close

अमेरिकी लगानीको सफ्टवेयर कम्पनी ‘कोटिभिटी नेपाल’ विरुद्ध राजस्व छली गरेको अभियोगमा १० अर्बको मुद्दा

टेकपाना टेकपाना

चैत १९, २०८० २०:४५

अमेरिकी लगानीको सफ्टवेयर कम्पनी ‘कोटिभिटी नेपाल’ विरुद्ध राजस्व छली गरेको अभियोगमा १० अर्बको मुद्दा

काठमाडौं । अमेरिकी लगानी रहेको सफ्टवेयर कम्पनी कोटिभिटी नेपाल प्रालिविरुद्ध अदालतमा १० अर्ब ३६ करोड ४५ लाख २२ हजार रुपैयाँको मुद्दा दायर भएको छ । राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले कोटिभिटी नेपालविरुद्ध पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार बिगो र त्यति नै परिमाणमा जरिवाना मागसहित आइतवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले दायर गरेको यो हालसम्मकै ठूलो राजस्व छलीको मुद्दा हो । 

उक्त मुद्दामा कोटिभिटीले वस्तु निर्यातबापत तिर्नुपर्ने चार अर्ब ७६ करोड ५८ लाख ४३ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र स्वामित्व परिवर्तन हुँदा तिर्नुपर्ने ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ पूँजीगत लाभकर छली गरेको दाबी गरिएको छ ।

कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा भएको परिवर्तनबारे मध्यम स्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नगराएको, साथै आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको पाइएकाले मुद्दा दायर गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

ढुंगानाका अनुसार कोटिभिटीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को (क), (ग), (च) र (झ) बमोजिमको कसूर गरेको पुष्टि भएकोले सोही ऐनको दफा २ (छ) (१) बमोजिम मुद्दा दायर गरिएको हो ।

कोटीभिटी नेपाल प्रालि नेपालमा दर्ता रहेको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । यसको साविकको नाम भेरिस्क इन्फरमेसन टेक्नोलोजी प्रालि हो । ​भेरिस्कबाट भर्सेन्ड टेक्नोलोजी प्रालि कायम गर्न कम्पनी रजिष्ट्रारले ८ भदौ २०७३ मा स्वीकृति दिएको थियो । त्यस्तै, कम्पनीले ८ पुस २०७५ मा भर्सेन्डबाट नाम परिवर्तन गरी कोटिभिटी नेपाल प्रालिका रूपमा कारोबार गर्दै आएको थियो ।

हाल कोटिभिटीको संस्थापक शेयरधनी मुख्य कम्पनी कोटिभिटी इंक हो ।

विभागका अनुसार विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन हुँदा कम्पनीको शेयर स्वामित्वमा समेत परिवर्तन भएको थियो । जसअनुसार उसले कानूनबमोजिम राजस्व बुझाएको थिएन ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८० १४:१५