close

ठूलो स्क्रिन मन पराउनेका लागि उपयुक्त स्मार्टवाच

उष्मा अधिकारी

मंसिर ३, २०८० १५:२०

ठूलो स्क्रिन मन पराउनेका लागि उपयुक्त स्मार्टवाच

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले हालै ‘अल्टिमा नोभा प्रो’ स्मार्टवाच बजारमा ल्याएकाे छ । कम्पनीले यस उत्पादनको व्यापक प्रचार गरिरहेकाे छ ।  प्रचार देखेको वा सुनेको भरमा मात्रै हामी झट्ट निर्णय लिइहाल्दैनौं । त्यसैले याे वाच कस्तो छ, विशेषता र कमजोरी केके छन् लगायतका विषय अध्ययन गरेर मात्र निर्णय लिनु राम्राे हुन्छ ।

सानो नाडीमा ठूलो आकार भएको स्मार्टवाच कतिपयलाई मन नपर्न सक्छ । तर स्क्रिन ठूलो हुँदा घाटाभन्दा फाइदा धेरै छन् । नोभा प्रोमा पनि ठूलो डिस्प्ले छ । डिस्प्ले ठूलो मात्र होइन, स्तरीय पनि छ ।

यस स्मार्टवाचमा २.०१ इन्चको एमोलेड डिस्प्ले छ, जसमा आइकन लगायतका अन्य विवरण स्पष्ट देखिन्छ । वाचको स्क्रिन रेजोलुसन पनि यसमा राम्रो छ । कम्पनीले यसमा ८०० निट्ससम्म बढाउन मिल्ने ब्राइटनेस दिएको छ, जुन कोठा बाहिर चलाउन पर्याप्त हुन्छ । 

‘सर्कल डायल’ अर्थात् आकारमा गोलाकार भएको स्मार्टवाच मन पराउनेका लागि यो विकल्प बन्न सक्छ । नाडीभरिको स्मार्टवाच लगाउन चाहनेका लागि यसको आकारमा भएको स्मार्टवाच बजारमा हत्तपत्त पाइँदैन ।

‍अल्टिमा नोभा प्रोको फ्रेममा दुई ओटा बटन दिइएको छ । एउटा बटनबाट सिधै वर्कआउट वा एक्सरसाइज सेक्सनमा पुग्न सकिन्छ भने अर्कोले डिस्प्ले अन र अफ हुन्छ । दुई ओटा बटन भएता पनि स्मार्टवाच चलाउँदा त्यसले खासै ठूलो योगदान भने दिँदैन ।

मेन्युमा जानका लागि होस् वा अन्य फिचर प्रयोग गर्न टच स्क्रिनकै भर पर्नु पर्छ । मेन्युमा जान दायाँतिर स्वाइप गर्नु पर्छ । बायाँतर्फ स्वाइप गर्दा सुरुमा फोन कलको विकल्प भेटिन्छ, जहाँ रिसेन्ट कल, डायल प्याड र कन्ट्याक्स जस्ता विकल्प भेटिन्छन् । यसरी स्वाइप गर्दै जाँदा अधिकांश फिचर यहाँ थप्न सकिन्छ । तर ‘स्लिप डेटा’ हेर्न मेन्युमा नै जानु पर्छ ।  

यसमा भएको दोस्राे विशेषता ‍’ब्लुटुथ कलिङ फिचर’ हो । सस्ता स्मार्टवाचहरूले समेत यो फिचर उपलब्ध गराउन थालिसकेका छन् । तर फिचर मात्र हुन र त्यसको उच्चतम प्रयोग गर्न मिल्नुमा धेरै भिन्नता छ ।

‘ब्लुटुथ कलिङ’ फिचर भएको स्मार्टवाच यति सस्तोमा पाइयो भनेर किनिहाल्नु पहिला त्यसमा ब्लुटुथको कुन भर्सन छ, माइक र स्पिकरको गुणस्तर कस्तो छ जस्ता कुराको विचार गर्नु पर्छ । यसमा ब्लुटुथको पछिल्लो भर्सन ५.३ छ ।

यसमा फोन कलको अडियो मात्रै स्मार्टवाचको स्पिकरमा सुन्ने र मोबाइलमा बज्ने अन्य अडियोलाई मोबाइलमै बज्न दिने विकल्प पनि छ । त्यसका लागि अडियो ब्लुटुथलाई अफ गर्नुपर्ने हुन्छ । 

