काठमाडौं । पठाओ नेपालले आफ्नो पार्सल डेलिभरी सेवा देशभर विस्तार गरेको छ । केही महिनायता परीक्षणका क्रममा रहेको यो सेवाबाट अब देशभर ३०० भन्दा बढी ठाउँमा सामान पठाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार व्यवसायीले काठमाडौंबाट जुनसुकै ठाउँमा सामान पठाउनु परे पार्सल सेवा लिन सक्नेछन् । काठमाडौँ उपत्यकाभित्रका मर्चेन्टले दिउँसो ३ बजेपछि डेलिभरीका लागि एक पटकको पिकअपका लागि २० भन्दा बढी एक/एक केजीका पार्सल दिएमा प्रत्येक पार्सलको डेलिभरीका लागि ७९ रुपैयाँ लाग्छ भने पिकअप निःशुल्क रहेको छ ।
“कम्पनीले देशभरका विभिन्न स्थानमा कार्यालय स्थापना सुरु गरिसकेको छ”, पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले भने, “पछिल्लो पाँच महिनामा पठाओ पार्सलले पाँच सयभन्दा बढी बिजनेस र मर्चेन्टलाई डेलिभरी सुविधा दिएको छ ।” उनका अनुसार पठाओले यस सेवामार्फत परीक्षण अवधिमै मासिक ५० हजारभन्दा बढी डेलिभरी गर्न सफल भएको हाे ।
पठाओ पार्सलमा आबद्ध मर्चेन्टलाई पठाओ कम्पनीले ‘ड्यासबोर्ड’ तालिम दिने र मर्चेन्टले आफ्नो सामान कहाँ पुग्यो भनेर ड्यासबोर्डमार्फत नै निगरानी गर्न सक्ने बताइएको छ ।पठाओ पार्सलबाट डेलिभरी गर्दा काठमाडौँ उपत्यकामा २४ घण्टाभित्र सामान डेलिभरी हुने, उपत्यका बाहिरका मुख्य सहरमा दोस्रो दिन डेलिभरी हुने र बाँकी स्थानमा तीन दिनभित्र डेलिभरी हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार क्यास अफ डेलिभरी जम्मा भएको पैसा मर्चेन्टको खातामा ४८ घण्टाभित्र जम्मा हुनेछ । नेपालका सबैजसो मुख्य सहरमा आफ्नै हब रहेकाले पठाओ पार्सलसँग देशकै सबैभन्दा ठूलो डेलिभरी सञ्जाल बन्दै गरेको कम्पनीको भनाइ छ ।
पठाओले पार्सल डेलिभरीसँगै दुई पांग्रे र चार पांग्रेमा राइड शेयरिङ, पठाओ फुड, पठाओ बजारको सेवा पनि उपलब्ध गराउँदै आएको छ ।