काठमाडौं । करिब १० वर्षअघि कार्यक्रमहरूको फोटो/भिडिओ खिच्न, म्युजिक भिडिओ बनाउन अर्थात् फोटोग्राफी र भिडिओग्राफी गर्न लवेस श्रेष्ठ र तेजस्वी राजथलाले एउटा फेसबुक पेज बनाएका थिए- ज्याज प्रोडक्सन । त्यहाँ उनीहरूले आफ्ना कामबारे पाेस्ट राख्थे ।
त्यो देखेर मुम्बईको 'ग्ल्यामर्स' नामक फोटो स्टुडियोमा भिडिओग्राफर र डिजाइनरका रूपमा काम गरिरहेका अनिल न्यौपाने खुसी मान्थे । किनकी लवेस र तेजस्वी, अनिलकै साथी थिए । आफ्नो भविष्य बनाउन प्रयासरत अनिललाई आफ्नै साथीहरूले आफ्नो रुचिको काम थालेकोमा गर्व थियो । उनको भित्री मनमा पनि नेपाल फर्केर केही गरौं भन्ने ज्वार थियो ।
यो विषयमा अनिलले आफ्ना साथीसँग कुरा गरे । त्यसपछि ज्याजको सहसंस्थापकका रूपमा उनी पनि जोडिए । अनि अरू केही नसोचेर अक्टोबर २०१४ मा नेपाल फिर्ता भए । त्यसपछि बल्ल औपचारिक रूपमा ज्याज सुरु भयो ।
यसरी जन्मेको ज्याज प्रोडक्सनको काम भिजुअल मिडिया सामग्री तयार पार्नु हो । विशेषत: ज्याज (छोटकरी नाम) ले टिभी कमर्सियल, फिल्म प्रोडक्सन/फोटोग्राफी, म्युजिक भिडिओ प्रोडक्सन, सीजीआई/एनिमेसन, साउन्ड डिजाइन/म्युजिक प्रोडक्सनको काम गर्छ ।
छोटोमा भन्दा ज्याज प्रोडक्सन, अडिओ/भिजुअल सामग्री तयार पर्ने प्रोडक्सन हाउस हो ।
ज्याज र अनिल
व्यक्तिगत रूपमा कुरा गर्दा, अनिललाई सानैदेखि फोटोग्राफी/भिडिओग्राफी तथा एनिमेसनको क्षेत्रमा भविष्य बनाउने रहर थियो । जसै सन् २०१० मा उनले प्लस टु सकाए । त्यसपछि चार्टर्ड अकाउन्टेड (सीए) पढ्न दिल्ली जानुपर्ने भयो । भारत जानुअघि सर्तस्वरूप परिवारसँग क्यामेरा किनिदिन अनुराेध गरे ।
बल्लतल्ल क्याननको ५५०डी क्यामेरा उनको हातमा आयो । त्यसलाई उनले 'डेजी' नामाकरण गरिदिएका छन् । उनी आफ्नो सामानहरूको नाम राख्ने गर्छन् । त्यसो गर्दा आत्मीयता बढ्ने उनको विश्वास छ । त्यो उनको पहिलो क्यामेरा थियो । फिल्म मेकिङमा आफ्नो करियर पनि त्यही क्यामेराले सुरु गरेको उनी बताउँछन् ।
क्यामेरा आफूसँगै भएकाले दिल्लीमा कलेज जानेबाहेक उनी फोटोग्राफी सम्बन्धी क्लबहरूमा जोडिए । उनको काम देखेर मुम्बईको उही स्टुडियोले कामको प्रस्ताव गरेको थियो । त्यसै पछि हो, उनलाई अब ‘मेरो बाटो यो हो’ भन्ने लागेको ।
त्यो प्रस्ताव आएपछि उनलाई सीए पढिरहन मन लागेन । संयोगवश त्यो समयमा कलेजको छुट्टी भएकाले उनी काठमाडौंमै थिए । आफ्नै रुचिको काम गर्न अवसर आएकाले उनले दिल्लीको टिकट रद्द गरेर मुम्बईको टिकट काटे । त्यसबेला उनको सीएको पढाइ मध्यतिर पुगेको थियो । अर्थात् दुई वर्ष सीए पढेर उनी ‘ड्रप आउट’ भए ।
