close

सगरामाथाको फोहोर ल्याउन डीजेआई ड्रोन फ्लाइकार्ट ३० को परीक्षण सुरु

सुनीता साखकर्मी सुनीता साखकर्मी

बैशाख २०, २०८१ १३:५९

सगरामाथाको फोहोर ल्याउन डीजेआई ड्रोन फ्लाइकार्ट ३० को परीक्षण सुरु

काठमाडौं । सगरमाथा क्षेत्रमा जम्मा भएको फोहोर ल्याउने कार्यमा ड्रोन प्रयोग गर्न आवश्यक परीक्षण सुरु भएको छ । १७ वैशाखदेखि सुरु भएको परीक्षणमा सगरमाथाको क्याम्प १ मा रहेको फोहोर सङ्कलन गरी ड्रोनको माध्यमबाट आधारशिविरसम्म ल्याइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‌मा छिरि शेर्पाले जानकारी दिए ।

परीक्षण सुरु भएको तीन दिनमा ड्रोनले सगरमाथाको क्याम्प १ मा रहेको ११० केजी फोहोर आधार शिविरसम्म ल्याउन सफल भएको उनले बताए । शेर्पाका अनुसार गाउँपालिकाले एक महिना अघि सगरमाथाको फोहोर सङ्कलन गर्न ड्रोनको परीक्षण गर्ने योजना बनाएको थियो । सोही अनुरूप गाउँपालिकाले ड्रोन परीक्षण गर्न एअरलिफ्ट नेपाल कम्पनीसँग मिलेर तयारी थालेको थियो । एअरलिफ्टकै माध्यमबाट चीनको डीजेआई (दा जियांग चुआंगसिन) कम्पनीबाट ड्रोन ल्याइएर परीक्षण भइरहेको समेत उनले जनाए । यसका लागि गाउँपालिकाले गृह मन्त्रालयबाट स्वीकृति समेत लिएको थियो ।

उनका अनुसार सुरुमा ड्रोनले फोहोर ल्याउनको लागि आवश्यक पर्ने १८ केजी सामग्रीहरू आधारशिविरबाट माथि क्याम्प १ मा पुर्‍याएको थियो । त्यसै गरी परीक्षण भएको ३ दिनसम्ममा पटकपटक गरी ड्रोनले ११० केजी फोहोर आधारशिविरमा ल्याइसकेको छ ।

“यसका लागि डीजेआईले ‘फ्लाईकार्ट ३०’ मोडेलको दुई ओटा ड्रोन पठाएको थियो । अहिले क्याम्प १ बाट सगरमाथा आधार शिविरसम्म फोहोर ल्याउन एउटा मात्रै ड्रोनको परीक्षण भइरहेको छ,” उनी भन्छन्, “उक्त ड्रोनको क्षमता ३० केजी बोक्नसक्ने रहेछ । तर हाई अल्टिट्युडका कारण ३० केजी बोक्न सकेन, १८ केजीसम्म चाहिं मज्जाले बोक्यो ।”

फोहोर सङ्कलनमा ड्रोनको परीक्षणका लागि प्राविधिकहरू आधारशिविर र क्याम्प १ मा बसेका छन् । उक्त कार्यमा एअरलिफ्टका ६ जना प्राविधिक, डीजेआईका एक जना प्रतिनिधि र उनीहरूको सहयोगीको रूपमा गाउँपालिकाका व्यवस्थापकहरू खटिएका छन् । प्राविधिकहरूको खानेबस्ने व्यवस्था भने गाउँपालिकाले नै मिलाइरहेको छ ।

सगरमाथामा विभिन्न खालका फोहोर छन् । जसमध्ये मुख्यतः मानव मलमूत्र ल्याउने कार्यमा ड्रोनको प्रयोग गरिने योजना गाउँपालिकाको छ । साथै गाउँपालिकाको लक्ष्य सगरमाथाको क्याम्प २ मा रहेका फोहोरहरू पनि ड्रोनको मद्दतले आधारशिविरसम्म ल्याउन सकिन्छ वा सकिंदैन भन्नेमा परीक्षण गर्नु रहेको छ । अध्यक्ष शेर्पाका अनुसार यो परीक्षण जारी सिजनभर चल्नेछ । अहिले क्याम्प १ सम्म परीक्षण चलिरहेको छ । बिस्तारै क्याम्प २ मा पनि परीक्षण सुरु हुने जानकारी उनले दिए । 

“प्राविधिक रूपमा यो काम सम्भव छ भन्ने देखियो, तर आर्थिक रूपमा सम्भव छ कि छैन भन्ने विषयका लागि यो परीक्षणको विस्तृत रिपोर्ट बनाउँछौं,” उनी भन्छन्, “त्यसबाट यो दीर्घकालका लागि उपयोगी र किफायती हुन्छ भन्ने रह्यो भने ड्रोन किनेर आरोहण अवधिभर क्याम्प १ र क्याम्प २ मा बस्ने शेर्पाहरूलाई ड्रोन चलाउन सिकाएर फोहोर जम्मा गर्ने र ल्याउने काम गर्ने योजना छ ।”

