काठमाडौं । केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर चार जनाले आफू अनलाइन ठगीमा परेको गुनासो पोखे । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट जोडिएका व्यक्तिले ठगी गरेको भन्दै उनीहरूले उजुरी दिएका थिए ।
“फेसबुक र इन्स्टाग्रामबाट जोडिएर ह्वाट्सएपसम्म पुग्ने, अनि पीडितसँग निकटता बढाउने रहेछन्,” टेकपानासँग कुरा गर्दै कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने, “त्यसपछि सामान पार्सल गरिदिने वा अनलाइनमा लगानी गरे दोब्बर आम्दानी हुने भन्दै प्रलोभनमा पार्ने रहेछन् ।”
यसरी प्रलोभनमा परेकाहरूलाई रकम पठाउन लगाउने लगाइन्थ्याे । त्यहाँ आएकामध्ये केही पीडितको ईसेवा वालेटबाट लिङ्क भएको बैंकमा पहुँच पाएर थाहै नदिई रकम ट्रान्सफर समेत गरिएको रहेछ । यसरी पटक पटक गरी १६ लाख ६० हजार रुपैयाँ ठगी गरेको भन्दै पीडितले उजुरी दिए ।
त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा काभ्रेका ३१ वर्षीय सुदीप प्याकुरेल, सोलुखुम्बुका ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोटका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोकका २१ वर्षीय करण तामाङ पक्राउ परेका छन् । उनीहरू चारै जना काठमाडौंमा बस्दै आएका थिए । प्रहरीले शुक्रबार उनीहरूलाई काठमाडौं सरस्वतीनगरबाट पक्राउ गरेको हो ।
पक्राउपछि खुल्यो बाइनान्स र १० करोड बराबरको क्रिप्टोकरेन्सीको रहस्य
आरोपित चारै जना अनलाइन ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनीहरूको साथबाट फोन, ल्यापटप, एटीएम कार्ड, चेकबुक, चेक आदि बरामद गरेको थियो ।
बरामद भएका फोन र ल्यापटप परीक्षण गर्दा त्यसबाट उनीहरूले बाइनान्समार्फत कारोबार गरेको खुल्यो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार पक्राउ परेका चार जना नै अनलाइन ठगी सञ्जालका मुख्य एजेन्टहरू हुन् । उनीहरूको मातहतमा काम गर्नेहरू पनि छन् ।
“हामीले दोस्रो र तेस्रो तहका एजेन्टलाई प्रतिवादी बनाएका छौं,” अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, “यो सबै विश्लेषण गर्दा ती चार जना नै मुख्य नाइके रहेको देखिन्छ ।”
पक्राउ परेकामध्ये सबैको भूमिका फरक फरक थियो । कसैले अनलाइन ठगी गर्थे, कतिले रकम माग्ने र त्यसलाई विभिन्न अकाउन्टमा ट्रान्सफर गर्ने गर्थे । केहीले भने बाइनान्सबाट क्रिप्टोको कारोबार गर्थे ।
प्रहरीका अनुसार आरोपित सञ्जय बस्नेतको पोको फोनमा उनले बाइनान्स एप राखेको देखिएको थियो । त्यसमा टोटल भोल्युम ७.१५७९१९३८ बीटीसी (करिब छ करोड ३८ लाख बराबरको क्रिप्टोकरेन्सी) थियो ।
त्यस्तै पक्राउ परेका करण तामाङको फोनमा ५.११९३९१२२ बीटीसी (करिब चार करोड ५६ लाख बराबरको) रहेको थियो ।
यसरी पक्राउ परेका दुबै जनाको अकाउन्टमा कूल १० करोड ९५ लाख ४२ हजार रुपैयाँ बढी क्रिप्टोकरेन्सी भएको देखिएको छ । प्रहरीका अनुसार अनलाइनमा लगानी गर्ने नाममा पीडितलाई ठगी गर्ने अनि त्यसमा आएको रकम बाइनान्समा क्रिप्टो किनेर राख्ने र पछि क्रिप्टो बेचेर एटीएमबाट रकम निकाल्ने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूको संलग्नता अनलाइन जुवाको प्लेटफर्ममा छ वा छैन, पीडित अरू छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका लागि आरोपित चारै जनालाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।