त्यसपछि उनले मुम्बईको फेसन स्टुडियोमा फोटोग्राफी र सिनेमाट्रोग्राफीको काम गर्न थाले । त्यहाँ उनले काममात्रै गरेनन् । सँगै आफूलाई चाहिने सीप पनि सिके । त्यस समयमा उनलाई महसुस भएको थियो- अझै धेरै सिक्नु छ, राम्रो फिल्म मेकर बन्नु छ ।
ठीक त्यही बेला नेपालमा उनका साथी लवेस र तेजस्वीले ज्याज सुरु गरेका थिए । अनि सँगै काम गर्ने कुरा भएपछि अनिलले मुम्बईको दुई वर्षे बसाइँ पनि बिट मारे ।
ज्याजको शिशुकाल
भोक र इच्छाशक्ति भएकाले सुरुका दिनमा अनिल, लवेस र तेजस्वीले बिना लगानी काम गरे । त्यसताका आफ्नै साथीहरूको म्युजिक भिडिओ बनाउने, इभेन्ट कभरेज गर्ने, विवाहको भिडिओ खिच्ने लगायतका काम उनीहरूले गर्थे ।
त्यसबेला क्लाइन्टले परियोजनाको बजेटबापत दिने ५-१० हजार रुपैयाँ पनि उनीहरूका लागि ठूलो हुन्थ्यो । अझ उक्त रकमलाई लगानीका रूपमै उनीहरू परियोजनामै खर्चिन्थे । त्यसो गर्दा नतिजा राम्रो आउने भएता पनि आर्थिक रूपमा उनीहरूलाई गाह्रो बनाउँदै लगिरहेको थियो ।
त्यो समय उनीहरूले जे काम आउँछ, त्यही गरिरहेका हुन्थे । खासै प्रगति नभइरहेको समयमा उनीहरूले निकै जोखिम मोलेर आफ्नै बजेटमा सोइकोलोजिकल थ्रिलर शर्ट फिल्म ‘बब्’ निर्माण गरे । उनीहरूले त्यसलाई आफ्नो युट्युब च्यानलमा अपलोड गरेका थिए । फिल्म खासै चर्चित नभएपनि त्यस फिल्मलाई लिएर सुखद-दु:खद दुवै घटना हुन पुग्यो ।
उनीहरूको उक्त शर्ट फिल्म एक भारतीय फिल्म मेकरले चोरेर रिमेक गरे । त्यसपछि सो विषय विवादका रूपमा सतहमा आयो । भलै ज्याजले कानूनी रूपमा केही गर्न सकेन । तर त्यस घटनाले ज्याजको राम्रो मार्केटिङ हुन पुग्यो ।
कम्पनी सुरु गर्ने बेला उनीहरू परिपक्व भइसकेका थिएनन् । लक्ष्य, विचार, जोस, सोच टन्नै थियो । तर पर्याप्त काम आइरहेको थिएन । असर स्वरूप उनीहरूले पैसा कमाउन सकिरहेका थिएनन् । अर्कोतर्फ भविष्य बनाउनुपर्ने दबाब पनि त उत्तिकै थियो ।
उनीहरूलाई यो दुई कुराले निकै सतायो । अन्ततः ज्याज बन्द गरेर एक्लाएक्लै लागौं भन्ने विन्दुसम्म उनीहरू पुगे । तर जसरी पनि ज्याजलाई अघि लान्छु भन्ने सोच अनिलमा थियो । किनकी उनलाई आफ्नो क्षमता छ भन्नेमा विश्वास आइसकेको थियो ।
