close

सरकारी कार्यालय र कर्मचारीको असुरक्षित ईमेल अभ्यासले जोखिममा छ हाम्रो संवेदनशील डेटा

अमृत लम्साल

फागुन २१, २०८० १८:२

सरकारी कार्यालय र कर्मचारीको असुरक्षित ईमेल अभ्यासले जोखिममा छ हाम्रो संवेदनशील डेटा

नेपालका सरकारी कार्यालयहरूमा एउटा चिन्ताजनक प्रवृत्ति देखा परेको छ, जहाँ ठूलो सङ्ख्यामा आधिकारिक सञ्चारका लागि जिमेल जस्ता नि:शुल्क ईमेल सेवामा निर्भर भइरहेको देखिन्छ । हाल नेपाल सरकारले आफ्नो ईमेल सञ्चारको सुरक्षामा सुधार गर्न व्यावसायिक ईमेल अपनाउने घोषणा गरे ता पनि अधिकांश सरकारी कार्यालयमा भने निःशुल्क ईमेलमै भर परेको पाइन्छ । 

यस्तोमा एउटा मुख्य प्रश्न उठ्छ: के राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) ले उपलब्ध गराउने सुरक्षित र व्यावसायिक ईमेल सेवाको उपलब्धताको बारेमा जागरुकताको कमीले नि:शुल्क ईमेलमा यो तहसम्मको निर्भरता रहन गएको हो ?

संवेदनशील सूचना तथा जानकारी सङ्कलन तथा सञ्चय गर्ने सरकारी कार्यालयहरूलाई प्रायः सुरक्षित र प्रभावकारी सञ्चार उपकरणहरूको आवश्यकता पर्छ । तर, धेरैले अझै पनि नि:शुल्क ईमेल सेवाबाट व्यावसायिक तथा सरकारी ईमेल सोलुसनमा रूपान्तरण गर्न ढिलो भइसकेको छ । यस्ता व्यावसायिक ईमेल प्रणालीमार्फत डोमेन अनुकूल नवीनतम सुरक्षा सहितका फिचर प्राप्त गर्न सकिन्छ । 

 

व्यावसायिक ईमेल भनेको के हो ?

व्यावसायिक ईमेल एउटा त्यस्तो ईमेल सेवा हो, जसले जेनेरिक ईमेल प्रदायकको डोमेनको साटो "example.com.np" जस्ता आफू अनुकूल डोमेन प्रयोग गर्ने सुविधा दिन्छ । यो सामान्यतया औपचारिक तथा आधिकारिक सञ्चारको लागि सङ्घ-सङ्गठन, कम्पनी, पेसाकर्मी, सरकारी निकाय आदिमा प्रयोग हुने गर्छ । 

व्यावसायिक ईमेलहरू प्रायः व्यावसायिक सञ्चारका लागि उपयुक्त हुने विशेष प्रकारका सुविधा र सुरक्षा उपाय सहितका हुन्छन् । 

 

एक उदाहरण हेरौं;

काठमाडौं महानगरपालिकालाई मैले यहाँनिर उदाहरणको रूपमा लिन चाहें । काठमाडौं महानगरपालिकाको वेबसाइट: kathmandu.gov.np/ रहेको छ भने त्यसले निःशुल्क ईमेलमा ‍[email protected] प्रयोग गर्छ । 

यदि काठमाडौं महानगरपालिकाले व्यावसायिक ईमेल प्रयोग गरेको खण्डमा [email protected],

[email protected] आदि हुन सक्छ । 

 

कसरी लिने व्यावसायिक ईमेल ?

