close

जानाजान आईफोन स्लो बनाएको मुद्दामा ग्राहकलाई क्षतिपूर्ति दिन एप्पल तयार

टेकपाना टेकपाना

पुस २३, २०८० १२:१६

जानाजान आईफोन स्लो बनाएको मुद्दामा ग्राहकलाई क्षतिपूर्ति दिन एप्पल तयार

काठमाडौं । जानाजान पुराना आईफोन स्लो बनाएको मुद्दामा ग्राहकलाई क्षतिपूर्ति दिन एप्पल तयार भएको छ । क्यानडामा जारी एक करोड ४४ लाख क्यानेडियन डलर क्षतिपूर्तिको मुद्दा मिलाउन कम्पनी तयार देखिएको हो ।

प्रयोगकर्तालाई थाहै नदिई एप्पलले जानाजान पुराना आईफोन स्लो बनाएको दाबी गरिएको थियो । तर कम्पनीले भने कुनै गलत काम गरेको भन्ने कुरा अस्वीकार गर्दै आएको छ ।

तर एक करोड ४४ लाख क्यानेडियन डलर तिर्नेगरी कम्पनी उक्त मुद्दा मिलाउन तयार भएको हो । यदि यो विषय अदालतबाट स्वीकृत भएको खण्डमा निश्चित आईफोन मोडेल भएका प्रयोगकर्ताले एप्पलबाट क्षतिपूर्ति बापत केही रकम पाउन सक्छन् ।

त्यस्ता प्रयोगकर्ताले १५० क्यानेडियन डलरसम्म प्राप्त गर्न सक्ने बताइएको छ । करिब १४ हजार ९१२ रुपैयाँ हुन उक्त रकम प्रभावित भएका भनिएका प्रत्येक आईफोन धनीले पाउने छन् ।

यद्यपि प्रयोगकर्ताले पाउने यस्तो रकम कति हुनेछ भन्ने कुरा कति जनाले क्षतिपूर्तिका लागि अनुरोध गर्छन् भन्ने कुरामा निर्भर हुनेछ । यो मुद्दाले क्यानडामा निवासी तथा २१ डिसेम्बर २०१७ अघिका आईफोन ६, ६ प्लस, ६ एस, ६ एस प्लस, एसई, सेभेन, सेभन प्लस मोडेललाई समेट्नेछ ।

यो क्षतिपूर्तिका लागि योग्य हुनका लागि उनीहरूले केही पनि गर्नुपर्ने छैन । यदि यो सेटलमेन्टले अदालती स्वीकृति प्राप्त गरेको खण्डमा कसरी क्षतिपूर्ति दाबी गर्ने भन्ने विषयको जानकारीका लागि एउटा विशेष वेबसाइट उपलब्ध हुनेछ ।

एक समूहले पुराना ब्याट्री भएका केही पुराना मोडेलका आईफोनहरू एप्पलले जानाजान स्लो बनाएको भन्दै क्यानडाको अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूले अनपेक्षित रूपमा फोन बन्द गर्ने कार्य रोक्न लगाउने उद्देश्यका साथ मुद्दा दायर गरेका थिए ।

प्रारम्भिक चरणमा एप्पलले सफ्टवेयर अपडेटका क्रममा देखिएको यस किसिमको समस्याको विषयमा सार्वजनिक रूपमा कुनै जानकारी दिएको थिएन । जसका कारण प्रयोगकर्ताहरू निराश बनेका थिए । तर पछि भने प्रस्ट पार्न नसकेकोमा माफी माग्दै एप्पले ब्याट्री परिवर्तन गर्दा लाग्ने मूल्य केही समयका लागि घटाएर २९ डलर कायम गरेको थियो ।

यो विषयमा एप्पलले खेपेको यो एउटा मात्र मुद्दा भने होइन । अमेरिकामा समेत कम्पनीले ५० करोड अमेरिकी डलरमा यस्तै मुद्दा सल्टाएको थियो । उक्त मुद्दामा समेटिएका प्रत्येक व्यक्तिहरूले यसै हप्तादेखि ९२ अमेरिकी डलर पाउन थालिसकेका छन् ।

पछिल्लो अध्यावधिक: पुस २३, २०८० १२:१६