यता कम्पनीमा त्यस्तो माहोल सिर्जना भएपछि अर्का सह-संस्थापक लवेस श्रेष्ठ बाहिरिए । तेजस्वी र अनिलले भने साझेदारका रूपमा ज्याजलाई अघि बढाउन लागे । तर तेजस्वी पनि अष्ट्रेलिया हानिए । यद्यपि ‘ज्याज प्रोडक्सन अष्ट्रेलिया’ नामक कम्पनी खोलेर त्यहीँबाटै तेजस्वीले पनि प्रोडक्सनको काम गरिरहेका छन् । बेलाबेला अनिललाई आवश्यक सहयोग पनि गरिरहेकै छन् ।
अनिल भने नेपालमै बस्ने निर्णय गरे । पछि विस्तारै उनले काम पाउन थाले । त्यसबेला विदेश जान पासपोर्ट बनाइसकेका अनिलले यदि त्यस्तो नसोचेका भए सायद ज्याज, आजको ज्याज हुन्न थियो ।
'ज्याज' नाम र अर्थ
अन्य सहसंस्थापक सक्रिय भूमिकाबाट बाहिरिएकाले आजभोलि कम्पनीको अघिल्लो भागमा अनिल देखिन्छन् । हुन त उनी जोडिनुअघि नै ज्याज प्रोडक्सन जन्मिसकेको थियो । यसकारण ज्याज नाम उनले राखेका होइनन् । अन्य सह-संस्थापकले यो नाम जुराइसकेका थिए । अहिले भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिका उनी छन् ।
चाहेको भए अनिलले कम्पनीको नाम परिवर्तन गर्न सक्थे । तर उनलाई यो नाम औधी मन पर्यो । ज्याज १९औं शताब्दीको उत्तरार्द्ध र २०औं शताब्दीको प्रारम्भमा अफ्रिकी-अमेरिकी समुदायले सुरुआत गरेको सङ्गीतको एउटा लोकप्रिय विधा हो । कम्पनीको दर्शन र नाम ज्याजसँग मिलेकाले उनले यसलाई निरन्तरता दिए ।
“प्राय: ज्याज सङ्गीतकार सङ्गीतलाई अझ सुमधुर बनाउन बजाउँदै जाँदा सुधार गर्दै जान्छन्,” उनी भन्छन्, “हामी पनि सुधारमा विश्वास गर्छौं । एक-अर्कालाई सहयोग गर्दै अगाडि बढ्ने हाम्रो दर्शन छ । ज्याजले हाम्रो त्यो दर्शनलाई न्याय गर्छ ।”
त्यस्तै कम्पनीको लोगो उनी आफैंले तयार पारेका हुन् । लोगो स्याक्सोफोन आकारमा छ । अङ्ग्रेजी अक्षर ‘जे’ आकार मा छ । जसले ‘ज्याज’ सङ्गीत र ज्याज नाम दुवैको प्रतिनिधित्व गर्छ ।
अनिल आफ्नो कम्पनीको ब्रान्डिङ लोगोबाट भएको जहिल्यै चाहन्थे । त्यही सोचलाई साकार पार्न उनले ‘ज्याज अवतार्स’ नामक परियोजना चलाइरहेका छन् ।
यस परियोजनाको काम लोगोलाई सकेसम्म विभिन्न चाडपर्व अनुकूल रिडिजाइन गरेर कम्पनीको ब्रान्डिङ गर्नु हो । यस परियोजनाले आफ्नो लोगोलाई धेरैले सम्झन सक्ने बनाउने उनी विश्वास गर्छन् । अहिलेसम्म त्यसरी विभिन्न चाड अनुसार ज्याजले आफ्नो लोगो ५० भन्दा बढी रिडिजाइन गरिसकेको छ ।
ज्याजको उकालो बाटो
सुरुआतको समयमा उकाली त कहिले ओरालीको अनुभव भोगेको ज्याजको कथा उत्तिकै रोचक छ । सायद तिनैले अहिले ज्याजलाई आजको स्थानमा पुर्याएको हो ।
