close

नेटवर्क तथा साइबर सुरक्षा सम्बन्धी नेपाली विद्यार्थीको अनुसन्धान अमेरिकी जर्नलमा प्रकाशित

टेकपाना टेकपाना

मंसिर २६, २०८० ९:१३

नेटवर्क तथा साइबर सुरक्षा सम्बन्धी नेपाली विद्यार्थीको अनुसन्धान अमेरिकी जर्नलमा प्रकाशित

काठमाडौं । ललितपुरस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ विषय अध्ययनरत विद्यार्थीहरुको समूहले विकास गरेको नेटवर्क तथा साइबर सेक्युरिटी विधा अन्तर्गत प्रोजेक्टको शोधपत्र ‘ केओस एण्ड डी. एन. ए. कोडिङ टेक्निक फर इमेज क्रिप्टोग्राफी’ विश्व प्रतिष्ठित जर्नल, अमेरिकन प्रकाशन संस्था विलेको सेक्युरिटी एण्ड प्राइभेसी (जर्नल इम्प्याक्ट फ्याक्टर १.९) मा प्रकाशित भएको छ ।

कलेजमा बिई चौंथो वर्ष अध्ययनरत विद्यार्थीहरू ग्रिशन प्रधान, अविरल चौलागाईं, अनिशलाल जोशी र प्रजल गोविन्द वैद्यले तयार पारेको शोधपत्र उक्त जर्नलमा प्रकाशित भएको हो । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्पाम्पसका उपप्राध्यापक तथा नेटवर्क, साइबर सेक्युरिटी र डिजिटल फरेन्सिक युनिटीका निर्देशक डा. बाबुराम दवाडीको प्रमुख सुपरिवेक्षणमा विद्यार्थीहरूले शोधपत्र तयार पारेका हुन् ।

डा. दवाडीले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त अनुसन्धान ग्रान्टको सहयोगमा उक्त अनुसन्धान गरिएको थियो । शोधपत्रको मुख्य उद्वेश्य इन्टरनेटमा आदानप्रदान हुने वा कतै सञ्चित गरिएका इमेजको गोपनीयता कायम गर्नु थियो ।​केओस र डीएनए कोडिङ टेक्निकमा आधारित अल्गोरिदमको प्रयोग गरी यस्तो सिस्टम तयार पारिएको हो ।

आधुनिक विश्वमा द्रुत गतिको अनुसन्धान तथा सूचना प्रविधिमा भएको विकासले ठूलो फड्को मारिसकेको छ । नेपाल लगायत संसारभर नयाँ सूचना प्रविधि सेवाको प्रयोग हुदैं गर्दा डेटा सुरक्षा र साइबर सुरक्षामा चुनौतLहरु बढ्दै गएको छ ।

आधुनिक सञ्चार प्रविधिलाई सञ्चालन गर्नसक्ने मानव स्रोत–साधनको विकास, सेक्युरिटी र क्वालिटी अफ सर्भिसका चुनौतिहरु, साथै नयाँ प्रविधि लागू गर्दा लाग्ने ठूलो खर्च जस्तै पुँजीगत लगानी (क्यापेक्स) र अपरेसन÷मेन्टेनेन्स खर्च (ओपेक्स) आदि, विषयहरु नयाँ प्रविधिको प्रयोगसँगै देखिने मुख्य चुनौतीहरु हुन् । नेपालभित्रै मात्र हेर्ने हो भने पनि नेटवर्क र साइबर सुरक्षा समस्या निकै ठूलो छ ।

नेपालका धेरैजसो डेटा सेन्टर र वेब सिस्टमहरुमा सुरक्षा व्यवस्था कमजोर हुनुका साथै उचित कानूनको व्यवस्था भइनसकेको वर्तमान अवस्थामा सुरक्षित प्रविधिमार्फत डेटा आदानप्रदान गर्न सकिने यस्ता खाले अनुसन्धानप्रति सम्बिधित निकायहरुको ध्यानाकर्षण हुन जरुरी रहेको कलेजले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १४:२८