close

यस्तो छ, ओपनएआईको सोराले बनाएको पहिलो म्युजिक भिडिओ

टेकपाना टेकपाना

बैशाख २३, २०८१ १५:५

यस्तो छ, ओपनएआईको सोराले बनाएको पहिलो म्युजिक भिडिओ

काठमाडौं । केही महिनाअघि ओपनएआईले टेक्स्ट टु भिडिओ टुल सोरा सार्वजनिक गर्दा एक प्रकारको तरङ्ग नै उत्पन्न भएको थियो । टुलको जुन क्षमता छ, त्यसलाई गलत प्रयोजनार्थ पनि प्रयोग हुनसक्ने भएकाले अहिलेसम्म ओपनएआईले सबैका लागि सोरालाई उपलब्ध गराएको छैन । 

यद्यपि टुल प्रयोग गर्न कम्पनीले विभिन्न क्रियटरहरूसँग सहकार्य गरिरहेको छ । त्यही क्रममा सार्वजनिक गरिएका केही भिडिओहरूले राम्रै चर्चा कमाएका छन् । हालै यस टुल प्रयोग गरेर बनाइएको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

अमेरिकी गायक वास्ड आउट (Washed Out) ले 'द हार्डेस्ट पार्ट' नामक म्युजिक भिडिओ तयार पार्न सोरा प्रयोग गरेका हुन् । यसलाई गायक वास्ड आउटले ओपनएआईको सोराबाट बनाइएको पहिलो औपचारिक म्युजिक भिडिओ भएको बताएका छन् ।

सोरा प्रयोग गरी म्युजिक भिडिओ बनाएको यो पहिलो पटक भने होइन । यसअघि नै स्वतन्त्र सङ्गीतकार अगस्ट क्याम्पले पनि ओपनएआईसँग सहकार्य गरेर म्युजिक भिडिओ नै बनाएका थिए । तर ओपनएआईलाई पैसा तिरेर कुनै एउटा प्रोफेसनल कलाकारले बनाएको पहिलो म्युजिक भिडिओ भने 'द हार्डेस्ट पार्ट'  हो । 

यस भिडिओका निर्देशक पल ट्रिलो हुन् । उनले ओपनएआईको सहकार्यमा यसअघि पनि म्युजिक भिडिओ बनाएका थिए । उनले यो म्युजिक भिडिओको विचार १० वर्षअघि आएको, तर बनाउन नसक्ने भएपछि त्यत्तिकै छाडेका बताएका छन् । तर सोरा एआई टुल आएपछि मात्र यसले जीवन पाएको उनको भनाइ छ । एआईबाट बनाइएको यस भिडिओमा हाई स्कुलका दृश्यहरू सुरुङ जस्तो केहीमा छिरिरहेको देखाइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८१ १५:५