close

सिङ्गो परिवार नै अनलाइन ठगीमा संलग्न, प्रमाण लुकाउन सर्वसाधारणका नागरिकता दुरुपयोग

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख ३, २०८१ १७:६

सिङ्गो परिवार नै अनलाइन ठगीमा संलग्न, प्रमाण लुकाउन सर्वसाधारणका नागरिकता दुरुपयोग

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनलाइन ठगीमा परेको भन्दै दिनहुँजसो उजुरी दिनेहरू आइरहेका हुन्छन् । खासगरी सामान पाउने आशामा रकम पठाएर जिल्ल पर्नेहरूले दिएका उजुरीको चाङ नै छ, कार्यालयमा । ठगीका शैली दिनहुँ नयाँ नयाँ आइरहेका हुन्छन् । शैली अनुसार ठगी गर्ने गिरोह पनि फरक फरक ।

यसरी आएका कैयन् उजुरीलाई विश्लेषण गर्दै जाँदा विदेशबाट पार्सल पठाइदिने नाममा सोझा नेपालीलाई ठग्ने एक गिरोह गत बुधबार  झापाबाट पक्राउ पर्‍यो । पक्राउ पर्नेमा अर्जुनधारा-९, झापाकी ३८ वर्षीय रश्मी विश्वकर्मा भन्ने सन्जू पौडेली, उनका श्रीमान् ३५ वर्षीय निश्चल पोर्तेल र उनका भतिज पर्ने ३४ वर्षीय धनबहादुर बिक रहेका छन् । 

कसरी हुन्छ पार्सलका नाममा ठगी ?

ठगले सबैभन्दा पहिला विभिन्न उपाय लगाएर कसैको नागरिकता हात पार्छन् । यस्तोमा भेटिएका, फेला पार्नेहरूबाट मागिएका र सेवाग्राहीले विभिन्न ठाउँमा छोडेका नागरिकता प्रयोग गरेर उनीहरूले सिम कार्ड निकाल्छन् । र, ती सिमकार्ड प्रयोग गरी ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम जस्ता अकाउन्ट खोल्छन् । अनि सर्वसाधारणसँग जोडिएर नजिक हुन खोज्छन् । 

कुराकानीकै क्रममा आफू विदेशमा रहेको भन्दै महँगा सामान, गरगहना पठाइदिने प्रलोभन देखाउन थाल्छन् । सर्वसाधारणले उनीहरूको कुरा विश्वास गरिसकेपछि सामान भन्सारमा पुगेको भन्दै त्यसबापत कर तिर्नुपर्ने बाहना निकाल्छन् र रकम पठाउन लगाउँछन् । 

यस्तै गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेको गिरोहकी मुख्य सदस्य भनिएकी पौडेली निशानामा पारिएका सर्वसाधारणलाई आफू त्रिभुवन विमानस्थलको कुरियर सिनियर अधिकृत भन्थिन् । र, पीडित व्यक्तिले कतिसम्म रकम दिन सक्छ भन्ने मूल्याङ्कन गरेर सकिने जति रकम असुल्थिन् । अनि अन्तिममा सबै टोली फरार हुन्थ्यो । 

ठगी गरेको रकम माग्न अरूको बैंक अकाउन्ट र वालेट !

अनुसन्धानका क्रममा प्रहरीले आरोपित व्यक्तिबाट विभिन्न व्यक्तिका छ थान नागरिकता बरामद गरेको छ । त्यसमध्ये आरोपित पौडेलीको साथबाट बरामद भएको एउटा नागरिकता रश्मी विश्वकर्माको थियो । पौडेलीले सोही नागरिकतामा आफ्नो फोटो राखेर त्यसलाई विभिन्न शैलीले प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 “उनीहरूले कतै भेटेको नागरिकतालाई नै सबैभन्दा पहिले आफ्नो हतियार बनाउँदा रहेछन्,” अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, “त्यो नागरिकतामा रहेको फोटो झिक्छन् र सक्कली जस्तो देखिने गरी आफ्नो फोटो टाँसेर सिम निकाल्न जान्छन् । सिम निकालिसकेपछि त्यही नागरिकता प्रयोग गरेर बैंक अकाउन्ट र वालेट खोल्छन् ।”

यसरी अरूको नागरिकतामा आफ्नो फोटो राख्दा बैंक तथा मोबाइल सेवा प्रदायकका सिम वितरकले वास्तविक व्यक्ति नै आएको ठान्छन् । यसरी सिम निकाल्छन् र बैंकमा गएर खाता खोल्छन् । 

यसरी अरूकै नामको बैंक अकाउन्ट बनाएर पीडितलाई रकम त्यसैमा जम्मा गर्न लगाउँछन् । त्यसो हुँदा पीडितले वास्तविक व्यक्ति पहिचान गर्न सक्दैनन् । उनीहरूले सर्वसाधारणलाई ठगी गर्न यसरी नै नयाँ शैली अपनाएको देखिन्छ । 

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनीहरू एउटा व्यक्तिलाई निशानामा पार्न विभिन्न मोबाइल नम्बर र बैंक अकाउन्ट प्रयोग गर्छन् । ती प्रहरी अधिकारी भन्छन्, “पीडितलाई आफू ठगिन लागेको कुरा थाहा नहोस् भनेर पनि होला उनीहरू हरेक पटक ठगी गर्दा नयाँ नम्बर, अरूकै नागरिकता र बैंक अकाउन्ट प्रयोग गर्ने रहेछन् ।” हालसम्म पौडेलीले विभिन्न व्यक्तिको नागरिकता प्रयोग गरेर १६ ओटा बैंकमा खाता खोलेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

