close

एपको सट्टा एआई एजेन्टमा चल्ने स्मार्टफोन ल्याउँदै ओपनएआई

टेकपाना टेकपाना

बैशाख २३, २०८३ १६:२०

एपको सट्टा एआई एजेन्टमा चल्ने स्मार्टफोन ल्याउँदै ओपनएआई

काठमाडौँ । च्याटजीपीटी निर्माता कम्पनी ‘ओपनएआई’ ले निर्माण गरिरहेको ‘एआई-फर्स्ट’ स्मार्टफोनको व्यावसायिक उत्पादन सन् २०२७ को सुरुवातदेखि हुने भएको छ । प्रविधि बजार विश्लेषक मिङ-ची कुओका अनुसार यसअघि सन् २०२८ मा मात्र उत्पादन सुरु हुने अनुमान गरिएको यो फोनको निर्माण कार्य हाल तीव्र गतिमा अघि बढेको हो ।

कुओका अनुसार यस फोनको निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएमा सन् २०२७ र २०२८ भित्र करिब तीन करोड युनिट बजारमा पठाइने अनुमान छ । यो सङ्ख्या सामसङ ग्यालेक्सी एस २५ सिरिजको पहिलो वर्षको बिक्री अनुमानसँग मिल्दोजुल्दो छ ।

हाल बजारमा रहेका स्मार्टफोनमा एप-केन्द्रित प्रणाली हुने भए पनि ओपनएआईको फोन पूर्ण रूपमा ‘एआई एजेन्ट’मा आधारित हुनेछ । विश्लेषक कुओका अनुसार यस मोडेललाई सपोर्ट गर्न ओपनएआईले आफ्नै छुट्टै हार्डवेयर र अपरेटिङ सिस्टम निर्माण गरिरहेको छ । यस फोनमा मिडियाटेकको ‘डाइमेन्सिटी ९६००’ प्रोसेसरको कस्टमाइज्ड भर्सन प्रयोग गरिनेछ । यो प्रोसेसर २०२६ को तेस्रो त्रैमासिकमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

एप्पलका पूर्व प्रमुख डिजाइनर जोनी आइभ गत वर्षको जुलाईदेखि ओपनएआईको डिजाइन विभागमा आबद्ध छन् । यद्यपि उनले यस नयाँ फोनको डिजाइनमा काम गरिरहेका छन् वा छैनन् भन्ने आधिकारिक जानकारी बाहिर आएको छैन । कम्पनी बाहिरका मानिसले थाहा पाएको वा सार्वजनिक रूपमा भनेको जानकारी अनुसार उनी या त ‘ह्युमन एआई पिन’ वा ‘र्‍याबिट आर वन’ जस्तै स्क्रिनबिनाको लगाउन मिल्ने एजेन्टिक एआई पिन बजारमा ल्याउने तयारीमा छन् । वा, क्यामेरा भएको स्मार्ट स्पिकर बनाइरहेका छन् । 

आईफोनको डिजाइनको छुट्टै पहिचान बनाउने व्यक्तिले भविष्यमा एआई फोनमा पनि त्यही लिगेसीलाई निरन्तरता दिन सक्छन् वा सक्दैनन् भन्ने हेर्न बाँकी छ ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८३ १७:४७