close

मुसाको अध्ययन गर्न वैज्ञानिकले बनाए भीआर

टेकपाना टेकपाना

मंसिर २५, २०८० १६:१

बिङ एआईद्वारा तयार पारिएको प्रतीकात्मक तस्वीर बिङ एआईद्वारा तयार पारिएको प्रतीकात्मक तस्वीर

काठमाडौं । मुसाको मस्तिष्क अध्ययन गर्न वैज्ञानिकहरूले भीआर गगल्स तयार पारेका छन् । नर्थ वेस्ट्रन युनिभर्सिटीका अनसन्धानकर्ताले सानो आकारको भीआर गगल्स तयार पारेका हुन् ।

मिनियचर रोडेन्ट स्टेरियो इलुमिनेसन भीआर (आईएमआरसिभ) नाम दिइएको यस भीआर दुई ओटा लेन्स र स्क्रिनबाट बनाइएको छ । सामान्य चस्माहरूमा जस्तै यस भीआरको लेन्सहरूलाई दुई भागमा छुट्याइएको छ । त्यसबाट मुसाले १८० डिग्रीमा देखिने दृश्य हेर्न सक्छ । स्क्रिनमा भने वास्तविक लाग्ने थ्रीडी तस्विर तथा भिडिओ देखाइन्छ ।

यसबाट मुसाहरूले बाहिरि संसार नदेख्ने र कतै अञ्जान ठाउँमा रहेको महसुस गर्ने अनुसन्धानकर्ताले बताएका छन् । तर यो भीआर मान्छेले जस्तै मुसाले लगाउनु भने पर्दैन । ट्रेडमिलको प्रयोगमार्फत मुसालाई ठिक्क हुने गरी यसलाई राखिने वैज्ञानिकको भनाई छ ।

मुसामा सोही प्रकृतिको अध्ययनका लागि फ्लाट डिस्प्ले प्रयोग हुँदै आएको थियो । जुन प्रभावकारी हुन सकेकाे छैन । नयाँ आविष्कारले भने अनुसन्धानको काम गर्न र मुसाको मस्तिष्क म्यापिङ गर्न सजिलो हुने उल्लेख गरिएको छ । अब यस भीआरबाट चराले आक्रमण गर्दा मुसाले कस्तो महसुस गर्छ जस्ता विषयमा अध्ययन गर्ने उनीहरूको भनाइ छ ।

विशेष गरेर भीआरबाट मुसाको शारीरिक तथा न्यूरल गतिविधिको अनुसन्धान गर्न उपयोगी हुने बताइएको छ । वैज्ञानिकहरूले यसबारे न्यूरन नामक जर्नलमा विस्तृत जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १४:३९