन आधिकारिक र भरपर्दो माध्यममा मात्र विश्वास गर्न डाँगीको सुझाव छ । “सामान खरिद गर्नुअघि उसले किन त्यति सस्तोमा बिक्री गर्न लागेको छ भन्ने ख्याल गर्नुपर्छ,” डाँगीले भने, “त्यस्तै भरसक क्याश अन डेलिभरी सेवा (सामान प्राप्त भएपछि मात्रै पैसा तिर्ने) प्रयोग गर्नुपर्छ ।”

साइबर ब्युरोमा पनि अनलाइनबाट ठगिएको भन्दै थुप्रै नागरिक आउने गरेको साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । “हाम्रोमा पनि अनलाइनबाट ठगिएको भन्दै थुप्रै पीडितहरू आउनुहुन्छ,” रायले भने, “हामी सम्बन्धित निकायमा जान सुझाव दिन्छौं ।”

यस्ता घटनाबाट जोगिन भरपर्दा प्लेटफर्मबाट मात्र खरिद गर्न रायले सुझाव दिएका छन् । “कुनै पनि सामान सस्तोमा दिएको छ भने त्यस्तोमा शङ्का गर्नुपर्छ,” उनले भने, “आफूले सामान खरिद गर्न लागेको व्यक्ति आधिकारिक हो वा होइन भन्ने बुझ्न कागजात माग गर्ने र त्यसलाई प्रमाणित गर्ने गर्नुपर्छ ।”

कतिपय वालेटले अग्रिम भुक्तानी गर्दा ठगिने यस्ता जोखिमलाई मध्यनजर गर्दै दुवै पक्षलाई फाइदा पुग्ने किसिमका सेवा ल्याएका छन् । त्यसबाहेक पनि यस्ता ठगिका घटनबाट जोगिन भरसक अग्रिम भुक्तानी नदिनु नै उपयुक्त हुन्छ । 

 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८० ११:३१