close

सरकारबाटै नागरिकको गोपनीयता उलङ्घन

सुशिल फुँयाल सुशिल फुँयाल

असार ९, २०८१ १२:२७

सरकारबाटै नागरिकको गोपनीयता उलङ्घन

 

अहिले हामी सूचना र प्रविधिको युगमा छौं । त्यसैले आज सबैभन्दा मूल्यवान केही छ भने त्यो सूचना नै हो ।  त्यसमा पनि नागरिकको व्यक्तिगत सूचना वा जानकारी निकै संवेदनशील मानिन्छ । आफ्नो जानकारी बाहिरिंदा त्यो किन खतरनाक हुन्छ भन्ने विषयबारे अवगत भएर पनि मानिसहरू डेटा बाहिरिने जोखिमबारे सधैं चिन्तित हुन्छन् । 

डेटा ब्रिच अर्थात चोरी गरेको आरोपमा पक्राउ परेकाहरू हामीले आफ्नै अगाडि देखेका छौं । तर, सरकारले सार्वजनिक गरिदिने नागरिकको विवरण, डेटा ब्रिचभन्दा पनि खतरनाक छ । यदि सरकारले नै आफ्ना नागरिकको गोपनीयतालाई खतरामा पार्‍यो भने के हुन्छ होला, यो लेख त्यही विषयमा केन्द्रीत छ ।

वैयक्तिक गोपनीयता  सम्बन्धी ऐन, २०७५ ले नागरिकको व्यक्तिगत जानकारीको सुरक्षालाई सम्बोधन गरेको छ । सो ऐनको दफा (२) को उपदफा (ग) को (४) मा “निजको राहदानी, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र नम्बर, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा सार्वजनिक निकायबाट जारी भएका परिचयपत्रको विवरण”लाई  वैयक्तिक सूचनाका रूपमा परिभाषित गरिएको छ । 

तर, के यो गोपनीयता संरक्षणको सवाल व्यवहारमा लागु भएको छ त भन्ने प्रश्न यथावत् छ । 

यातायात व्यवस्था विभाग र विभिन्न यातायात कार्यालयहरूको फेसबुक पेज हेर्ने हो भने गोपनीयता सम्बन्धी अधिकार व्यवहारमा कत्तिको लागु भएको छ भन्ने प्रस्ट हुन्छ । विभाग र कार्यालयले लिखित ड्राइभिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गर्दा जसरी सेवाग्राहीको नागरिकता नम्बर जस्ता संवेदनशील व्यक्तिगत डेटा‍ सार्वजनिक गर्छन्, त्यसले गोपनीयता ऐनमा उल्लिखित गोपनीयता सुरक्षा र संरक्षण सम्बन्धी प्रावधानहरू स्पष्ट रूपमा उल्लङ्घन गरेको देखिन्छ । देशका विभिन्न यातायात व्यवस्था कार्यालयको फेसबुक पेजमा पहुँच भएका जो कोहीले सेवा ग्राहीका नागरिकता र अन्य व्यक्तिगत जानकारी सजिलै प्राप्त गर्न सक्छन् । 

यसरी प्राप्त जानकारीको भरमा साइबर हमलाकारी वा अपराधीले थुप्रै काम गर्न सक्छन् । उदाहरणका लागि विभागले फेसबुक पेजमा उपलब्ध गराएका विवरणको आधारमा मैले मेरै व्यक्तिगत जानकारीका कसरी प्राप्त गरें भन्ने देखाउँदैछु ।

नोटः खोज तथा अनुसन्धानका लागि मैले यसमा आफ्नै व्यक्तिगत जानकारी प्रयोग गरेको छु । यसमा अन्य कोही कसैको संलग्नता छैन । 

सबैभन्दा पहिला मैले यातायात व्यवस्था विभागले फेसबुक पेजमा सार्वजनिक गरेको ‘सवारी चालक अनुमति पत्रका लागि लिखित परीक्षाको नतिजा’बाट नागरिकता नम्बर प्राप्त गरें ।

 

त्यसपछि निर्वाचन आयोगको वेबसाइटमा गएँ र उक्त नागरिकता नम्बरलाई नेपाली फन्टमा परिणत गरेर राखें । 

यसरी व्यक्तिको जन्ममिति वा नागरिकता नम्बर राखेकै भरमा मैले मतदाता परिचय पत्रको विवरण हात पारें । यति सजिलै यस्तो संवेदनशील व्यक्तिगत जानकारी जोसुकैले हात पार्न सकिने अवस्था निकै चिन्ताजनक छ । यस्तो संवेदनशील जानकारी गलत व्यक्तिको हातमा पर्‍यो भने दुरुपयोग हुन सक्छ भनेर बेलैमा समस्या पहिचान गर्न आवश्यक छ । यो जानकारी सम्बन्धित निकायले जिम्मेवारी पूर्वक व्यवस्थापन गर्न महत्त्वपूर्ण हुन्छ । सम्भावित दुरुपयोग वा पहिचान चोरीबाट आफूलाई जोगाउन व्यक्तिगत जानकारीको सुरक्षा गर्नु अहिलेको आवश्यकता हो । 

व्यक्तिगत जानकारीको अनुचित व्यवस्थापनले गर्दा कस्ता जोखिम निम्तिन सक्छन् भन्ने चर्चा गरिसकेपछि यसको समाधान के हुन सक्छ भन्ने विश्लेषण गर्नु आवश्यक छ । यस्ता संवेदनशील डेटा सुरक्षित राख्न मद्दत गर्न सक्ने केही सुझावहरू तल उल्लेख गरेको छु । यी सुझाव मेरा व्यक्तिगत विचार मात्र हुन् । 

१) एसएमएस प्रणाली लागु गर्नु 

नागरिकको संवेदनशील जानकारी जस्तै ड्राइभिङ लाइसेन्सनको लिखित परीक्षाको नतिजा वा व्यक्तिगत डेटा सार्वजनिक रूपमा उपलब्ध गराउनुभन्दा सेवाग्राहीको डिभाइसमा एसएमएस प्रणालीमार्फत यसको जानकारी उपलब्ध गराउनु उपयुक्त हुन्छ । यो तरिका अपनाउँदा सेवाग्राहीले सुरक्षित रूपमा आफ्नो नतिजा फोनमा पाउन सक्छन् । यसले गर्दा सेवाग्राहीको डेटा तेस्रो पक्षले पाउने जोखिम निकै कम हुन्छ । 

२) नतिजा सार्वजनिक गर्दा नागरिकता नम्बर नराख्ने 

सेवाग्राहीको नतिजा सार्वजनिक गर्दा नागरिकता नम्बर नराख्नु नै उपयुक्त हुन्छ । नागरिकता नम्बर निकै संवेदनशील हुने भएकाले यसलाई सोही अनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

यसरी नागरिकता नम्बर मात्र नराखिदिने हो भने पहिचान चोरी वा दुरुपयोगको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिन्छ ।

यी उपायहरू अपनाएर हामी व्यक्तिगत जानकारीलाई अझ राम्रोसँग सुरक्षित राख्न र सम्भावित गोपनीयता उल्लङ्घन वा दुरुपयोग जोगाउन सक्छौं । सम्बन्धित सरकारी निकायहरूले सेवाग्राहीको डेटाको सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिनुपर्ने हुन्छ ।

(लेखक फुयाल साइबर सुरक्षा अनुसन्धानकर्ता हुन् । हाल उनी आईएनजी कन्सल्टिङमा अफेन्सिभ सेक्युरिटी लिडका रूपमा कार्यरत छन् ।) 

पछिल्लो अध्यावधिक: असार ९, २०८१ १२:५९