close

पब्जी विश्वकपको फाइनलमा तीन दक्षिण एसियाली टिम

टेकपाना टेकपाना

मंसिर १९, २०८० १२:५५

पब्जी विश्वकपको फाइनलमा तीन दक्षिण एसियाली टिम

काठमाडौं । पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’को फाइनलमा मंगाेलियाका तीन टिमले खेल्ने पक्का भएको छ ।

दक्षिण एसिया क्षेत्र (South Asia Region) अन्तर्गत खेलेका मङ्गोलियन टिमहरू ‘फोमिराकल भाइब्स’, ‘आईएचसी ई-स्पोर्ट्स’ र ‘स्टलवार्ट ई-स्पोर्ट्स’ फाइनलमा छानिएका हुन् ।

‘स्टलवार्ट ई-स्पोर्ट्स’ र ‘फो मिराकल भाइब्स’ले ग्रुप स्टेजमा शीर्ष तीन भित्र रहँदै फाइनलको यात्रा तय गरेका हुन् भने ‘आईएचसी ई-स्पोर्ट्स’ले ग्रुप स्टेज, सर्भाइबल स्टेज हँदै लास्ट चान्स स्टेजमा शीर्ष पाँचमा पर्दै फाइनल सुनिश्चित गरेको हो ।

डिसेम्बर ८-१० सम्म चल्ने फाइनलमा विभिन्न देशका १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । फाइनलमा दिनको ६ गेमको हिसाबले कुल १८ खेल खेलाइने छ ।

फाइनलको विजेताले चार लाख १५ हजार डलर (करिब पाँच करोड ५५ लाख रुपैयाँ) पाउनेछन् । दोस्रो हुने टिमले दुई लाख १५ हजार डलर (करिब दुई करोड ८७ लाख रुपैयाँ) र तेस्रो हुने टिमले एक लाख ३५ हजार डलर (करिब एक करोड ८० लाख रुपैयाँ) हात पार्नेछ ।

नेपाली टिम ‘डीआरएस गेमिङ’ विशेष आमन्त्रित टिमको रुपमा पीएमजीसी २०२३ को ग्रुप स्टेजको खेल खेलेको थियो । ग्रुप यल्लोमा रहेको डीआरएस अङ्क तालिकाको १५ औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

पीएमजीसी २०२३ को क्वालिफायरको रूपमा लिइएको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप फल २०२’३ को अङ्क तालिकामा शीर्ष ६ भित्र एक पनि नेपाली टिम पर्न नसक्दा नेपाली टिमहरूले पीएमजीसी २०२३ खेल्ने अवसर गुमाएका थिए ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० १३:१०