close

भीपीएनबाट टिकटक चलाउँदा ह्याकरले साढे २ लाख लगेको भाइरल पोस्ट झुटो

सञ्जीवन राई सञ्जीवन राई

मंसिर ४, २०८० १८:४२

भीपीएनबाट टिकटक चलाउँदा ह्याकरले साढे २ लाख लगेको भाइरल पोस्ट झुटो

 

काठमाडौं । सोमवार बिहानदेखि फेसबुकमा नुवाकोट रातमाटेकी एक स्थानीयबारे गरिएको पोस्ट निकै भाइरल बनिरहेको छ । उक्त पोस्टमा ३२ वर्षीय पुतली माया थापा मगरले भीपीएनबाट टिकटक चलाउँदा दुई लाख ५२ हजार रुपैयाँ गुमाएको उल्लेख छ । 

त्यस्तै गुमेको पैसा उनका श्रीमानले विदेशबाट पठाइदिएको, उक्त पैसा थापा मगरको खातामा रहेको र ह्याकरले ह्याक गरी लगेको दाबी गरिएको छ । ‍तर यसरी गरिएका कुनै पनि पोस्टमा ‍आधिकारिक स्रोत तथा विश्वासिल‍ो आधार भने उद्धृत गरिएको छैन । 

तथापि विभिन्न व्यक्तिगत अकाउन्ट तथा पेजहरूबाट उही समान भाषा र विवरण रहेको पोस्ट शेयर भएको भेटियो । एउटै प्रकृतिको दुरुस्त पोस्ट फेसबुकका साथै एक्समा पनि भएको पाइयो । 

यो कुरा अलि अपत्यारिलो लागेपछि हामीले गुगलमा सर्च गरि त्यसको यथार्थता खोतल्ने प्रयास गर्‍यौं । युनिकोड, रोमन र अङ्ग्रेजी भाषामा पोस्टमा उल्लिखित विवरण टाइप गरेर सर्च गर्दा समेत कुनै विश्वसनीय सञ्चार माध्यमले यस विषयमा समाचार प्रकाशन गरिएको देखिएन । 

त्यसपछि पोस्टमा उल्लेख गरिएको ठाउँका शिक्षक, जनप्रतिनिधि, प्रहरी र सञ्चारकर्मीसँग सम्पर्कको प्रयास गर्‍यौं । तर ती सबैको आधारमा अहिले यो खबर सही भएको कुरा पुष्टि गर्ने आधार भेट्न सकिएन । 

भाइरल भएको उक्त पोस्टमा विश्वासिलो स्रोत नदिइएको हुँदा खबर मिथ्या हुन सक्ने आशङ्का गरेर हामीले सबैभन्दा पहिला ठाउँ पत्ता लगाउने प्रयास गर्‍यौं । पोस्टमा गाउँपालिका/नगरपालिकाको विवरण उल्लेख गरिएको छैन । तर गुगल सर्च गर्दा नुवाकोटमा रातमाटे भन्ने ठाउँ रहेको र सो स्थान बेलकोटगढी नगरपालिका वडा नं. ७ मा पर्ने विषय थाहा भयो । 

साविकको रातमाटे गाविसलाई वडा नं. ७ बनाइएको रहेछ । त्यसपछि सो वडाका अध्यक्ष भुवनेश्वर नेपाललाई सम्पर्क गरेर यो विषयको सत्यता जान्न खोज्यौं । उनले आफूले पनि सो खबर फेसबुकबाटै थाहा पाएको र आफ्नो वडामा जन्मदर्ता भएका सम्पूर्ण विवरण खोतल्दा समेत ‘पुतली माया थापा मगर’ नाम गरेको कुनै व्यक्ति नभेटिएको बताए । 

तर विवाह गरेर अन्यत्रबाटै रातमाटे आएको अथवा बसाईं सरेको हुन सक्ने अनुमान गर्दै पत्ता लगाउने प्रयासमा समेत उनी लागिरहेको पायौं । 

त्यस्तै ६ नम्बर वडामा कार्यालय रहेको रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्जका समाचार प्रमुख रामहरि न्यौपानेलाई पनि हामीले सम्पर्क गर्‍यौंं । उनले पनि उक्त खबर फेसबुकबाट थाहा पाएको र समाचार हुन सक्ने भनेर स्रोत खोज्दा फेला पार्न नसकेको बताए । 

“मैले पनि खबर देख्ने बित्तिकै वडा नम्बर ७ मा रहेका विभिन्न टोलका स्थानीय, जनप्रतिनिधि र सामाजिक अभियन्तालाई सम्पर्क गरेर बुझेको थिएँ । तर उहाँहरू कसैले पनि रातामाटेमा यस्तो घटना नभएको र सो नाम गरेको व्यक्ति बारे थाहा नभएको बताउनु भयो,” टेकपानासँग पत्रकार न्यौपानेले भने, “म बसेको ६ नम्बर र घटना भएको ७ नम्बरको सिमाना जोडिएको छ । गाउँमै घटना भएको भए अहिलेसम्म थाहा लाग्नु पर्ने थियो । यद्यपि रातमाटे घर भएर अन्यत्र बसिरहेको भए अलग्गै कुरा हो ।”

