काठमाडौं । एप्पलको नयाँ स्मार्टफोन सिरिज आईफोन १६ मा क्यामेराको डिजाइन फरक हुने भएको छ । आईफोन ११ पछि एउटै शैलीका क्यामेरा डिजाइन राखेको भन्दै आलोचित बनेको एप्पलले आईफोन १६ मा नयाँ डिजाइनको क्यामेरा राख्ने भएको हो ।
सामाजिक सञ्जाल एक्समा आईफोन १६ का विभिन्न फोटो सार्वजनिक भएका छन् । ती फोटोमा क्यामेरा डिजाइन कस्तो हुने भन्ने उल्लेख गरिएको छ ।
यसअघि एप्पलले आईफोन १२ को बेस मोडेलमा ठाडो डिजाइनमा क्यामेरा समावेश गरेको थियो । अनुसन्धानकर्ता मजिन बुले एक्समा आईफोन १६ को क्यामेरा लेआउट सार्वजनिक गरेका छन् ।
एप्पल सम्बन्धी समाचार प्रकाशित गर्ने प्लेटफर्म म्याकर्युमर्सले विभिन्न स्रोतसँग कुरा गर्दै आईफोन १६ को क्यामेरा डिजाइन भर्टिकल (ठाडो) हुने पुष्टि गरेको हो ।
विशेषगरी एप्पल भिजन प्रोका लागि आवश्यक पर्ने स्पासियल भिडिओ (Spatial Video) रेकर्ड गर्नका लागि उक्त क्यामेरा डिजाइन उपयुक्त हुने बताइएको छ ।
यसअघि आईफोन १५ मा चार ओटा मोडेल सार्वजनिक भएका थिए । जसमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स रहेका थिए ।
आईफोन १६ मा भने आईफोन १६ एसई, आईफोन १६ प्लस एसई, आईफोन १६, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स हुने दाबी गरिएको छ ।
क्यामेरा मात्र नभई एक्सन बटनलाई एप्पलले क्यामेरा कन्ट्रोल गर्न समावेश गर्न सक्ने बताइएको छ । यसले गर्दा प्रयोगकर्ताले सहजै फोटो खिच्न, क्यामेरा खोल्न र अन्य किसिमले क्यामेरा कन्ट्रोल गर्न सक्नेछन् ।