काठमाडौं । विदेशीको ९५ लाख पाउने प्रलोभनमा परेर एक नेपालीले करिब एक करोड रुपैयाँ गुमाएका छन् । थाइल्याण्डमा मृत्यु भएका व्यक्तिको बैंक खातामा रहेको रकम प्राप्त गर्ने लोभमा उनले पटकपटक गरी करोड गुमाउन पुगेका हुन् ।
सामाजिक सञ्जालमा आफूलाई आएको मेसेजको पछि लाग्दा उनी ठगीमा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई फेसबुकमा थाइल्याण्डमा बस्ने एक व्यक्तिको कार दुर्घटनामा परी मृत्यु भएको र मृतकको कोही आफन्त नभएको भन्दै मेसेज प्राप्त भएको थियो । साथै थाइल्यान्डको बैंकमा ती मृत व्यक्तिको खातामा ८५ लाख डलर (करिब ११ करोड ३८ लाख ९१ हजार ५०० रुपैयाँ) रहेको बताइएको थियो ।
उनलाई बैंकको कर्मचारीले नै मेसेज पठाएको भन्ने विश्वास दिलाइएको थियो । त्यसपछि मृतकको उत्तराधिकारी बनाई बैंक खातामा रहेको सबै रकम पठाइदिने लोभ देखाइयो । उनी पनि त्यति धेरै पैसा पाइन्छ भन्ने आशामा उताबाट जे जे भन्यो, त्यही गर्न थाले ।
पैसा पठाउन विभिन्न शीर्षकमा कर चाहिने भन्दै त्यसका लागि उनीबाट रकम माग्न थालियो । उताबाट भनेकै खातामा उनले पैसा राखिदिन थाले । पछि अन्य बहाना देखाई थप पैसा असुल्ने कार्य भएपछि उनी सशङ्कित त बने, तर डुबेको रकम फर्किने आशमा झन् बढी ठगिए ।
यसरी पटकपटक गरी एक करोड रुपैयाँ ठगी भएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिए । उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले महोत्तरी घर भई सूर्यविनायक, भक्तपुर बस्दै आएका २२ वर्षीय रोहित रञ्जन यादवलाई आइतवार पक्राउ गरेको छ ।
आरोपी यादवले अन्य सोझा व्यक्तिहरूलाई पनि विभिन्न प्रलोभन देखाई ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । यादवको साथबाट बरामद भएको आईफोन १४ प्रो म्याक्समा बाइनान्स एप पनि भेटिएको र उनको अकाउन्टमा ३.६६ बीटीसी बिटक्वाइन रहेको प्रहरीले जानकारी दिएको छ ।
यादवमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।