close

यस्तो छ नेपालमा प्रतिबन्धित भएपछि टिकटकले सरकारलाई पठाएको पत्र जस्ताको त्यस्तै

टेकपाना टेकपाना

कात्तिक ३०, २०८० २२:१

यस्तो छ नेपालमा प्रतिबन्धित भएपछि टिकटकले सरकारलाई पठाएको पत्र जस्ताको त्यस्तै

 

विषयः नेपालमा टिकटक प्रतिबन्ध बारे । 

 

प्रिय सर, नेपाली जनताका निम्ति मोबाइलको छोटो भिडिओका लागि विश्वकै प्रमुख माध्यमको रूपमा रहेको टिकटक मार्फत रचनात्मक अभिव्यक्तिको स्वतन्त्रता प्रवर्द्धन गर्ने कार्यमा तपाईंबाट नियमित रूपमा प्राप्त सहयोगका लागि धन्यवाद छ । 

टिकटक प्रतिबन्ध तथा ब्लक गर्ने नेपाल सरकारको निर्णयलाई लिएर आज तपाईंको कार्यालयमार्फत प्राप्त ईमेलले हाम्रो गम्भीर ध्यानाकर्षण गरेको छ । दशौं लाख नेपाली नागरिकहरू आफ्नो रचनात्मकता प्रदर्शन गर्दै अनि आनन्द लिंदै हाम्रो समुदायको हिस्सा बनिरहेको अवस्थामा हामी आश्चर्य चकित भएका छौं । 

समयको छोटो कालखण्डमा हामीलाई नेपालका सबै धर्म, संस्कृति र सामाजिक तथा आर्थिक तह तप्काका नागरिकले अँगाल्दै आएका छन् । जसले सूचना, शिक्षा, मनोरञ्जन र अभिप्रेरणा प्राप्त गर्न हाम्रो माध्यम उपयोग गरिरहेका छन् । यो प्रतिबन्धले केवल हाम्रो लगानी योजनामा बाधा उत्पन्न गर्ने मात्रै नभई त्यससँगै यसले हाम्रा नेपाली कन्टेन्ट क्रियटर, खासगरी युवा वयस्कमा गम्भिर आर्थिक असर समेत पार्नेछ । टिकटकमा अधिकांश रूपमा निर्भर नेपाली व्यवसायहरूले आफ्नो उत्पादनको बजारिकरण गर्न हाम्रो माध्यम प्रयोग गरेरै व्यवसाय चलाइरहेका थिए । यो प्रतिबन्धको परिणाम स्वरूप यस्ता व्यवसायहरूमा धेरै हदसम्म नकारात्मक असर पर्नेछ । 

प्रयोगकर्ताको सुरक्षा टिकटकको प्रमुख प्राथमिकताको विषय हो र हामी हाम्रो समुदायका लागि सुरक्षित र स्वागतयोग्य वातावरण प्रवर्द्धन गर्न प्रतिबद्ध पनि छौं । एउटा विश्वव्यापी माध्यम हुनुको नाताले, जहाँजहाँ टिकटक सञ्चालन भइरहेको छ, त्यहाँ हजारौं कर्मचारीहरू हाम्रा प्रयोगकर्ताका लागि सुरक्षित वातावरण कायम राख्न लागिपरेका छन् । हामी नीति, प्रविधि र मोडरेसनको संयोजनमार्फत हाम्रो कम्युनिटी गाइडलाइन्स उलङ्घन गर्ने सामग्री तथा व्यवहारलाई सम्बोधन गरिरहेका छौं, जसमा अकाउन्ट र कन्टेन्ट हटाउने विषय समेत पर्न सक्छ । 

अगाडि हाम्रो ११ सेप्टेम्बर, २०२३ को पत्रबाट नेपालमा हाम्रो माध्यम सञ्चालनार्थ भएका हाम्रा पछिल्ला प्रयासहरू उजागर गर्न चाहन्छौं । 

१. हामीले ३ नोभेम्बर २०२३ का दिन गृह मन्त्रालयको साइबर अपराध नियन्त्रण तथा साइबर सुरक्षा समितिसँग भेटेका  थियौं । उक्त बैठकका क्रममा हामीले नेपाल सरकारसँग सहकार्यको प्रतिबद्धतासँगै हाम्रो कार्यसञ्चालन तथा मोडेरेसनको विस्तृत प्रक्रिया प्रस्तुत गरेका थियौं । 

२. हामीले गैरसरकारी संस्था, टिकटक क्रियटर, नागरिक समाज, कानून कार्यान्वयन गर्ने अधिकारी र सरकारी प्रतिनिधि लगायत थुप्रै सरोकारवालाहरूको उपस्थितिमा  ५ अक्टोबर २०२३ का दिन काठमाडौंमा इन्टरनेट सेफ्टी समिट आयोजना गरेका थियौं ।  

