close

नेप्स प्राप्तिपछि एनसीएचएलको एकीकृत कारोबार सुरु, ‘नेपाल पे’ कार्ड ल्याउने योजना

टेकपाना टेकपाना

जेठ २२, २०८१ १७:५३

नेप्स प्राप्तिपछि एनसीएचएलको एकीकृत कारोबार सुरु, ‘नेपाल पे’ कार्ड ल्याउने योजना

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) लाई आफ्नो स्वामित्वमा लिएसँगै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले एकीकृत कारोबार सुरु गरेको छ । दुई भुक्तानी प्रणाली सञ्चालक गाभ्ने/गाभिने प्रकिया सम्पन्न भएपछि सोमबारदेखि एकीकृत कारोबार सुरु भएको एनसीएचएलले जनाएको छ । 

१३ वैशाखमा यी संस्थाले आ-आफ्नो विशेष साधारण सभाबाट गाभ्ने/गाभिने स्वीकृति प्राप्त गरी आवश्यक कानूनी र प्रक्रियागत काम सम्पन्न गरेका थिए । 

नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृति लिएपछि औपचारिक रूपमा एकीकृत कारोबार सुरु भएको हाे । भुक्तानी तथा फर्स्यौट विनियममा रहेको प्रावधान अनुसार डीडीए अडिटरले मूल्याङ्कन लगायत  प्रक्रिया पूरा गरेको कम्पनीले जनाएको छ  ।

नेप्सको १ बराबर एनसीएचएलको ०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्ति गरेको बताइएको छ । 

दुवै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्यसहित आ-आफ्नो क्षेत्रमा काम गर्दै आएका थिए । नेप्सले विगत ११ वर्षदेखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको थियाे भने भने एनसीएचएलले १५ वर्षदेखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्लेटफर्म सञ्चालन गर्दै आएको छ ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेसनल पेमेन्ट स्विचको कार्यान्वयन तथा अन्तरआबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

प्राप्तिपछि नेप्सले कार्डको पूर्वाधार अन्तर्गत दिने गरेको सेवालाई ईएफटी कार्ड सर्भिसको रुपमा निरन्तरता दिइनेछ । पूर्वाधारलाई थप सुदृढ गरी ‘नेपाल पे’ कार्डको डोमेस्टिक स्किमको सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइने कम्पनीले उल्लेख गरेको छ । 

प्राप्तिपछि एकीकृत चुक्ता पूँजी एक अर्ब सात करोड तथा कुल कोष एक अर्ब ४४ करोड कायम भएको छ । यसले पूर्वाधार विस्तार गर्न, जोखिम न्यूनीकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीलाई सुदृढ गर्न, नवीनतम अनुसन्धानका कार्यमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

साथै, २०८० चैत्र मसान्तसम्म दुवै कम्पनीको संयुक्त कारोबार रकम ११३ खर्बभन्दा बढि रहेको छ भने संयुक्त कारोबार संख्या १३ करोडभन्दा बढि रहेको कम्पनीले जनाएको छ । १३२ भन्दा बढी कर्मचारीको अनुभव तथा दक्षताले एनसीएचएललाई नेपाल तथा अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १८:२