close

क्यास एपमार्फत अनलाइन क्यासिनो गेम खेलाउने व्यक्तिहरू धमाधम पक्राउ पर्दै

टेकपाना टेकपाना

चैत ७, २०८० १८:१०

क्यास एपमार्फत अनलाइन क्यासिनो गेम खेलाउने व्यक्तिहरू धमाधम पक्राउ पर्दै

काठमाडौं । अवैध अनलाइन क्यासिनो गेममार्फत सोझा व्यक्तिहरूलाई सट्टेबाजी लगाउने व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले हालै क्यास एप एप्लिकेसनमार्फत जुवा, लस भेगस, पाण्डा, फायर फायरकिरिन लगायतका खेलहरूमा सट्टेबाजी गर्न लगाई ठगी कार्य गरेको भन्दै छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही ब्रम्हपुरी घर भई काठमाडौं बस्ने २४ वर्षीय सुनिल ठाकुर र २४ वर्षीय रामवीर ठाकुर, मोरङ बेलबारी धर भई काठमाडौं बस्ने २२ वर्षीय प्रमिस श्रेष्ठ, काठमाडौं बुढानिलकण्ठका २२ वर्षीय प्रसय जमकट्टेल, झापा गौरादह घर भई काठमाडौं बस्ने २२ वर्षीय दिप्नोज खत्री र काठमाडौं कुलेश्वरका २९ वर्षीय स्वराज श्रेष्ठ रहेका छन् ।

यस्ता गेममार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टेबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई मंगलवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

उनीहरूको साथबाट अनलाइन गेम खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल, सीपीयू, रसबेरी पाई लगायतका उपकरण बरामद गरिएको छ । 

बरामद उपकरणहरू

यसअघि उक्त कार्यालयबाटै खटिएको टोलीले क्याश एप, फायरकिरिन लगायतका क्यासिनो एपमार्फत सट्टेबाजी गराउने चार जना​लाई आइतवार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा २६ वर्षीया सरिता लामा, २५ वर्षीया सारङ्गा गुरुङ, २३ वर्षीया पूर्णिमा राई, २८ वर्षीय तेम्बा लामा रहेका छन् । प्रहरीका अनुसार उनीहरूले आफ्नो लाभका लागि सोझा व्यक्तिहरूलाई ती एपमार्फत विभिन्न खेलहरूमा अनलाइन बाजी राख्न लगाउने गर्थे ।

पछिल्लो अध्यावधिक: चैत ७, २०८० १८:२६