काठमाडौं । सरकारले नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्ने घोषणा गरेको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रममा आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसका लागि ऊर्जा विकास मार्गचित्र २०८१ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले बताए । मार्गचित्र कार्यान्वयनका क्रममा आवश्यक पर्ने कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधारहरू गरिने पनि राष्ट्रपति पौडेलले उल्लेख गरे ।
त्यसैगरी सुक्खा याममा समेत विद्युतको मागलाई सम्बोधन गर्न र देशको ऊर्जा सुरक्षा सुनिश्चित गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत आयोजनाहरूको विकासमा जोड दिइनेछ । यी महत्त्वपूर्ण आयोजनाहरू निर्माणका लागि उपयुक्त वित्तीय मोडेल (वित्तीय ढाँचा) तयार पारिने सरकारको योजना छ ।