हालका लागि ज्याजको विज्ञता राम्रा टिभी कमर्सियल बनाउनु हो । जुन हेर्दा राम्रो मात्र देखिन्नन्, बरु प्राविधिक रूपमा/सौन्दर्य चेतका रूपमा/फिल्म मेकिङका रूपमा उत्तिकै अब्बल पनि हुन्छन् ।
सन् २०१७ मा थम्सन एजेन्सीको सहयोगमा ज्याजले पहिलो पटक 'हिरो अचिभर बाइक'को टिभी कर्मसियल बनाउने मौका पाएको थियो । त्यो परियोजना पाउनु ज्याजका लागि ‘ब्रेक थ्रु’ भएको अनिल सुनाउँछन् । किनकी त्यसपछि ज्याजलाई पछाडि फर्केर हेर्नु परेको छैन ।
अहिलेसम्म आइपुग्दा नेपालमा उत्कृष्ट टिभीसी बनाउने प्रोडक्सन हाउसमा ज्याजको नाम अगाडि आउँछ । र उनीहरू त्यसैमा केन्द्रित पनि भएका छन् ।
अहिलेसम्म ज्याजले विभिन्न प्रख्यात ब्रान्डका १०० बढी टिभीसी, विभिन्न गायक तथा ब्यान्डका ५० बढी म्युजिक भिडिओ र आफ्नै इन-हाउस १० बढी शर्ट फिल्म बनाइसकेको छ । त्यसमाथि भीएफएक्स, सीजीआई, एनिमेसन लगायतका प्रविधि प्रयोग गरेर भिडिओ निर्माण गर्नेमा पनि ज्याज अगाडि नै छ ।
कसरी हुन्छ ज्याजमा काम ?
ज्याजले बनाउने भिडिओमा प्राय: अनिल निर्देशकको भूमिकामा देखिन्छन् । अनि निर्माता र व्यवस्थापकको भूमिकामा पुनम शाक्य । सम्बन्धको कुरा गर्दा पुनम र शाक्य युगल जोडी हुन् । यसरी उनीहरूले सँगै मिलेर ज्याज चलाइरहेका छन् पनि भन्न सकिन्छ ।
विशेषत: टिभीसी बनाउने भएकाले ज्याजले विभिन्न ब्रान्ड र एजेन्सीसँग सहकार्य गर्नुपर्ने हुन्छ । यसका लागि उनीहरू निकै नियमबद्ध काम गर्छन् । अनिलकै भाषामा सुरुमा ज्याजलाई एजेन्सी वा ब्रान्डले प्रस्ताव आउँछ ।
कतिपय अवस्थामा टिभीसीका लागि उतैबाट ‘स्टोरी’ र ‘स्क्रिप्ट’ छिनोफानो भएको हुन्छ त कतिपय अवस्थामा केही तयार नै भएको हुँदैन । यदि ‘स्टोरी’ र ‘स्क्रिप्ट’ उतैबाट आएको छ भने उनीहरूले त्यसैमा आधारित भएर ‘कस्टिङ प्रपोजल’ बनाउँछन् ।
विशेषत: यसमा शुटिङ गर्न कति दिन लाग्छ, कुन क्यामेरा प्रयोग हुन्छ, कति कलाकार चाहिन्छ, कति बजेट लाग्छ लगायतका विषय समेटिएको हुन्छ ।
उक्त प्रस्तावमा ब्रान्ड वा एजेन्सी सहमत भएपछि ज्याजले प्रिप्रोडक्सनको काम सुरु गर्छ । यस अन्तर्गत उनीहरूले क्लाइन्टलाई एउटा प्रेजेन्टेसन दिन्छन् ।
जसमा स्क्रिप्टको आधारमा तयार पारिएको स्टोरी बोर्ड, प्रोडक्सन डिजाइन, वारड्रप, प्रप्स, लाइटिङ सेटअपको थ्रीडी डिजाइन, लोकेसन, कास्टिङ आदि विषय राखिएको हुन्छ ।
