close

अनलाइन बेटिङ खेलाउने १ जना काँडाघारीबाट पक्राउ, भेटियो झण्डै २ करोडको हिसाब

टेकपाना टेकपाना

मंसिर १२, २०८० १६:२०

अनलाइन बेटिङ खेलाउने १ जना काँडाघारीबाट पक्राउ, भेटियो झण्डै २ करोडको हिसाब

काठमाडौं । प्रहरीले अनलाइन जुवा तथा अनलाइन क्यासिनो गेम मार्फत अनलाइन सट्‍टेबाजी खेलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालय मिन भवन काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं कागेश्वरी मनोहरा ७ बस्ने राजु रेग्मीका छोरा २६ वर्षीय आकाश रेग्मीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्‍टेबाजी खेलाउने गरेको सूचना प्राप्त भएको थियो । सोही गोप्य सूचनाको आधारमा आकाश रेग्मी सट्‍टेबाजी खेलाउने कार्यमा संलग्न रहेको पाइएपछि नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।

उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । रेग्मीको साथबाट एक थान म्याकबुक प्रो ल्यापटप, एक थान राउटर, एक थान आईफोन, दुई थान हार्ड ड्राइभ, नगद दुई लाख २४ हजार रुपैयाँ, ३०० अमेरिकी डलर, एक थान एयर युनिट समेत बरामद गरिएको छ ।

अनुसन्धानका क्रममा आकाश रेग्मीले म्याक बुक एयरमा हबी नामक गुगल शिट तयार पारी क्याश एप अकाउन्टहरूको महीनै पिच्छेको हिसाब राखेको पाइएको छ । यसका साथै लगइन रहेका विभिन्न जिमेल अकाउन्टको इनबक्समा क्याश एप भेरिफिकेसन, भ्यान्टेजको मेसेजहरू देखिनुका साथै उनको मोबाइलमा बेटिङको लोड तथा विथड्रल सम्बन्धी च्याट र क्याश एप भेरिफिकेसनको स्क्रिनशट समेत देखिएको प्रहरीले जनाएको छ ।

उनको हिसाब किताब भने एक करोड ९५ लाख ९५ हजार ११७ रुपैयाँ रहेको खुल्न आएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८० १६:२१