close

स्न्यापच्याट तपाईँका लागि कत्तिको सुरक्षित ?

टेकपाना टेकपाना

फागुन ६, २०८० १६:९

स्न्यापच्याट तपाईँका लागि कत्तिको सुरक्षित ?

काठमाडौं । जसै नेपालमा इन्टरनेटको पहुँच विस्तार हुँदै गइरहेको छ, त्यही अनुसार विभिन्न सामाजिक सञ्जालको प्रभाव पनि बढ्दै गइरहेको छ । विश्व परिवेश हेर्दा भने सामाजिक सञ्जालका कम्पनीमाथिको प्रश्न बढ्दो छ ।

फोटोलाई तोडमोड गर्नेदेखि राजनीतिक प्रभाव, विद्रोह र नरसंहारसम्मका मुद्‍दामा सामाजिक सञ्जालको भूमिका हुन सक्ने शङ्का पछि प्रश्न उठ्नु स्वाभाविक नै छ । यस्तोमा अमेरिकी कम्पनी स्न्यापच्याट भने यी विवादहरूबाट बच्न प्रयास गरिरहेको जस्तो देखिन्छ । तर प्रयोग गर्ने सन्दर्भमा स्न्यापच्याट साँच्चै के सुरक्षित छ त ? 

स्न्यापच्याट के हो, यसले कसरी काम गर्छ ? 

छोटोमा बुझ्दा, स्न्यापच्याट एन्ड्रोइड र आईफोनका लागि मोबाइल एप हो । यसबाट पठाइने फोटो, भिडिओ र मेसेज केही समय भित्रमा स्वत: डिलिट हुन्छन् ।

सामाजिक सञ्जालको सन्दर्भमा यो फिचर नयाँ/फरक भए पनि अहिले मेटाले फेसबुक र इन्स्टाग्राम र गुगलले युट्युब सर्ट्समा यही प्रकारको फिचर ल्याइसकेको छ । नेपालमा पनि टिकटक प्रतिबन्ध पछि यसको प्रयोगकर्ता उल्लेख्य मात्रामा बढेका छन् ।

कम्पनीको २०२३ को तेस्रो चौमासिक अनुसार स्न्यापच्याटलाई ४० करोड बढीले दैनिक र ७४ करोडले दैनिक प्रयोग गरिरहेका छन् । कम्पनीले एपमा सशुल्क योजना पनि उपलब्ध गराउने गर्छ । जसलाई कम्पनीले स्न्यापच्याट प्लस नाम दिएको छ ।

यद्यपि यो ऐच्छिक विकल्प हो । स्न्यापच्याट प्लस गर्ने प्रयोगकर्ताहरूले एपमा आएका नयाँ फिचर र थप अन्य प्रिमियम सुविधा प्रयोग गर्न पाउँछन् ।

तल स्न्यापच्याटको केही प्रमुख फिचरबारे दिइएको छ:

स्न्याप्स: अर्को प्रयोगकर्तालाई पठाइएको फोटो, भिडियो जस्ता मेसेजलाई स्न्यापका रूपमा बुझिन्छ ।

स्टोरिज: स्न्यापहरूलाई लिएर प्रयोगकर्ताले स्टोरी बनाउन सक्छन् ।  जसलाई प्रयोगकर्ताको फलोअर्स अथवा छानेका साथीहरूले हेर्न सक्छन् । त्यस्ता स्टोरी प्राय: २४ घण्टासम्म रहने गर्छ । तर ती मेमोरी अर्काइभका पनि रहन्छन् ।

मेमोरिज्: स्न्याप अथवा स्टोरीको यो सम्झना हो । जुन पछिका दिनमा हेर्न मिल्छ ।

डिस्कभर: स्न्यापच्याटले पैसा कमाउने माध्यम मध्ये एक हो, डिस्कभर । एपको यस भागमा कर्पोरेट ब्रान्ड र कम्पनीहरूले बनाएका स्टोरीहरू देखा पर्छ । यदि तपाईंले यसको प्रिमियम भर्सन प्रयोग गर्नुहुन्छ भने यसमा समाचारका हेडलाइनहरूसमेत देख्न सक्नुहुन्छ ।

स्पटलाइट: यो पनि डिस्कभर जस्तै छ । यसमा बिजनेस, क्रियटर लगायतका प्रयोगकर्ताले बनाएका भिडिओहरू देखा पर्छ ।

च्याट: प्रयोगकर्ताहरूले यसबाट ‍एकअर्कासँग कुराकानी गर्न सक्छन् । यसमा टेक्स्ट, फोटो, भिडिओ कल आदि सपोर्ट गर्छ । साथै पैसा पनि यसबाट पठाउन सकिन्छ ।

फिल्टर्स: फोटो वा भिडिओलाई थप आकर्षक बनाउन आवश्यक पर्ने विभिन्न कुराहरू फिल्टरमा हुन्छन् । यसमा विभिन्न समय, वातावरण, भूभाग लगायतका फिल्टर पाइन्छन् ।

