close

एआई, कोडिङ र रोबोटिक्स सम्बन्धी प्रतियोगितामा भाग लिन ५१ विद्यार्थी दुबई जाँदै

टेकपाना टेकपाना

बैशाख ९, २०८१ १३:७

एआई, कोडिङ र रोबोटिक्स सम्बन्धी प्रतियोगितामा भाग लिन ५१ विद्यार्थी दुबई जाँदै

काठमाडौं । दुबईमा आगामी ४ र ५ मेमा आयोजना हुने ‘कोडेभर ५.० इन्टरनेसनल’मा सहभागी हुन ५१ जना नेपाली विद्यार्थी जाने भएका छन् । शैक्षिक संस्था स्टिमपेडियाले आयोजना गर्ने एआई, कोडिङ र रोबोटिक्स सम्बन्धी उक्त प्रतिस्पर्धामा विद्यालय तहका नेपाली विद्यार्थी जान लागेका हुन् ।

यसका लागि गत फेब्रुअरीमा स्टिमपेडियाको नेपाली साझेदार निमा एकेडेमीले राष्ट्रिय स्तरको प्रतिस्पर्धा आयोजना गरेको थियो । त्यसमा देशभरबाट करिब ४०० विद्यार्थी सहभागी भएर एआई, कोडिङ र रोबोटिक्स सम्बन्धी विभिन्न परियोजना बनाएर प्रतिस्पर्धा गरेका थिए ।

ती मध्ये उत्कृष्ट प्रदर्शन गर्ने ५१ विद्यार्थी तथा विद्यार्थी समूह दुबई जान लागेको निमा एकेडेमीले जनाएको छ । ती सबै विद्यार्थी काठमाडौंका एसिया प्यासिफिक स्कुल, काठमाडौं न्यू क्यासल स्कुल, दरबार हाई स्कुल, समृद्धि स्कुल, डियरवाक सिफल स्कुल र रिलायन्स पब्लिक स्कुलका रहेका छन्।

निमा एकेडेमीका अनुसार छनाेट भएका विद्यार्थी दुबईमा २० परियोजनामा करिब ४० देशबाट आउने विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने छन् । जहाँ रचनात्मकता, नवीनता र उद्यमशीलता लगायतका विषयका आधारमा विजेता छनोट हुनेछ । त्यसमा राम्रो गर्ने १०० सहभागीले २५ हजार डलर बराबरको पुरस्कार प्राप्त गर्ने छन् ।

यसले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्च उपलब्ध हुने तथा २१औं शताब्दीमा आवश्यक पर्ने विभिन्न सीप सिक्ने अवसर मिल्ने निमा एकेडेमीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८१ १३:१८