यो चरण पूरा भएपछि ज्याजले कास्ट (कलाकार)सँग बसेर रिहर्सल, वर्कशप गर्छ । त्यसपछि सबै कुरा निश्चित भएपछि बल्ल शुटिङ गर्न ज्याज तयार हुन्छ ।
यही समयमा मेकअप आर्टिस्ट, वारड्रप आर्टिस्ट लगायतलाई आउटसोर्स गर्ने र क्यामेरा, लाइट लगायतका सामग्री सङ्कलन गर्ने काम हुन्छ ।
त्यसपछि शुटिङको काम हुन्छ । ज्याजको विशेषता शुटमै हुँदा उनीहरूले कस्तो खालको सामग्री बन्छ भनेर ड्राफ्ट देखाउन सक्छन् ।
यसका लागि उनीहरूले शुटिङको लोकेसनमा नै कम्प्युटर सेटअप बनाएर काम गर्छन् । त्यसो हुँदा यदि कतै कुनै सुधार गर्नु पर्ने गरी हाल्छन् । यसो गर्दा भविष्यमा फेरी शुट गर्नुपर्ने बाध्यता हटाउने अनिल बनाउँछन् ।
शुटिङको कामपछि ‘पोस्ट प्रोडक्सन’को काम सुरु हुन्छ । यस अन्तर्गत भिडिओ एडिटिङ गर्ने, एनिमेसनको काम भए गर्ने, साउन्ड डिजाइनको काम गर्ने लगायतका काम हुन्छ ।
अहिले भोइस ओभर वा गीत बनाउन ज्याजले आउटसोर्सिङ गर्छ । यसका लागि अडिओ स्टुडियो भने ज्याजको आफ्नै छ । अडिओको काम सकेपछि उनीहरूले भिडिओ सामग्रीलाई अन्तिम रूप दिन्छन् । यसरी तयार हुने टिभीसी विभिन्न टेलिभिजन कार्यक्रम, युट्युब आदिमा बज्न थाल्छन् ।
यी सबै काम ज्याजले दुई-चार दिन भित्रमा गरेको अनुभव पनि छ । तर त्यसो गर्दा नतिजा गुणस्तरीय नहुन सक्छ । राम्रो टिभीसी तयार पार्न कम्तीमा एक महिनाको समय चाहिने अनिल बताउँछन् ।
ज्याजले प्रयोग गरिरहेको प्रविधि, जनशक्ति
राम्रो टिभीसी बनाउन ज्याज आफैंले क्यामेरा किनेको छैन । बरु आवश्यक पर्ने क्यामेरा भाडामा लिएर काम गर्छ । किनकी क्यामेरा बडी, लेन्स, ट्राइपड, फोकस पुलिङ, मनिटर सहितको सेटअप किन्दा एउटै क्यामेरा करोडौँ रुपैयाँ पर्ने भएकाले भाडामा लिएर काम गरिरहेको अनिल बताउँछन् ।
उनका अनुसार ज्याजले स-साना परियोजनाका लागि ब्ल्याक म्याजिक, सोनी एफएक्स थ्री जस्ता क्यामेरा प्रयोग गर्छ । ठूला परियोजनाका लागि रेड हेलियम, रेड एपिक ड्रागन र अझ विशेष परियोजनाका लागि आरी एलेक्सा प्रयोग गर्छ । ‘बिहाइन्ड द सिन’ खिच्न भने ज्याजले सोनी ए सेभेन एस टू क्यामेरा प्रयोग गर्छ ।
आफैंले सेट बनाउन परे अथवा ग्रिन स्क्रिन प्रयोग गर्न परे मह स्टुडियो, एनएफटीसी, सिनेपाल जस्ता स्टुडियो पनि ज्याजले भाडामा लिने गर्छ ।
सरल तरिकाले बुझ्दा क्यामेरा, लाइट, स्टुडियो लोकेसन ज्याजले भाडामा लिएर काम गर्ने गर्छ । परियोजनाका आधारमा यी चिज निर्धारण हुने अनिलको भनाइ छ ।