३. हामीले नेपालमा संयुक्त रूपमा इन्टरनेट सुरक्षा सचेतना अभियान सञ्चालन गर्न ४ अक्टोबर २०२३ का दिन नेपाल दूरसञ्चार प्राधिकरणसँग एमओयू अर्थात् आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका थियौं । 

४. हामीले ७ जुन २०२३ का दिन स्थानीय कानून उलङ्घन गर्ने कुनै पनि सामग्रीको विषयमा सरकारले रिपोर्ट गर्न सक्ने "ट्रस्ट एण्ड सेफ्टी इन्फोर्समेन्ट टुल (टीएसईटी)" को पहुँच नेपाल सरकारका लागि खुलाएका थियौं । 

५. हामी २९ अगस्ट २०२३ का दिन नेपालमा डिजिटल सर्भिस ट्याक्स पेयरको रूपमा दर्ता भएका छौं । 

६. हामीले अक्टोबर २०२२ देखि जुन २०२३ को बीचको अवधिमा हाम्रो कम्युनिटी गाइडलाइन्स उलङ्घन  गर्ने २९ लाख ८० हजार भिडिओ नेपालमा हाम्रो प्लेटफर्मबाट हटाएका छौं । 

७. हामीले नेपाल दूरसञ्चार प्राधिकरण, सीआईबी र साइबर ब्युरोसँग हाम्रो प्लेटफर्म बारे उनीहरूको ज्ञान र बुझाई अभिवृद्धि गर्न थुप्रै भौतिक कार्यशालाहरू सम्पन्न गरेका छौं । त्यसका साथै हामीले साइबर ब्यूरोका लागि समेत हालै "ट्रस्ट एण्ड सेफ्टी इन्फोर्समेन्ट टुल (टीएसईटी)" खुलाएका छौं । 

माथिको सङ्‌क्षिप्त विवरणले नेपाल सरकारसँग हाम्रो सहकार्यको दृढतालाई उजागर गर्छ । 

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय नेपाल सरकारसँगको हाम्रो हालैको नियमित सहकार्य विपरीत छ । टिकटक प्लेटफर्म र प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्नेतर्फ अगाडिको संलग्नताका लागि नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ । यसका साथै हामी टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय लिनुको स्पष्ट कारण समेत खुलाइदिन अनुरोध गर्दछौं । 

हामी टिकटकलाई इन्टरनेटकै सुरक्षित स्थान बनाउन महत्त्वपूर्ण कदम चल्दैछौं र त्यसका लागि हामी ठूलो लगानी समेत गर्दैछौं । यस्तो मनपरी ढङ्गको प्रतिबन्धको साटो प्रतिस्पर्धाको समान धरातलका लागि सरकारको ठोस सहयोग प्राप्त भएको खण्डमा लक्ष्य प्राप्तिको लामो बाटोमा अघि बढ्न सक्छौं । 

नेपालमा हाम्रो समुदायको सुरक्षित वृद्धिका लागि आगामी कदम चाल्ने सवालमा सरकारसँग हाम्रो रचनात्मक सम्बन्ध जारी रहन सकोस् भन्ने कामना गर्दछौं । त्यसो गर्ने अवसरका निम्ति नेपालमा टिकटकले प्रतिस्पर्धाको समान धरातल पाउने र सहयोगी वातावरण उपलब्ध गराउने तर्फ सरकारले भविष्यमा प्रयास गर्नेछ भन्ने आशा पनि व्यक्त गर्दछौं । 

सन्तोषजनक आधार बिना रचनात्मक अभिव्यक्तिका लागि धेरैले प्रयोग गर्ने प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु वाक तथा अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्त विपरीत हुनेमा हाम्रो दृढ विश्वास छ । नेपाल सरकारबाट उठाइएका कुनै पनि सरोकारका विषयलाई सम्बोधन गर्न र दुवै पक्षको चासोलाई समेट्ने तर्फ काम गर्ने नै छौं, धन्यवाद । 

 

तपाईंको आज्ञाले, 

फर्डुस मत्ताकिन

प्रमुख, सार्वजनिक नीति तथा सरकारी सम्बन्ध- दक्षिण एसिया

(नोटः प्रस्तुत सामग्री टिकटकले नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल सरकारलाई पठाएको पत्रको भावात्मक अनुवाद मात्र हो । अङ्ग्रेजी भाषामा रहेको उक्त पत्र जस्ताको तस्तै तल संलग्न राखेका छौं ।)

 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८० २३:१