close

हेलिकोप्टरमा महिलासँग टिकटक बनाउने पाइलट निलम्बनमा, अब लाइसेन्स नै खारेज हुन सक्ने

टेकपाना टेकपाना

बैशाख १०, २०८१ १८:२६

हेलिकोप्टरमा महिलासँग टिकटक बनाउने पाइलट निलम्बनमा, अब लाइसेन्स नै खारेज हुन सक्ने

काठमाडौं । उडिरहेको हेलिकप्टरको ककपिटमा भिडिओ बनाएर टिकटकमा राखेपछि पाइटल निलम्बनमा परेका छन् । उडान अनुशासन तोडेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार प्रभु हेलिकोप्टरका पाइलट पासाङ शेर्पालाई निलम्बन गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट उडान अनुशासन विपरीत गएपछि उडान गर्न नपाउने गरी निलम्बन गरिएको छ । 

“टिकटक भिडिओ जे भए पनि विमान ककपिट वा हेलिकोप्टरको कन्ट्रोल प्यानलमा भिडिओग्राफी र फोटोग्राफी गर्न पाइँदैन,” टेकपानासँगको कुराकानीमा सूचना अधिकारी भुलले भने, “पाइलट, पाइलट इन कमान्ड कसैले पनि फोटो र भिडिओ बनाउन पाउँदैन ।”

उनले अगाडि भने, “दोस्रो कुरा युवतीसँगै बसेर कन्ट्रोल प्यानलको जुन सेन्सेटिभ इक्युपमेन्ट हुन्छ, त्यो इक्युपमेन्ट चलाउँदै जिस्काउँदै उसलाई सिकाउँदै, त्यो पनि फ्लाइटमा हुँदा जुन बानी व्यवहार देखाइएको छ, त्यो इनफ्लाइटको सेफ्टीका लागि संवेदनशील व्यवहार हो ।”

यसरी पाइलटले व्यावसायिक मर्यादा विपरीतको काम गरेपछि र नियम पालना नगरेपछि उनलाई सक्रिय ड्युटीबाट निलम्बन गरिएको भुलले सुनाए । अहिले ती पाइलटमाथि उडान गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । “अब थप अनुसन्धान हुँदै गएपछि अरू कारबाही के गर्ने, जरिबाना के गर्ने, लाइसेन्स खारेज गर्ने कि के गर्ने भनेर आन्तरिक तवरबाट अनुसन्धान हुन्छ । त्यसको रिपोर्ट आइसकेपछि कारबाही बारे थप विषय थाहा हुन्छ,” उनले थपे । 

 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १८:२६