सगरमाथा फोहोर र प्रदूषित हुँदै गएको समाचार बेला बेला आइरहन्छ । त्यसैले अहिले सगरमाथा आरोहीले आफ्नो फोहोर आफै बोक्ने नियम छ । तर यो नियम पहिला भने लागु थिएन । सगरमाथा आरोहणमा जाने आरोहीले ‘गार्बेज डिपोजिट’ मार्फत निश्चित रकम बुझाउँछन् । सोही अनुरूप अहिले प्रत्येक आरोहीले आफ्नो ८ केजी फोहोर साथमा ल्याउनुपर्ने प्रावधान बनेको छ । यदि फोहोर नल्याएमा गार्बेज डिपोजिटको रूपमा राखिएको चार हजार अमेरिकी डलर फिर्ता दिइँदैन । पछिल्लो समयमा यो नियम राम्रोसँग कार्यान्वयन भइरहेको गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् । उनका अनुसार सगरमाथामा अहिले धेरै फोहोर छैन । सरसफाइ अभियानहरू बेलाबेलामा सञ्चालन भएकाले पनि सगरमाथा अलि सफा भएको उनी बताउँछन् । 

“सगरमाथामा कति फोहोर जम्मा भएको छ भन्ने कुनै लेखाजोखा नै छैन,” उनी भन्छन्, “खुम्बु क्षेत्रमा फोहोरको क्षेत्रमा काम गर्ने संस्था एसपीसीसी (सगरमाथा पोलुसन कन्ट्रोल कमिटी) भन्ने संस्था छ । उनीहरूको तीन जनाको टोलीले सगरमाथाको चुचुरोसम्मै पुग्ने योजना बनाएको छ । मिडियामा आएजस्तै सगरमाथा फोहोरले भरिएको हो वा होइन भनेर उहाँहरूको टोलीले प्रत्यक्ष रूपमा निरीक्षण गरेर आउनेछ । यही हप्ता उहाँहरू जाँदै हुनुहुन्छ । त्यसपछि प्राप्त हुने रिपोर्टको आधारमा थप योजना बनाउँछौँ ।”

‘डीजेआई फ्लाइकार्ट ३०’

सगरमाथा क्षेत्रमा फोहोर ओसार्न परीक्षण भइरहेको ड्रोन ‘डीजेआई फ्लाइकार्ट ३०’ मोडेलको हो ।

चिनियाँ कम्पनी डीजेआईले बनाएको यो ड्रोन विशेषगरी सामान डेलिभरीकै लागि बनाइएको हो । यसले लामाे दुरीमा पनि भारी समानहरू बोकेर लैजान सक्छ । साथै यसले दिने सिग्नल पनि शक्तिशाली हुन्छ । यसले कार्गो मोड (सामानको बाकसलाई सुरक्षित साथ बक्समा राखेर लक गर्न मिल्ने) र विन्च मोड (डोरीमा झुन्ड्याउन मिल्ने) सपोर्ट गर्छ । परम्परागत रूपमा गरिने डेलिभरी भन्दा यो सुरक्षित र किफायती हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो ड्रोनले लामो दूरीमा अधिकतम ३० केजीसम्म सामान बोक्न सक्छ । सामान बोक्दा १६ किमि र सामान नबोक्दा २८ किमिसम्मको दूरी यसले पार गर्न सक्ने बताइएको छ । साथै यो ड्रोन छ हजार मिटरको अल्टिच्युडसम्म जान सक्छ भने माइनस २० देखि ४५ डिग्रीसम्म यसले काम गर्न सक्छ । यसमा हुने दुई ओटा ब्याट्री छ घण्टासम्म टिक्न सक्छन् । यसले २० किमिसम्म भिडिओ प्रसारण गर्न सक्छ । फोरजी  भिडिओ ट्रान्समिसन र डुअल अपरेटर मोडल हुने भएकोले यसलाई  फरक ठाउँमा बसेका दुई जना ड्रोन पाइलटले एकैपटक सञ्चालन गर्न सक्छन् । साथै यसमा हाइ रिजोलुसनको गिम्बल क्यामेरा छ ।

यसमा राडार, बाइनाकुलर लगायतमा उच्च किसिमको प्रविधि भएकाले विपद्को पूर्व आँकलन गरी सुरक्षित रूपमा यात्रा तय गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै यो ड्रोनले एक घण्टामा साढे पाँच किलोमिटरको यात्रा गर्न सक्छ भने यसले प्रतिघण्टा साढे तीन किमिको गतिमा बहिरहेको हावालाई धान्न सक्छ ।

१० जनवरी २०२४ मा सार्वजनिक भएको यो ड्रोनको मूल्य ४२ हजार अमेरिकी डलर रहेको छ । अहिले गाउँपालिकाले डीजेआईसँग सहकार्य गरेर निःशुल्क रूपमा परीक्षण गरिरहेको हो । यदि परीक्षणपछि काम अगाडि बढेमा डीजेआईले सहुलियत दरमा ड्रोन उपलब्ध गराउने आश्वासन दिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । उनले भने, “गाउँपालिकाको बजेटले भ्यायो भने हामी आफै किन्छौं । नभए केन्द्र सरकार गुहार्छौं ।”

 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८१ १५:२७