close

सोलार ब्याट्री बिग्रिँदा जुम्लामा १० महिनादेखि टेलिकम सेवा प्रभावित

टेकपाना टेकपाना

पुस २४, २०८० १९:४७

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । नेपाल टेलिकमले राखेको सोलार ब्याट्रीमा समस्या जुम्लाका नागरिक गुणस्तरीय नेटवर्कबाट वञ्चित भएका छन् । टेलिकमको टावर सञ्चालनका लागि राखिएको ब्याट्री बिग्रिँदा जिल्लाका सिञ्जा, हिमा र कनकासुन्दरी गाउँपालिकाकाका स्थानीय महिनौंदेखि गुणस्तरीय नेटवर्कबाट वञ्चित हुनुपरेको हो । 

टेकपानासँग कुरा गर्दै सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकामा रहेको टावर सञ्चालनका राखिएका ब्याट्री बिग्रिँदा १० महिनादेखि स्थानीयले नेटवर्क नआउने समस्या सामना गर्नुपरेको बताए ।

“हामीले कैयौं पटक मन्त्रालय, टेलिकम र विद्युत प्राधिकरणलाई भन्यौं, तर खै कहिल्यै कसैले चासो नै दिनु भएन,” धितालले भने, “टावरमा पावर दिन सोलार राखिएको छ । घाम नलाग्दा दिन रात नेटवर्क आउँदैन । घाम लाग्यो भने पनि दिनमा मात्र नेटवर्क आउँछ, रातमा आउँदैन ।”

सोलारबाट सञ्चालित ब्याट्री बिग्रिँदा त्यस्तो समस्याको सामना गर्नुपरेको उनले सुनाए ।

अध्यक्ष धितालका अनुसार सम्बन्धित निकायले ब्याट्री मर्मत नगरिदिँदा २० हजार बढी स्थानीय गुणस्तरीय टेलिकम सेवाबाट वञ्चित भएका छन् । “अर्को गाउँपालिकाले आफूलाई बत्ति पुग्दैन भनेर यता दिएन,” उनले अगाडि भने, “त्यसैले अहिले सिञ्जा गाउँपालिकाले आफ्नै पैसा खर्च गरेर विद्युत प्राधिकरणको टावर हुने ठाउँसम्म ल्याउने काम गरिरहेकाे छ ।”

धितालका अनुसार टावरसम्म बिजुली ल्याउनका लागि पोल गाड्नुपर्ने भएको र त्यसका लागि लाग्ने खर्च अन्तिममा गाउँपालिकाले आफैं व्यवस्थापन गर्न लागेको छ ।

“हामीले मात्र चाहेर हुँदैन,” उनले भने, “त्यहाँ विभिन्न उपकरणहरू आवश्यक पर्छन् । त्यसका लागि सम्बन्धित निकायले सहयोग गर्नुपर्ने हुन्छ । हामीलाई इन्टरनेट तथा गुणस्तरीय नेटवर्कबाट वञ्चित गर्नु हुँदैन भन्ने हाम्रो माग हो ।” विद्युत प्राधिकरणले ठेकेदारलाई भनेर वा सम्बन्धित निकायसँग समन्वय गरेर विद्युत पुर्‍याइदिए यो समस्याको दीर्घकालीन समाधान हुने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस २४, २०८० १९:४७