कहिलेकाहीँ अडिओ/भिडिओ सामग्री निर्माण गर्ने क्रममा विचारका लागि आफूहरूले एआई टुल पनि प्रयोग गर्ने उनी बताउँछन् । यसका लागि टेक्स्ट र इमेज जेनेरेट गर्ने एआई टुल बढीजसो प्रयोग गर्ने उनको भनाइ छ ।
“कलर ग्रेडिङ गर्न, अडिओ बनाउन, स्टोरी बोर्ड तयार पार्न सहयोगी टुलका रूपमा एआई चलाइरहेका हुन्छौं,” उनी भन्छन् ।
ज्याजको अडिओ स्टुडियोमा डबिङ, रेकर्डिङ, म्युजिक प्रोडक्सन, मिक्सिङ मास्टरिङको काम हुन्छ । भिडिओ जति महत्त्वपूर्ण हुन्छ, अडिओ पनि त्यति नै महत्त्वपूर्ण हुन्छ ।
तर धेरैले भिडिओलाई ९० र अडिओलाई १० प्रतिशत ध्यान दिने गर्नाले अन्तिममा राम्रो नतिजा नआउने अनिलको धारणा छ । यसकारण आफूहरूको ध्यान भिडिओ र अडिओमा बराबर हुने उनी सुनाउँछन् ।
अहिलेको समयमा ज्याजसँग इनहाउस रूपमै सिनेमाट्रोग्राफर, एडिटर, साउन्ड डिजाइनर, भिएफएक्स आर्टिस्ट छन् ।
भविष्यको ज्याज
भविष्यमा फिचर फिल्म बनाउनु ज्याजको लक्ष्य हो । अझ साइन्स फिक्सन (साई-फाई) र एनिमेटेड विधाका उत्कृष्ट फिल्म बनाउनु ज्याजको लक्ष्य हो । त्यसका लागि अहिले आधार निर्माण भइरहेको मान्छन् अनिल । किनकी टिभीसी तयार पार्दा उनीहरूले पर्याप्त अभ्यास गर्न पाउँछन् ।
टिभीसीमै पनि उनीहरूले एनिमेसन र भीएफएक्स प्रयोग गरिरहेका छन् । यसका लागि अनिलको अर्को कम्पनी पनि छ, क्यूआई एनिमेसन स्टुडियो । यसको पनि रोचक कथा छ । एनिमेसन अनिलको रुचिको विषय हो ।
अनिलले एनिमेसनमा काम गर्न सहकार्य गर्न खोजिरहेका थिए । ठीक सो समयमा राज प्रधान र नयन श्रेष्ठसँग उनको भेट भयो । उनीहरूको विचार मिल्यो । त्यसपछि भीएफएक्स, सीजीआई, एनिमेसनको काम गर्न सो कम्पनी खडा भएको थियो ।
आवश्यक परेको अवस्थामा ज्याजले क्यूआई एनिमेसन स्टुडियोका जनशक्ति पनि प्रयोग गरिरहेको हुन्छ । यी दुवै कम्पनी मिलेर 'गुलेली' नामक शर्ट फिल्म केही महिनामै सार्वजनिक गर्दै छन् । यो सुपर हिरो विधाको फिल्म हुने अनिलको भनाइ छ । यसका लागि पर्याप्त मात्रामा भीएफएक्स, सीजीआई, एनिमेसनको प्रयोग गरिने छ ।
हुन त यसअघि टिभीसीमै पनि अनिलले यसको सफल प्रयास गरिसकेका छन् । तर नेपालमा यिनको बजार सीमित भएकाले र कतिपय ब्रान्डले स्थानीय एनिमेसन स्टुडियोको काममा विश्वास नगर्ने भएकाले समस्या हुने उनी बताउँछन् । यद्यपि नेपाली जनशक्ति प्रयोग गरेर नेपालमै बसेर आगामी दिनमा भीएफएक्स, सीजीआई, एनिमेसन प्रयोग गरेर विश्वस्तरीय फिल्म बनाउनेमा उनी र उनको टिमको योजना छ ।