लेन्सेस: यस फिचरले तपाईंको वातावरणलाई पुरै परिवर्तन गर्छ । प्रयोगकर्ताले आफ्नो संसारलाई जीवन्त बनाउन सुन्दर र आकर्षक थ्रीडी वस्तु समेत थप्न सक्छन् ।

बिटमोजी: अवतार बनाउने यो छुट्टै एप हो । जुन स्न्यापच्याट अन्तर्गत नै रहेको छ । सोहीकारण एपमा पनि यसको प्रयोग निकै गरिएको छ । जब यी दुई एप एकअर्कासँग लिङ्क गरिन्छ, तब प्रयोगकर्ताहरूले आफ्नो बिटमोजी अवतारसँग लेन्समा पहुँच पाउन सक्नुहुन्छ ।

स्न्यापम्याप: यस फिचरबाट प्रयोगकर्ताले आफ्नो वास्तविक लोकेसन अरूलाई देखाउन र अरूको लोकेसन पनि देख्न सक्छन् । ती प्रयोगकर्ताहरूलाई भने बिटमोजी आईकनले जनाइएको हुन्छ ।

स्न्यापकोड्स: यी क्यूआकार कोड हुन् । यसको मद्दतबाट प्रयोगकर्ताले सजिलै अर्को व्यक्तिसँग जोडिन सक्छन् ।

माई एआई: एपमा हालै आएको यो नयाँ फिचर हो । च्याटजीपीटीमा आधारित जेनेरेटिभ एआई च्याटबट हो । यसमा कम्पनीले थप केही विशेषता थपेको छ । यसबाट कुराकानी गर्न निकै रमाइलो र सजिलो हुन्छ ।

बालबालिका र किशोरकिशोरीका लागि कति सुरक्षित ?

सिद्धान्तत: बालबालिकाले स्न्यापच्याट लगायत कुनै पनि सामाजिक सञ्जाल चलाउनु हुँदैन । तरै पनि तुलनात्मक रूपमा १२/१३ वर्षका बालबालिकाले परिवारको प्रत्यक्ष निगरानीमा सामाजिक सञ्जाल चलाउन सक्छन् । अहिलेका सबैजसो कम्पनीहरूले उमेर हद राख्दै बालबालिकालाई सामाजिक सञ्जाल चलाउनबाट रोक्ने प्रयास गरेका छन् ।

तर समस्या यो हो कि स्न्यापच्याट चलाउने ठूलो संख्यामा उनीहरू पर्छन् । यद्यपि च्याट, स्टोरी, लोकेसन शेयरिङमा गोपनीयता सेटिङहरू छन् । तर बालबालिका र किशोरकिशोरीले अझै पनि उनीलाई प्रभाव पार्न सक्ने अनैतिक र यौन सम्बन्धीका कुराहरू देख्न सक्छन् ।

प्राय: आफ्नो साथीहरूसँग अनलाइनमा जोडिने उद्देश्यले उनीहरू एप चलाउने गर्छन् । तर एप प्रयोग गर्ने उनीहरूबाहेक अन्य व्यक्ति पनि हुन्छन् । ती मध्ये कतिपय गलत नियत राख्ने हुन सक्छन् । जसले सम्प्रेषण गरेका कन्टेन्ट बालबालिका वा किशोरकिशोरीको फिडमा आउन सक्छन् । अनि, उनीहरू स्वयंले गोपनियता सम्बन्धीको सेटिङ परिवर्तन गर्न सक्छन् ।

१८ वर्ष मुनिका जो कोहीले स्न्यापच्याट प्रयोग गर्दा सबैभन्दा खतरा हुने पक्ष यौन सम्बन्धीका कुरा उनीहरूले हेर्न सक्नु हो । किनकी स्न्याप केही क्षणसम्म रहने फोटो/भिडिओसँग सम्बन्धित छ । त्यसो हुँदा उनीहरूले आफ्नो मोबाइलमा त्यस्ता कन्टेन्ट नरैखिकनै हेर्न सक्छन् । फेरि, त्यस्ता कन्टेन्टहरूको स्क्रिनसट वा स्क्रिन रेकर्डिङ गर्न एप स्वयंले रोक्न सक्दैन । अथवा त्यस्ता व्यक्तिहरूलाई उनीहरूले प्रत्यक्ष भेट्न समेत सक्छन् । त्यस गतिविधिलाई रोक्ने त एपको कुरै भएन ।

तथापि अभिभावकको निगरानीमा रहेर एप चलाउँदा भने यस्तो खतरा नहुन सक्छ । एपको 'फ्यामिली सेन्टर'ले आफ्ना बालबालिकालाई सुरक्षित रूपमा स्न्यापच्याट चलाउन निकै सहयोग गर्छ । जस्तो: त्यस फिचरबाट अभिभावकले आफ्ना बच्चाले बनाउने साथी, पठाउने मेसेज, हेर्ने कन्टेन्टमा पहुँच पाउन सक्छन् । साथै कस्ता कन्टेन्ट हेर्न दिने र कस्ता नदिने भनेर सेटिङ गर्न सक्छन् ।

वयस्कका लागि कति सुरक्षित?