पौडेलीका श्रीमानको भारतीय आधारकार्ड 

सर्वसाधारणलाई नेपालबाट ठगी गरेको रकम निकाल्नका लागि यो समूहले भारतको आधारकार्ड प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खासगरी नेपालकै बैंक अकाउन्टबाट रकम निकाल्दा पहिचान हुने र प्रहरीले पक्राउ गर्नसक्ने डरले आरोपित निश्चल पोर्तेलले भारतीय आधारकार्ड बनाएका थिए । 

त्यही आधारकार्ड प्रयोग गरी खोलेको भारतीय बैंक अकाउन्टमा उनी नेपालबाट ठगी गरेको रकम पठाउँथे । र, त्यहींबाट रकम निकाल्ने गर्थे । यसरी रकम निकाल्दा पीडितको रकम कहाँबाट झिकिएको छ भन्ने पहिचान गर्न प्रहरीलाई सकस परेको थियो । 

पाँच वर्षदेखि ठगीमा सक्रिय

प्रहरीसँग बयानको क्रममा आरोपितले आफू दुई वर्षदेखि यस्तो ठगी धन्दामा लागेको बताएका थिए । तर, अनुसन्धानमा खटिएका अधिकारी भने उनीहरूले बताएको त्यो कुरा विश्वास गर्दैनन् । ठगी गर्ने शैली, बरामद भएका सामान आदि विश्लेषण गर्दा ती आरोपी झन्डै पाँच वर्षदेखि यस किसिमको ठगी धन्दामा सक्रिय रहेको प्रहरीको निष्कर्ष छ । 

प्रहरी अधिकारीका अनुसार पक्राउ परेकी पौडेलीका भाइ अनलाइन ठगी गरेकै आरोपमा गत वर्ष पक्राउ परेका थिए । अहिले उनी डिल्लीबजार कारागारमा छन् । उनकी दिदी पनि त्यसरी नै ठगी गरेको कसुरमा भारतको जेलमा सजाय काटिरहेकी छिन् । 

उनका हुनेवाला भिनाजु सुरज मगर पनि यही प्रकरणमा मुछिएका छन् । उनलाई प्रहरीले खोजिरहेको छ; तर आरोपित मगर फरार छन् । यो टोलीले अनलाइन ठगीको धन्दा भारतबाट सिकेको र त्यसलाई विगत लामो समयदेखि नेपालमा लागु गरेर सोझा नेपालीलाई ठगिरहेको प्रहरीको बुझाइ छ । 

सिमकार्ड प्रयोग गर्ने तरिका 

उनीहरूले अरूकै कागजात प्रयोग गरेर निकालेको सिमलाई एक पटक मात्र प्रयोग गर्थे । प्रहरीले बरामद गरेका केही सिम कार्डमाथि फाल्नुपर्ने लेखिएको छ भने केहीमा प्रयोग गर्नुपर्ने लेखिएको छ । ती अनुसन्धान अधिकृत भन्छन्, “उनीहरूले एउटा व्यक्तिलाई ठगी गर्न एउटा सिम प्रयोग गर्ने रहेछन् । सिम प्रयोग गरिसकेपछि त्यसको माथि फाल्नुपर्ने सिम भन्ने सङ्केत राख्दा रहेछन् । रकम आइसकेपछि सिम नष्ट गर्ने गरेको देखियो ।”

उनीहरूबाट प्रयोग भएका १४ थान र प्रयोग नभएका एनसेलका १२ थान सिम बरामद भएका छन् । त्यस हिसाबले पनि उनीहरूबाट पार्सल पाउने नाममा ठगिने सर्वसाधारणको सङ्ख्या थुप्रै रहेको हुनसक्ने प्रहरीको आशंका छ । 

हालसम्म उनीहरूले ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रमाण प्रहरीले फेला पारेको छ । कतिपय पीडितलाई उनीहरूले नै ठगेका हुन् भन्ने थाहा नहुन सक्छ । त्यसैले रश्मी विश्वकर्माको नाममा रकम पठाएर ठगीमा परेका सर्वसाधारणलाई प्रहरीले कार्यालयमा उजुरी दिन आग्रह समेत गरेको छ । 

नागरिकता हराए उजुरी दिन प्रहरीको सुझाव

“नेपालमा नागरिकता प्रमाणित गर्ने संयन्त्र नै छैन,” अनुसन्धानमा खटिएका ती अधिकारी भन्छन्, “त्यसैको फाइदा उठाउँदै अर्काको नागरिकतामा आफ्नो फोटो राखेर त्यसैलाई विभिन्न बैंक अकाउन्ट, वालेट र सिम कार्डका लागि प्रयोग गर्ने प्रवृत्ति निकै बढेको छ । त्यसैले सर्वसाधारणहरूले आफ्ना कागजात दुरुपयोग नहोउन् भन्ने कुरामा सजग हुनुपर्छ ।”

कसैले कागजात फेला पारेको छ भने त्यस्ता कागजात दुरुपयोग हुने सम्भावना उच्च हुन्छ । यदि त्यसलाई कसैले दुरुपयोग गरेको छ भने अन्तिममा जसको कागजात दुरुपयोग भएको हो, ऊ नै फस्ने सम्भावना उच्च हुन्छ । त्यसैले कागजात, मोबाइल फोन वा अन्य सामग्री हराउँदा समयमै नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीको सुझाव छ । 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८१ १८:२१