close

टुटलको सञ्चालक कम्पनी भन्छ- ‘पछिल्लो घटनाक्रममा हाम्रो संलग्नता छैन, भ्रममा नपर्नुहोला’

टेकपाना टेकपाना

पुस २०, २०८० १६:५७

टुटलको सञ्चालक कम्पनी भन्छ- ‘पछिल्लो घटनाक्रममा हाम्रो संलग्नता छैन, भ्रममा नपर्नुहोला’

काठमाडौं । राइड शेयरिङ प्लेटफर्म टुटलको सञ्चालक ज्याप सर्भिसेस प्रालिले सञ्चारमाध्यममा हालै प्रकाशित समाचारलाई आधार मानेर आफ्नो बारेमा गलत धारणा नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेको खबर बाहिरिएपछि एक विज्ञप्ति निकाल्दै ज्याप सर्भिसेसले पछिल्लो घटनामा आफ्नो कुनै सम्बन्ध नरहेको प्रकाश पारेको हो ।

टुटल ब्रान्ड अहिले आफूले चलाइरहेको उल्लेख गर्दै ज्याप सर्भिसेसले टुटलको अघिल्लो व्यवस्थापन तथा पूर्व कम्पनीसँग कुनै पनि सरोकार नरहेको जनाएको छ ।

''पछिल्लो घटनाक्रम (भट्ट पक्राउ प्रकरण)टुटलको हालको अपरेसनसँग सम्बन्धति छैन,'' कम्पनीको विज्ञप्तिमा भनिएको छ, ''टुटल अहिले ज्याप सर्भिसेस प्रालिको पूर्ण नियन्त्रण र व्यवस्थापनमा चलिरहेको छ ।''

साथै कम्पनीले टुटललाई आफ्नै दृष्टिकोण, रणनीतिहरू तथा मूल्य मान्यतामा सञ्चालन गरिरहेको उल्लेख गरेको छ ।

ज्याप सर्भिसेसका अध्यक्ष श्रेयस कृष्ण श्रेष्ठले भने, ''हामीहरू उच्च गुणस्तरका सेवाहरू प्रदान गर्न र टुटल प्रयोगकर्ताको सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध छौं ।''

कम्पनीले नयाँ टिममार्फत टुटल ब्रान्डलाई पुन स्थापित गर्न कडा मेहनत गरिरहेको र सेवाग्राहीको आवश्यकता अनुसार सेवा प्रदान गर्न काम गरिरहेको उल्लेख गरेको छ । साथै टुटलको नयाँ एपको कपिराइट ज्याप सर्भिसेससँग मात्र रहेको पनि कम्पनीले स्पष्ट पारेको छ ।


 

पछिल्लो अध्यावधिक: पुस २४, २०८० १४:२७