close

नथिङको नयाँ फिचर, अब एन्ड्रोइड फोनबाट आईमेसेज पठाउन सकिने

टेकपाना टेकपाना

कात्तिक ३०, २०८० १३:४२

नथिङको नयाँ फिचर, अब एन्ड्रोइड फोनबाट आईमेसेज पठाउन सकिने

काठमाडौं । नथिङ फोन टु प्रयोगकर्ताहरूले आईमेसेज चलाउन पाउने भएका छन् । कम्पनीले एक ब्लग पोस्ट लेख्दै ‘सनबर्ड’ नामक मेसेजिङ प्लेटफर्मबाट सञ्चालित नथिङ च्याट्स एपमार्फत आईमेसेज चलाउन सकिने जानकारी दिएको हो ।

सोही अनुसार कम्पनीले सीमित फिचरसहित उत्तर अमेरिका, युरोपेली संघ लगायत अन्य युरोपेली देशमा भोलि अर्थात् १७ नोभेम्बरदेखि नथिङले आफ्नो एन्ड्रोइड फोनमा आईमेसेज सुरु गर्दै छ ।

मेसेजिङ सेवाहरूले प्रयोगकर्ताहरूमा विभाजन ल्याएको र आफूले ती अवरोधको अन्त्य गर्न चाहेकाले यस्तो गर्न लागेको नथिङले जनाएको छ । नथिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्ल पेईले भने यस एपले आईमेसेजको प्रभुत्वबारे छलफल सुरु गराउने बताएका छन् ।

सनबर्डको प्रविधिले प्रयोगकर्ताहरूले एक-आपसमा पठाएका ‍मेसेजहरू कतै पनि भण्डारण नगरी डेलिभर गर्नेछ । तर नथिङ च्याट प्रयोग गरिरहँदा प्रयोगकर्ताले आफ्नो आईक्लाउड अकाउन्टका पासवर्ड लगायत अन्य विवरणबारे अलि सतर्क हुनु पर्ने छ । किनकी इन्क्रिप्टेड डेटाबेसमा आईक्लाउड अकाउन्टको विवरण राख्ने र दुई हप्तासम्म निष्क्रिय रहे स्वत: ती विवरण हटाउने नथिङले जनाएको छ ।

हाल नथिङ च्याटबाट एसएमएस पठाउन/पाउन सकिन्छ । यो एप बेटा टेस्टिङमा नै रहेका कारण मेसेज एडिट, ट्याप ब्याक रिक्याक्सन, ग्रुप एसएमएस मेसेजिङ जस्ता अन्य फिचरहरू भने पूर्ण रुपमा सक्रिय भइसकेका छैनन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८० १३:४३