यदि मोबाइलसँग स्मार्टवाच कनेक्ट छ र मेसेन्जेर वा ह्वाट्सएपमा फोन आयो भने कुराकानी गर्न लाग्दा जुनसुकै सेटिङमा राखेता पनि डिफल्टका रूपमा वाचमा अडियो बज्छ । किनकी मेसेन्जरमा अडियोको लागि अटोमेटिक ब्लुटुथ सेलेक्ट हुन्छ । बजेट वाचमध्ये धेरैमा यो समस्या भेटिन्छ ।

भोलिका दिनमा सफ्टवेयर अपडेटमार्फत पनि यस्ता समस्याको समाधान हुने अपेक्षा चाहिँ गर्न सकिन्छ । फोन, मेसेजसँगै ह्वाट्सएप, फेसबुक लगायतको नोटिफिकेसन पनि वाचमा नै देखिन्छ । तर कम्पनीले दाबी गरेअनुसार फोन आउँदा वाचबाटै ‘क्विक एसएमएस रिप्लाई’ गर्ने विकल्प भने दिइएको छैन । 

स्मार्टवाचमा भएको अर्को विशेषता आईपी ६८ वाटरप्रुफ हो । यसको अर्थ, एक मिटर पानीको गहिराइमा ३० मिनेटसम्म वाच राख्दासम्म पानी पस्दैन भन्ने हो । तर नुहाउँदा वा लुगा धुँदा वाच नलगाउन कम्पनीले सचेत गराएको छ ।

यसमा इनबिल्ट जीपीएस छैन । तर मोबाइल एप्लिकेसनबाट दुगुर्दा, हिँड्दा, साइकलिङ गर्दा भने मोबाइलको जीपीएसमार्फत रुटसँगै अन्य विवरण हेर्न सकिन्छ ।

स्वास्थ्यका लागि हर्ट रेट, अक्सिजन लेभल, स्टेप काउन्ट, स्लिप मोनिटरिङ जस्ता कुराहरु यसमा छुटेका छैनन् । कम कजेटका स्मार्टवाचमा यसको सेन्सरमा त्यति धेरै विश्वास भने गरिहाल्नु हुँदैन । यसका अलावा भोइस एसिस्टेन्ट, मौसम, क्ल्याकुलेटर लगायतका फिचरहरु पनि यसमा उपलब्ध छन् । शारीरिक अभ्यासका लागि सयभन्दा बढी स्पोर्टस् मोड यसमा दिइएको छ । 

यो स्मार्टवाचलाई मोबाइलसँग जोड्न 'Dafit' नामक एप इन्स्टल गर्नु पर्छ । यस एपको इन्टरफेस एकदमै सामान्य र सादा छ । स्मार्टवाचको भरपूर प्रयोग गर्दा पनि दुई दिन ब्याट्री टिक्छ । ब्याट्री बचाएर चलाउँदा चार/पाँच दिनपछि मात्रै चार्ज गर्दा हुन्छ ।

चार्जिङ क्षमता यो स्मार्टवाचको अर्को विशेषता हो । पाँच हजारभन्दा कम मूल्यका स्मार्टवाच किन्दा कमैमा मात्र फास्ट चार्जिङ पाइन्छ । जुन यसमा उपलब्ध छ । १० मिनेट चार्ज गर्दा एक दिनका लागि ब्याट्री ब्याकअप पाउन सकिन्छ भन्ने कम्पनीको दाबी छ ।​ स्मार्टवाचको मामलामा यसलाई फास्ट चार्ज मान्न सकिन्छ ।

त्यस्तो अर्को राम्रो कुरा भनेको स्मार्टवाचमा एक वर्षको वारेन्टीसँगै १५ दिनको ‘रिप्लेसमेन्ट ग्यारेन्टी’ पनि उपलब्ध छ । समग्रमा ठूलो अनि स्तरीय डिस्प्ले भएको स्मार्टवाच खोज्नेहरुको लागि यो रोजाइ बन्न सक्छ ।

यो स्मार्टवाचको बजार मूल्य ६ हजार रुपैँया रहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८० १५:२५