close

चुहिन थालेपछि मासिक साढे १८ लाख भाडाको प्राधिकरण कार्यालयको बिजोग, सँगसँगै मुसा आतङ्क

टेकपाना टेकपाना

साउन २२, २०८१ १७:४७

चुहिन थालेपछि मासिक साढे १८ लाख भाडाको प्राधिकरण कार्यालयको बिजोग, सँगसँगै मुसा आतङ्क

काठमाडौं । कार्यालय भवनका भित्ता र सिलिङ रसाएका छन् । ठाउँठाउँबाट पानी तपतप चुहिरहेको छ । पानीले कमजोर बनेपछि भित्ता र सिलिङ ठाउँठाउँमा उक्किन र चिरा पर्न थालेको छन् । सिलिङका भागहरू कहाँ कतिखेर खस्ने हो ठेगान छैन ।

 

यो दृश्य नेपालको दूरसञ्चार क्षेत्रलाई नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयको हो । मङ्गलबार मात्रै रसाएको सिलिङ उक्किएर खस्यो । त्यहाँ रहेकी कर्मचारी प्रतीक्षा बुढाथोकी भाग्यले बाँचिन् । सुरुमा सानो टुक्रा खस्ने बित्तिकै उनी त्यहाँबाट उठेपछि सिलिङको बाँकी भाग खसेको थियो । 

कार्यालयको भुईं तल्लामा पानी चुहिने चार पाँच ठाउँमा बाल्टी थापिएका छन् । शौचालयको दुर्गन्ध र भान्साबाट निस्किने धुवाँ पनि भुईं तल्लामा कर्मचारी बस्ने ठाउँतिरै बहने गरेको छ ।

 

वर्षा‌को पानी चुहिन थालेसँगै अहिले प्राधिकरणको सो कार्यालयमाथि जोखिम थपिंदो छ । यो प्राधिकरणको आफ्नै स्वामित्वको भवन पनि होइन । यसका लागि उसले मासिक १८ लाख रुपैयाँभन्दा बढी भाडा सांस्कृतिक संस्थानलाई बुझाउने गरेको छ । 

प्राधिकरणका कर्मचारी शिवराज जैशीका अनुसार महत्त्वपूर्ण फाइलहरू राखिएका र्‍याक, स्टोर, ट्वाइलेट लगायतका विभिन्न स्थानमा सिलिङ र भित्ताबाट पानी निस्किरहेको छ । वायरिङ गरिएका स्थानमा समेत पानी पसेपछि कर्मचारीहरू करेन्ट लाग्ने जोखिमबाट त्रसित छन् । 

“लाइसेन्स शाखाका महत्त्वपूर्ण फाइलहरू पानीले भिजेका छन्,” प्राधिकरणका अर्का कर्मचारीले भने, “पानी नपर्दा समेत भित्ताहरू रसाइरहने भएकाले यो पानी ट्वाइलेट तिरबाट आएको हो कि भन्ने पनि छ ।”

हुन त यस्तो पानी रसाउने तथा चुहिने समस्या देखिन थालेको एक वर्ष बितिसकेको प्राधिकरणका कर्मचारीहरू बताउँछन् । असोज २०७७ मा प्राधिकरणको कार्यालय कमलादी स्थित भाडाको घरबाट जमल स्थित सांस्कृतिक संस्थानको स्वामित्वमा रहेको राष्ट्रिय नाचघरमा सरेको थियो । प्रति वर्गफिटकै ७० रुपैयाँ भाडा दर कायम गरी संस्थान र प्राधिकरणको सम्झौता अनुरूप प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुँदै आएको छ । 

त्यसो त नाचघरको भुइँतला र पार्किङमा अक्सिजनको कमी र कार्बनडाइअक्साइड धेरै हुँदा कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा जोखिम पर्न थालेपछि त्यहाँका कर्मचारी आन्दोलनमै उत्रिए । 

पानी चुहिने, निसास्सिने, बत्ती जाँदा दिउँसै अन्धार हुने मात्रै नभई प्राधिकरणको कार्यालयमा अहिले मुसा आतङ्क पनि थपिएको छ । प्राधिकरणकी उप निर्देशक प्रतिमा घिमिरेले भर्खरै किनेको नयाँ झोला मुसाले काटिदिएको छ । खाने कुरा लगि दिने, कागजात तथा फाइलहरू टोकी दिने जस्ता समस्याले कर्मचारीमाथि हैरानी थपिएको छ ।  

“औषधी राखेर मारौं भने कता मर्छ ठेगान हुँदैन, निकाल्नै सकिन्न र उल्टै दुर्गन्धले झन् सताउँछ,” जैशी भन्छन् । ३५ जना सदस्य रहेको नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले कार्य स्थलको विषयलाई लिएर काम छोडेरै आन्दोलन थालेको १३ दिन भइसकेको छ ।

माग सम्बोधन नभए आउँदो शुक्रबारदेखि कार्यालय प्रमुखलाई प्रवेश निषेध गर्नेसम्मका कार्यक्रम रहेको युनियन अध्यक्ष समेत रहेका जैशीले सुनाए । प्राधिकरणको भवन कार्य सम्पादनका दृष्टिकोणले उचित, पर्याप्त अक्सिजन र प्रकाशको न्यूनतम मापदण्ड समेत नपुगेको उनको भनाई छ ।

प्राधिकरणको आफ्नै स्वामित्वको जग्गा र भवन नभएसम्मका लागि उपयुक्त स्थानमा कार्यालय सार्नुपर्ने लगायतका माग कर्मचारीहरूले अघि सारेका छन् ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८१ १९:५०