काठमाडौं । प्रविधि कम्पनीहरू ओपनएआई, एडोबी र माइक्रोसफ्टले एआईबाट सिर्जना गरिने सामग्रीहरूमा लेबल लगाउनु पर्ने व्यवस्था सहितको क्यालिफोर्नियाको विधेयकको पक्षमा देखिएका छन् । ती कम्पनीहरूबाट हात पारिएका पत्रमार्फत टेकक्रञ्चले सो कुराको पुष्टि गरेको हो ।
उक्त विधेयकमाथि यही अगस्ट महिनामा अन्तिम मत विभाजन हुँदैछ । ‘एबी ३२११’ नाम दिइएको क्यालिफोर्नियाको डिजिटल कन्टेन्ट प्रादेशिक मापदण्ड अनुसार एआईबाट सिर्जित फोटो, भिडिओ र अडिओ क्लिपको मेटाडेटामा वाटरमार्क आवश्यक पर्नेछ ।
त्यसो त थुप्रै एआई कम्पनीहरूले यो कार्यको थालनी यसअघि नै गरिसकेको भए पनि अधिकांश मानिसहरू भने मेटाडेटा पढ्दैनन् । ‘एबी ३२११’ ले इन्स्टाग्राम, एक्स, फेसबुक जस्ता अनलाइन माध्यमका लागि पनि औसत प्रयोगकर्ताले बुझ्ने गरी एआईबाट तयार पारिएका सामग्रीमा लेबल लगाउनु पर्ने प्रावधान अगाडि सारेको छ ।
ओपनएआई, एडोबी र माइक्रोसफ्ट कोलिसन फर कन्टेन्ट प्रोभिनेन्स एन्ड अथेन्टिसिटी नामक संयन्त्रको अङ्गको रूपमा रहेका छन्, जसले एआईबाट तयार पारिएका सामग्रीहरूमा चिन्ह लगाउने मापदण्ड सी२पीए मेटाडेटा तयार पार्न सहयोग गर्दै आएको छ ।
गत अप्रिलमा भने एडोबी, माइक्रोसफ्ट र अमेरिकाका अन्य ठूला सफ्टवेयर निर्माता अनुपयोगी र अधिक बोझिलो हुने भन्दै यो विधेयकको विरोधमा उत्रिएका थिए । तर संशोधनपछि भने उनीहरू यसको समर्थमा देखिएका हुन् ।