close

आधा घण्टामै ८०% चार्ज हुने, ब्याट्रीमा ४ वर्ष ग्यारेन्टी भएको भिभो भी३० लाइट नेपाली बजारमा

टेकपाना टेकपाना

बैशाख २, २०८१ १८:५९

आधा घण्टामै ८०% चार्ज हुने, ब्याट्रीमा ४ वर्ष ग्यारेन्टी भएको भिभो भी३० लाइट नेपाली बजारमा

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा आफ्नो नयाँ स्मार्टफोन भिभो भी३० लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । कार्यक्षमता र कार्यसम्पादनको राम्रो सम्मिश्रणको रूपमा रहेको स्टाइलिस फोन नयाँ वर्षकै दिन अर्थात् १ वैशाखदेखि बजारमा आएको हो ।

८० वाटको फास्ट चार्जिङ, ५० मेगापिक्सेलको उच्च रेजोलुसन क्यामेरा र १२० हर्जको एमोलेड डिस्प्ले रहेको स्मार्टफोन भिभोको सिग्नेचर कलर चेन्जिङ डिजाइनमा बनेको छ । डुअल स्टेरियो स्पिकर सेटअपको साथ इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यो फोनले गुणस्तरका हिसाबले स्पष्ट दृश्य र इमर्सिभ ध्वनि प्रदान गर्ने कम्पनीको भनाइ छ ।

चलचित्र, सङ्गीत र खेलमा जीवन्त अनुभव प्राप्त गर्न सकिने यो फोनमा अप्टिकल इन-डिस्प्ले फिंगर प्रिन्ट सेन्सर राखिएको छ । पातलो र तौलका हिसाबले हलुका भिभो भी ३० लाइटलाई मेटालिक हाइग्लस फ्रेमको प्रिमियम फिनिस दिएको छ ।

७.७९ मिलिमिटर बाक्लो र १८९ ग्राम तौल रहेको भी ३० लाइटको पछाडि भाग सूर्यको प्रकाशमा चम्किनुका साथै अल्ट्रा भायोलेट किरणमा हरियो रङ्गमा देखिन्छ । यो फोनको लुक मात्र नभई यसमा रहेको ५० मेगापिक्सेल क्यामेरा र फ्लिकर फ्रि सेन्सरले असहज प्रकाशको स्थितिमा पनि आकर्षक तस्विर र भिडिओ खिच्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।

८+८ जीबीको विस्तार गर्न मिल्ने र्‍यामका साथै २५६ जीबी स्टोरेज रहेकोे यो फोनमा स्न्यापड्रागन ६८५ चिपसेट राखिएको छ । ५००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको भिभो भी ३० लाइट ८० वाटको फ्ल्याश चार्जरबाट ३० मिनेटमै ८० सम्म चार्ज हुन्छ । कम्पनीले लामो समयसम्म ब्याट्री टिक्ने सुनिश्चितताका लागि त्यसमा चार वर्ष सम्मको एन्टी–एजिङ ग्यारेन्टी दिएको छ ।

३३ हजार ९९९ रुपैयाँ मूल्य राखिएको यो फोन २ वैशाखदेखि भिभोका सम्पूर्ण आधिकारिक रिटेल स्टोर र दराज अनलाइनमार्फत उपलब्ध भएको छ । नयाँ वर्षको विशेष अवसरको रूपमा भिभोले सुरुवाति दुई हजार ग्राहकका लागि निःशुल्क क्लिप बड्सको पनि व्यवस्था गरेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १८:५९