काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपमा लगानी गर्ने उद्देश्यले नयाँ लगानी कम्पनी स्थापना गरेको छ । बुधबार राजधानीमा आयोजित ‘स्टार्टअप नेसन २०३०’ कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिँदै कम्पनीको प्रमुख उद्देश्य स्टार्टअपहरूको प्रवर्द्धन रहेको बताए ।
अध्यक्ष ढकालका अनुसार १० अर्ब रुपैयाँ पुँजीको यस कम्पनीले विभिन्न स्टार्टअपहरूमा स्वतन्त्र रूपमा लगानी गर्नेछ । तर, यो स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले कम्पनीमा लगानी गर्न सक्ने उनले स्पष्ट पारे ।
स्टार्टअप नीति पारित भएको भन्दै ढकालले नेपाल उद्योग वाणिज्य महासंघले यस नीतिको पहिलो मस्यौदा सरकारसमक्ष पेश गरेकोमा खुसी व्यक्त गरे । ढकालले स्टार्टअप र नयाँ उद्यमीलाई सहज बनाउन युवाहरूलाई सहयोग गर्न इन्क्युबेशन र इनोभेसन सेन्टरहरू स्थापना गर्नुपर्ने पनि बताए ।