close

यस्तो छ, आज सार्वजनिक हुन लागेको ‘नथिङ फोन टु ए’

टेकपाना टेकपाना

फागुन २२, २०८० १६:४७

यस्तो छ, आज सार्वजनिक हुन लागेको ‘नथिङ फोन टु ए’

काठमाडौं । नथिङ ब्रान्डको स्मार्टफोन ‘नथिङ फोन टु ए’ (Nothing Phone 2a) मोडेल आज भारतमा सार्वजनिक हुँदैछ । फोन सार्वजनिक हुनुअघि नै कम्पनीले यसको डिजाइन र प्रोसेसरको विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म यो फोनको ह्वाइट कलर भेरियन्ट बाहिरिएको छ । त्यसबाहेक अन्य कुन कुन कलरमा यो फोन उपलब्ध हुन्छ भन्ने स्पष्ट जानकारी आइसकेको छैन ।

यसअघि फोनको स्टोरेज, क्यामेरा, ब्याट्री र अन्य विभिन्न स्पेसिफिकेसन पनि बाहिरिएको थियो । भारतमा रहेका नथिङ फोनका संस्थापक कार्ल पेईले यो फोनको मूल्य पनि सार्वजनिक गरेका छन् । त्यसबाहेक कम्पनीले यो फोन कुन-कुन मितिमा कहाँ-कहाँबाट खरिद गर्न सकिन्छ भन्ने विषयको जानकारी दिएको छ ।

'नथिङ इन्डिया' नामबाट खोलिएको एक्स अकाउन्टमा कार्ल पेईले भारतीय स्मार्टफोन प्रयोगकर्ताबाट विभिन्न फोनको रिभ्यु लिइएको भिडिओ राखिएको छ । उनले सर्वसाधारणसँग नथिङ फोन टु एको मूल्य कति पर्छ भन्ने जिज्ञासा राखेका थिए । त्यसमा अधिकांशले उक्त फोनको मूल्य कम्पनीले तोकेकोभन्दा दोब्बर बढी भनेको पेईले जनाएका छन् ।

पेईका अनुसार भारतमा नथिङ फोन टु एको मूल्य २५ हजार भारुबाट सुरु हुनेछ । यसअघि नै पेईले भारतमा बिक्री हुने नथिङ फोन टु ए भारतमै बन्ने पुष्टि गरेका थिए ।

यो फोनमा मिडिया डाइमेन्सिटी ७२०० प्रो एसओसी राखिएको छ । पछाडिपट्टि यसमा भिन्नै डिजाइनका दुई ओटा ५० मेगापिक्सेल रियर क्यामेरा सेन्सर समावेश छ । सेल्फी पारखीका लागि यसमा ३२ मेगापिक्सेलको क्यामेरा राखिएको छ ।

यो फोन १२ जीबी र्‍याममा उपलब्ध हुनेछ भने अतिरिक्त ८ जीबी भर्चुअल र्‍याम हुने बताइएको छ । यो एन्ड्रोइड १४ र नथिङ ओएस २.५ मा आधारित हुनेछ । यसमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्च ओलेड डिस्प्ले रहेको छ । ५००० एमएएच क्षमताको ब्याट्री भएको फोनलाई कम्पनीले उपलब्ध गराएको ४५ वाट चार्जरबाट चार्ज गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०८० १६:४७