close

अपुतालीको धन उपलब्ध गराइदिने भन्दै सोझा नेपालीलाई अनलाइनबाट ठगी गर्ने भारतीय गिरोह पक्राउ

टेकपाना टेकपाना

साउन २३, २०८१ १५:५५

अपुतालीको धन उपलब्ध गराइदिने भन्दै सोझा नेपालीलाई अनलाइनबाट ठगी गर्ने भारतीय गिरोह पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने भारतीय गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइन ठगीमा संलग्न नौ जना भारतीय नागरिकलाई सार्वजनिक गरेको हो । 

जिप्रका मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उक्त गिरोहले ​हेटौंडा उपमहानगरपालिका– ४ स्थित पारिजात पथमा रहेको एक घरको पाचौं तलामा कार्यालय खोली अनलाइन ठगी धन्दा गर्दै आएका थिए ।

‘मेडि असिस्ट’ नामबाट दर्ता भएको उक्त कम्पनीले बिरामीलाई स्वास्थ्य परामर्श दिनुका साथै भारतका राम्रा अस्पतालमा सिफारिस गरिदिने बताएको थियो । तर, रातको समयमा मात्र सञ्चालनमा हुने कार्यालयबाट अवैध धन्दा भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

“हामीले त्यहाँ गएर कागजात हेर्‍यौं । उनीहरूसँग पैसाको कारोबार गरेको केही अभिलेख छैन,” टेकपानासँग कुरा गर्दै प्रहरी उपरीक्षक रिजालले भने, “उनीहरूले सेवा दिएका भनिएका व्यक्तिको कुनै पनि विवरण नभएको देखिएपछि शङ्कास्पद कारोबार भइरहेको भन्ने देखियो ।”

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सोझा नेपालीलाई अनलाइनबाट विभिन्न तरिकाले ठगी गर्थे । यसअन्तर्गत अपुतालीको धन उपलब्ध गराउने, सामान पार्सल पठाइदिने, गिफ्ट पठाउने लगायतका लोभ देखाई रकम असुली गर्न खोजिन्थ्यो ।

उक्त कार्यालय भारतका व्यक्तिले भारतकै कर्मचारी राखेर सञ्चालन गरेको देखिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

पक्राउ पर्नेमा पर्नेमा २८ वर्षीय नवनीत कुमार, २७ वर्षीय शाहरुख खान, २९ वर्षीय कुन्दन कुमार र २६ वर्षीय आशिष कब्डौला रहेका छन् । त्यस्तै भारतकै ३४ वर्षीय विशाल कक्कड, ३८ वर्षीय लोकेशकुमार दुवे, २९ वर्षीय विकासकुमार सिंह, २८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट १३ थान स्मार्टफोन, तीन थान राउटर, सात थान ल्यापटप र एउटा वेब क्यामेरा बरामद गरेको छ । 

अनुसन्धानका क्रममा उनीहरूले भारतको राँचीस्थित मुख्य कार्यालयमा मेन सर्भर राखी क्विक कल क्लाइन्ट सफ्टवेयरमार्फत काम गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८१ १६:४