फेसबुक/इन्स्टाग्राममा भन्दा तुलनात्मक रूपमा स्न्यापच्याटमा वयस्क सुरक्षित हुने बताइन्छ । यदि वयस्क प्रयोगकर्ताले चाहे आफूलाई हानी पुर्‍याउन सक्ने कन्टेन्टहरू आफ्नो फिडमा आउनबाट रोक्न सक्छन् ।

त्यसो भन्दैमा वयस्का लागि एप पुरै सुरक्षित छ भन्ने होइन । स्क्याम र डेटा चुहावट, वयस्कहरूका लागि ठूलो चुनौती हुन सक्ने विषय हुन् । विगतमा डेटा सुरक्षासँग एपको नराम्रो इतिहास छ । अनि, एपको 'माई एआई' अर्को समस्या हुन सक्ने विषय हो ।

'माई एआई'सँग प्रयोगकर्ताले गरेको कुराकानीलाई कम्पनीले आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्छ । विशेषत: उक्त मोडलको सुधार गर्न र प्रयोगकर्तालाई विज्ञापन देखाउन त्यस बटमा गरिएको कुराकानीलाई कम्पनीले प्रयोग गर्न सक्छ ।

वयस्क मात्र नभएर बालबालिका र किशोरकिशोरीका लागि पनि यो उही समस्या हो । अझ डेटा सुरक्षाको विषय मात्र नभएर एआईले उनीहरूलाई गलत जानकारी र प्रतिक्रिया दिन सक्छ । त्यो अर्को समस्या हो ।

स्क्यामको कुरा गर्दा अन्य प्लेटफर्म सरह स्न्यापच्याटमा समस्या हुन सक्छ । फिसिङ, नक्कली गिभअवे जस्ता स्क्याम यसमा हुन सक्छन् । विशेषत: कसलाई फलो गर्ने वा साथी कसलाई बनाउने भन्ने कुरामा ध्यान दिए स्न्यापच्याट सुरक्षित हुन सक्छ । त्यस्तै जोकोहीलाई पैसा नपठाउने, एपमा आएका प्रभोलन देखाइएका विज्ञापनमा नफस्ने जस्ता कार्य गर्दा समेत एप सुरक्षित हुन सक्छ ।

छोटोमा थप प्रश्नोत्तर

स्न्यापच्याटमा व्यक्तिगत फोटो बनाउनु कति सुरक्षित ?

अनलाइन माध्यमबाट कसैलाई व्यक्तिगत फोटो पठाउनु अघि निकै सचेत हुन पर्छ । आफ्ना आफन्त र विश्वास गरेका व्यक्तिलाई पठाउँदा सम्म ठिकै हो । तर गोप्य फोटोहरू पठाउँदा भने निकै सतर्क र सचेत हुन पर्छ । अनि सम्झन पर्ने कुरा, एपमा केही क्षण भित्र ती फोटो डिलिट भए पनि अन्यले स्क्रिनसट अथवा स्क्रिन रेकर्डिङ समेत गर्न सक्छन् ।

ह्वाट्सएपको तुलनामा स्न्यापच्याट कति सुरक्षित ? 

यसबारे ठ्याक्कै उत्तर दिन गाह्रो छ । तर पनि केही फरक भने अवश्य छन् । जस्तो: नचिनेका व्यक्तिसँग स्न्यापच्याटमा जोडिन अलि गाह्रो छ । अनि ह्वाट्सएपको तुलनामा यसमा कम प्रयोगकर्ता छन् । यता ह्वाट्सएपलाई मासिक दुई करोड बढीले प्रयोग गरिरहेका छन् । त्यसो हुँदा त्यहाँ स्क्यामरहरू पनि उत्तिकै सक्रिय हुन सक्छन् ।

स्न्यापच्याटमा गरिएको भिडिओ कल कति सुरक्षित ?

तुलनात्मक रूपमा अन्य प्लेटफर्मभन्दा केही हदसम्म स्न्यापच्याटमा गरिएको भिडिओ कल सुरक्षित छन् । यदि यो कुरामा विश्वास नलागे प्लेटफर्ममा भिडिओ कल नगर्नु उचित हुन्छ ।

स्न्यापच्याटका विज्ञापन कति सुरक्षित ? 

यो प्रश्नभन्दा अघि गएर सोच्नु पर्ने कुरा,  कुनै पनि अनलाइन विज्ञापनको उद्देश्य कम्पनीको उत्पादन उपभोग गराउनु केन्द्रित हुन्छ । जस्तै; कुनै पनि एप इन्स्टल र प्रयोग गरोस् भन्ने विज्ञापनको उद्देश्य हुन्छ । कतिपय अवस्थामा विज्ञापनका मार्फतबाट स्क्याम क्याम्पेनहरू समेत चलाइरहेका हुन्छन् ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० १६:९