त्यसपछि हामीले सोही वडामा पर्ने महादेव माध्यमिक विद्यालयमा कार्यरत ‍स्थानीय शिक्षक नवराज नेपाललाई सम्पर्क गर्‍यौं । शिक्षक नेपालले वडामा मौखिक रूपमा उक्त घटना बारे कहिंकतै चर्चा नभएको र आफूहरूले पनि फेसबुकबाटै थाहा पाएको बताए । 

“मेरी श्रीमती वडाकै अर्को विद्यालय शिलादेवी माविमा पढाउँछिन् । हामी दुवैले त्यत्रो पैसा गुमाउने को रहेछ भनेर दिनभर बुझ्दा केही मेसो पाउन सकेनौं । क्षेत्रफलको हिसाबले ठाउँ सानो भएकाले थाहा हुनुपर्ने हो । गाउँठाउँमा चर्चा हुनपर्ने हो । तर सबैले फेसबुकबाटै थाहा पाएको मात्रै भनिरहेका छन्,” उनले भने । 

स्थानीयहरूले घटना सामाजिक सञ्जालबाट थाहा पाएको र गाउँमा घटना भएको सत्यता खुल्न नसकेपछि हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सम्पर्क गर्‍यौं । त्यस्तो घटना घटेको भए प्रहरी कार्यालयमा उजुरी परेको हुनुपर्ने थियो । 

हामीलाई त्यहाँ उजुरी शाखा हेर्ने हवल्दार कमल पोखरेलले अहिलेसम्म जिल्लाभर टिकटकबारे कुनै उजुरी नपरेको जनाए । “यदि त्यस्तो घटना घटेको भए उजुरी आउनु पर्ने हो । रकम पनि ठूलै रहेछ । तर, अहिलेसम्म टिकटक सम्बन्धी अथवा भीपीएन सम्बन्धी कुनै उजुरी आएको छैन ।”  

श्रोतबाट घटना पुष्टि गर्न गरिएका प्रयासले यो घटना सत्य नभएको स्पष्ट सङ्केत दिएको छ । साथै प्राविधिक तवरबाट हेर्ने हो भने पनि फैलिएको हल्ला मिथ्या/अपूर्ण भएको स्पष्ट हुन्छ । पोस्टमा भीपीएनबाट टिकटक चलाउँदा खातामा रहेको रकम ह्याकरले लगेको भन्ने छ । सामान्यतया: कुनै भीपीएनबाट डेटा चोरी भएको खण्डमा एउटा व्यक्ति मात्र नभई ठूलो सङ्ख्याका प्रयोगकर्तामा असर परेको हुनुपर्ने थियो । त्यस्तै भीपीएनबाट प्रयोगकर्ताको आईपी एड्रेस, डीएनएस रिक्वेस्ट लगायतका डेटा चुहावट हुने र ह्याकरले तिनलाई थर्ड पार्टीसामु बेच्ने गरेको घटना पाइन्छ । 

तर उक्त पोस्टमा भीपीएन प्रयोग गर्दा ह्याक भएर पैसा हराएको दाबी गरिएको छ ।  फेरि निःशुल्क भीपीएन चलाउँदा मात्र यस्तो जोखिम बढी हुने गर्छ । 

तर धेरैजसो भीपीएनमा प्रयोगकर्ताको इन्टरनेट ट्राफिक र रुट इन्क्रिप्टेड हुने गर्छ । जसले गर्दा पोस्टमा दाबी गरिए जस्तो रकम ह्याकरले लानु अलि असम्भव नै हो । 

यदि फिसिङ वा मालवेयर युक्त डिभाइसबाट प्रयोगकर्ताले बैंक अकाउन्ट प्रयोग गरे भने पैसा ह्याकरको हात लाग्ने सम्भावना रहन्छ । तर प्राविधिक रूपमा भीपीएन प्रयोग गर्दैमा एउटा मात्र प्रयोगकर्ताको बैङ्क अकाउन्ट ह्याक हुन सम्भव नै हुँदैन । 

अर्को कुरा ग्रामीण क्षेत्रमा बसोबास गर्ने र श्रीमान् वैदेशिक रोजगारीमा रहेकी गृहिणीलाई भीपीएन प्रयोग गरेकै कारण उनको बैंक खाताबाट रकम चोरी भएको विषय कसरी थाहा हुन सक्छ ? यदि यो घटना भएकै हुन्थ्यो भने पनि त्यसको यथार्थता पत्ता लगाउन जटिल प्राविधिक अनुसन्धान जरुरी हुन्छ ।   

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८० १८:४२