close

हाम्रो पात्रोको टेलिहेल्थ सेवा बन्यो ‘स्टार्टअप अफ द इयर’

टेकपाना टेकपाना

पुस ११, २०८० १४:३९

हाम्रो पात्रोको टेलिहेल्थ सेवा बन्यो ‘स्टार्टअप अफ द इयर’

काठमाडौं । हाम्रो पात्रो हेल्थ ‘स्टार्टअप अफ द इयर’ बन्न सफल भएको छ ।  नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रो अन्तर्गत टेलिहेल्थ सेवाको रूपमा रहेको यो उत्पादनले सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ को नेपाल स्टार्टअप अफ द इयर अवार्ड पाएको हो । 

नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले शनिवार राजधानीमा उक्त कार्यक्रम आयोजना गरेको थियो । हाम्रो पात्रोको एपबाटै डाक्टरहरूसँग परामर्श लिन सकिने गरी दुई वर्ष अघि यो टेलिमेडिसिन सेवा सुरु भएको थियो ।

कम्पनीका अनुसार हालसम्म यो सेवा लिनेहरूको सङ्ख्या दश हजार नाघिसकेको छ । हाम्रो पात्रोको टेलिमेडिसिन सेवाले समाजमा पारेको सकारात्मक प्रभावको आधारमा यो अवार्डबाट सम्मानित भएको हो । 

स्टार्टअप अफ द इयरको अवार्ड उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रदान गरेका थिए । हाम्रो पात्रो हेल्थकी प्रमुख सुजाता गौतमले प्रविधिमार्फत गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउनु नै आफूहरूको प्रमुख उद्देश्य रहेको बताइन् ।

“गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउनु नै हाम्रो मूल उद्देश्य,” उनले भनिन्, “हामी बिरामीलाई विज्ञ चिकित्सकसँग जोड्दै अत्याधुनिक प्रविधिको लाभ उठाउन सहयोग पुगोस् भन्नेमा प्रतिबद्ध छौं ।”

हाम्रो पात्रोको टेलिमेडिसिन सेवामा बिरामीले चिकित्सकसँग परामर्श लिने क्रममा आफ्ना नजिकका परिवारलाई पनि सँगै जोडेर सरसल्लाह लिन सक्छन् । खासगरी रोजगारी वा अध्ययनको क्रममा विदेशमा अथवा घरबाट टाढा हरेका व्यक्तिले आफ्ना परिवारका सदस्यको स्वस्थ परामर्शमा भिडिओ कल मार्फत सहभागी  हुन सक्छन् । 

स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर परामर्श लिन सकिने यो सेवालाई लिएर छोटो समयमै सेवाग्राहीबाट उत्साहजनक प्रतिक्रिया आइरहेको गौतमले सुनाइन् ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८० १४:३९