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) तथा सूचना प्रविधि विभागले नेपालका सबै सरकारी कार्यालयहरूलाई निःशुल्क रूपमा व्यावसायिक ईमेल उपलब्ध गराउँदै आएको छ । यो कदम सरकारी सञ्चारको सुरक्षा र दक्षता सुधार गर्ने उद्देश्यले चालिएको हो । 

एनआईटीसीले प्रत्येक सरकारी कार्यालयलाई @example.gov.np जस्ता अनुकूल ईमेल डोमेन प्रदान गर्दछ । यसमा सरकारी कार्यालयहरूलाई उनीहरूको सङ्गठनको नाम र स्थान झल्काउने व्यावसायिक ईमेल आईडी तयार पार्ने सुविधा हुन्छ । 

व्यावसायिक ईमेलको लागी https://nitc.gov.np लिंकभित्र सर्भिस अन्तर्गत रहेको ईमेल सर्भरमा गएर अथवा यहाँ क्लिक गरेर आवेदन दिन सकिन्छ ।

 

सरकारी कार्यालयमा किन प्रयोग गर्नु हुँदैन निःशुल्क ईमेल ?

नि:शुल्क जिमेल अकाउन्ट व्यावसायिक जिमेल अकाउन्ट जत्तिकै सुरक्षित हुँदैनन् । किन भने त्यसमा स्पाम र भाइरसबाटको सुरक्षा, टु फ्याक्टर अथेन्टिकेसन र डेटा इन्क्रिप्सन जस्ता मजबुत सुरक्षा प्रणालीको अभाव छ । यो अन्तर्निहित जोखिमले यस्ता निःशुल्क ईमेल सेवालाई ह्याकिङ र सम्भावित डेटा ब्रिचको लागि बढी संवेदनशील बनाउँछ । सरकारी कार्यालयहरूले अक्सर नागरिकहरूको व्यक्तिगत डेटा सहित अत्यधिक संवेदनशील जानकारी सङ्ग्रह र सम्प्रेषण गरिरहेका हुन्छन् । त्यसैले निःशुल्क रूपमा उपलब्ध ईमेल प्रयोग गर्दा त्यसले सरकार र नागरिक दुवैको लागि गम्भीर परिणाम निम्त्याउन सक्छ । 

यसबाहेक, नि:शुल्क जिमेल अकाउन्टले डेटा गोपनीयता र सुरक्षा कानूनसहित सरकारी निकायहरूको सर्त तथा प्रावधानसँग सोझो सम्बन्ध राख्दैनन् । त्यस्ता अकाउन्ट प्रयोग गर्नाले सरकारका आन्तरिक गतिविधि र गोपनीयताको पर्दाफास हुन सक्छ।

नि:शुल्क जिमेल अकाउन्टमाथि भर पर्दा सरकारी निकाय तथा कर्मचारीको एक अव्यावसायिक छवि बन्न सक्छ । र सरकारी कार्यालयहरूमा सम्पर्क गर्न खोज्ने नागरिक र व्यवसायबिच भ्रम तथा अविश्वास समेत पैदा हुने जोखिम रहन्छ । उदाहरणका लागि, यदि कुनै नागरिकले सरकारी कार्यालयको नि:शुल्क जिमेल अकाउन्टमा ईमेल पठाउनु पर्‍यो भने , त्यसले आधिकारिक सरकारी निकायसँग कुराकानी गरिरहेको छ कि छैन भन्नेमा अनिश्चितता बढाउन सक्छ ।

त्यसैले सरकारी कार्यालय र कर्मचारीहरूलाई एनआईटीसले उपलब्ध गराउने नि:शुल्क व्यावसायिक  ईमेल सेवा लिनु र प्रयोग गर्नु आजको आवश्यकता हो । डिजिटल परिदृश्य विकसित हुँदै जाँदा, सरकारी कर्मचारीहरूलाई उनीहरूका लागि उपलब्ध विकल्पहरूबारे राम्ररी जानकारी छ भन्ने कुरा सुनिश्चित गर्नु संवेदनशील सरकारी डेटाको सुरक्षा र प्रभावकारी सञ्चारका लागि महत्त्वपूर्ण छ ।

 

तिलोत्तमा-७ भलवारी रूपन्देहीका  लम्साल आईटी अध्ययनरत विद्यार्थी हुन् । 

lamsalamrit.com.np

 

पछिल्लो अध्यावधिक: फागुन २१, २०८० १९:२४