close

अर्को वर्ष आफ्ना ४ अन्तरिक्षयात्री अन्तरिक्षमा पठाउँदै भारत

टेकपाना टेकपाना

फागुन १६, २०८० ११:५१

अर्को वर्ष आफ्ना ४ अन्तरिक्षयात्री अन्तरिक्षमा पठाउँदै भारत

काठमाडौं । भारतको पहिलो अन्तरिक्ष मानव उडान परियोजना ‘गगनयान मिसन’ अन्तर्गत अन्तरिक्ष जानेमध्ये चार अन्तरिक्षयात्रीको नाम सार्वजनिक भएको छ । मङ्गलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष अन्तरिक्षमा जाने मध्येबाट चार जनाको नाम सार्वजनिक गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार छनोट भएका चार जना अन्तरिक्ष यात्रीमध्ये तीन जना गगनयानमा पृथ्वीभन्दा ४०० किलोमिटर माथि अन्तरिक्षमा जानेछन् । त्यहाँ तीन दिन बिताएर उनीहरू पुनः पृथ्वीमा फर्किने बताइएको छ ।

भारतको अन्तरिक्ष एजेन्सी इसरोले पहिलो अन्तरिक्ष मानव उडान सुरु गर्नुअघि कैयौं पटक उडान परीक्षण गरेको थियो । गत अक्टोबरमा गरिएको प्रमुख परीक्षणमा रकेट खराब भयो भने पनि त्यसमा सवार चालक दल सुरक्षित हुने देखिएको थियो । 

त्यसको सफलतापछि इसरोले सन् २०२४ मा गरिने परीक्षण उडानमा अन्तरिक्षमा रकेट पठाउने बताएको छ । त्यसपछि सन् २०२५ मा अन्तरिक्षमा मानव लैजाने उसको योजना छ । सोही अन्तर्गत चार जना शर्टलिस्टमा परेको बीबीसीले उल्लेख गरेको छ । 

छनोट हुनेमा ग्रुप क्याप्टेन प्रशान्त बालाकृष्णन नायर, ग्रुप क्याप्टेन अजित कृष्णन, ग्रुप क्याप्टेन अङ्गद प्रताप र विङ कमान्डर शुभांशु शुक्ला रहेका छन् । प्रधानमन्त्री मोदी र इसरोका प्रमुख एस सोमनाथले अन्तरिक्षयात्रीको सर्टमा गोल्डेन विङ लगाएका थिए । प्रधानमन्त्री मोदीले उनीहरूलाई ‘भारतको गौरव’का रूपमा प्रशंसा गरेका छन् । 

“यी चार नाम वा चार जना मात्र होइनन्,” प्रधानमन्त्री मोदीले भने, “उहाँहरू चार शक्ति हुनुहुन्छ, जसले १.४ अर्ब भारतीयहरूको आकाङ्क्षालाई अन्तरिक्षमा लैजानु हुनेछ । उहाँहरू सबैलाई बधाई अनि शुभकामना व्यक्त गर्दछु ।”

चारै जनालाई वायुसेनाका पाइलटहरूको समूहबाट छनोट गरिएको हो । शर्टलिस्टमा पर्नुअघि उनीहरूको विस्तृत शारीरिक र मनोवैज्ञानिक परीक्षण गरिएको बीबीसीले जनाएको छ । उनीहरूले यसका लागि रुसमा गएर १३ महिनासम्म तालिम लिएका थिए । तालिमका क्रममा उनीहरूले जिम गर्ने, योगा गर्ने र पौडिने लगायतका गतिविधि गरिरहेको सार्वजनिक भिडिमा देख्न सकिन्छ । 

मङ्गलबार इसरोले 'व्योमित्र' नामको ह्युमोनोइड रोबोट पनि सार्वजनिक गरेको छ । सो रोबोटलाई इसरोले यो वर्ष अन्तिरिक्ष पठाउने तयारी गरिएको छ । 

यसका लागि हालसम्म ८० अर्ब भारु खर्च भएको बीबीसीले उल्लेख गरेको छ । यो परियोजना सफल भए भारत सोभियत सङ्घ, अमेरिका र चीनपछि अन्तरिक्षमा मानव पठाउने चौथो राष्ट्र बन्नेछ । 

सन् १९८४ मा भारतीय नागरिक राकेश शर्मा अन्तरिक्ष पुगेका थिए । रुचि अन्तरिक्ष यानमा उनले झन्डै आठ दिन अन्तरिक्षमा बिताएका थिए । 

अगस्ट २०२३ मा भारतले चन्द्रमाको दक्षिण धुर्वमा यान अवतरण गर्दै इतिहास रचेको थियो । त्यसको केही सातापछि सूर्यको अध्ययनका लागि भारतले आदित्य एलवन नामक यान पठाएको थियो । भारतले सन् २०३५ सम्म आफ्नै अन्तरिक्ष स्टेसन बनाउने र सन् २०४० सम्म अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १६, २०८० ११:५१