close

गुगल जेमिनाईमा नयाँ फिचर, अब यसरी सजिलै तयार पार्न सकिन्छ 3D मोडेल तथा सिमुलेसन

टेकपाना टेकपाना

चैत ३०, २०८२ २३:५१

गुगल जेमिनाईमा नयाँ फिचर, अब यसरी सजिलै तयार पार्न सकिन्छ 3D मोडेल तथा सिमुलेसन

काठमाडौँ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल जेमिनाईमा एक शक्तिशाली अपडेट ल्याएको छ । अब यो नयाँ फिचरको मद्दतले अब जेमिनाई च्याटबटले प्रयोगकर्ताका प्रश्नहरूको जवाफमा केवल लिखित जवाफ (Text) वा साधारण चित्र मात्र नभई पूर्ण रूपमा अन्तरक्रियात्मक थ्रिडी मोडेल र सिमुलेसन समेत सिर्जना गर्न सक्छ ।

यसअघि जेमिनाईले केवल अन्तरक्रियात्मक चित्रहरू मात्र उत्पन्न गर्न सक्थ्यो । तर अब यसले जटिल वैज्ञानिक र गणितीय अवधारणाहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्नेछ । यो नयाँ प्रविधि मार्फत प्रयोगकर्ताले एआईद्वारा निर्मित थ्रिडी मोडेललाई आफ्नो इच्छा अनुसार घुमाउन (Rotate), जुम गर्न (Zoom) र म्यानुअल रूपमा स्लाइडरहरू चलाएर विभिन्न पक्षहरू मिलाउन सक्नेछन् । साथै सिमुलेसनलाई तत्काल परिवर्तन गर्नका लागि फरक-फरक मानहरू (Values) वा अङ्कहरू राख्न सकिने सुविधा पनि थपिएको छ ।

यो फिचरको परीक्षणका क्रममा जब जेमिनाईलाई 'पृथ्वीको वरिपरि चन्द्रमाले कसरी परिक्रमा गर्छ भन्ने सिमुलेसन देखाउ' भनियो, यसले एउटा विस्तृत थ्रिडी मोडेल तयार गर्‍यो । यो सिमुलेसनमा प्रयोगकर्ताले चन्द्रमाको परिक्रमा गर्ने गति मिलाउनका लागि स्लाइडर, कक्षीय मार्ग (Orbital path) देखाउने वा लुकाउने टगल बटन, सिमुलेसनलाई रोक्ने (Pause) बटन र प्रारम्भिक वेग (Initial velocity) र गुरुत्वाकर्षणको शक्ति (Gravity strength) का लागि निश्चित अङ्कहरू राखेर त्यसको प्रभाव तत्काल हेर्न मिल्ने सुविधा जस्ता विकल्प पाउँछन् ।

यसबाहेक प्रयोगकर्ताले 'मलाई डबल पेन्डुलम देखाउ' वा 'डपलर प्रभाव (Doppler effect) बुझ्न मद्दत गर' जस्ता प्रम्प्टहरू दिएर पनि जटिल भौतिक शास्त्रका नियमहरूलाई दृश्यका माध्यमबाट बुझ्न सक्नेछन् ।

गुगलको यो अपडेट यस्तो समयमा आएको छ, जब एआई क्षेत्रका अन्य कम्पनीहरू पनि दृश्य माध्यममा केन्द्रित भइरहेका छन् । केही हप्ता अघि मात्र एन्थ्रोपिकको क्लाउडले स्वचालित रूपमा चार्ट र रेखाचित्रहरू बनाउने क्षमता थपेको थियो । त्यस्तै ओपनएआईको च्याटजीपीटीले पनि गणित र विज्ञानका अवधारणाहरूलाई भिजुअलाइज गर्ने सुविधा ल्याएको थियो ।

कसरी प्रयोग गर्ने ?

जेमिनाईका सबै एप प्रयोगकर्ताहरूले यो सुविधा प्रयोग गर्न सक्नेछन् । त्यसका लागि सबैभन्दा पहिला जेमिनाईको वेबसाइट (gemini.google.com) मा जानु पर्ने हुन्छ । त्यसपछि प्रम्प्ट बारमा रहेको मोडेल छनोट गर्ने स्थानबाट 'प्रो' (Pro) मोडेल रोजेर कुनै पनि जटिल विषयमा 'मलाई देखाउ' (show me) वा 'बुझ्न मद्दत गर' (help me visualize) भन्दै प्रश्न सोध्नुपर्ने हुन्छ ।

यति गरिसकेपछि जेमिनाईको लिखित जवाफ मुनि देखिने 'Show me the visualization' बटनमा क्लिक गरेपछि अन्तरक्रियात्मक मोडेल खुल्छ ।

गुगलका अनुसार यो फिचर हाल विश्वभरका सबै जेमिनाई एप प्रयोगकर्ताहरूका लागि उपलब्ध गराउन सुरु गरिएको छ । यद्यपि हालका लागि यो सुविधा 'एजुकेसन' र 'वर्कस्पेस' अकाउन्टहरूमा भने उपलब्ध गराइएको छैन । यो अपडेटले सिकाइ र अनुसन्धानको प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ २३:५१