काठमाडौं । ह्वाट्सएपमा टेक्स्ट, अडिओ, भिडिओ, फाइल आदि पठाएर अरू व्यक्तिसँग कुराकानी गर्न सकिन्छ । तर ह्वाट्एपमा रोचक तरिकाले आफ्नो भिडिओ मेसेज पठाउन सकिने फिचर पनि उपलब्ध छ । यो फिचरबाट च्याट गरिरहँदा सोझै अन्य व्यक्तिलाई भिडिओ पठाउन सकिन्छ ।
सामान्यत: सामाजिक सञ्जालमा पठाइएको भिडिओको आकार आयातकार हुन्छ । तर, ह्वाट्सएपको यस फिचरबाट भने वृत्त आकारको भिडिओ पठाउन सकिन्छ । यदि स्न्यापच्याट चलाउनुहुन्छ भने तपाईंले यो फिचर समान पाउनुहुन्छ । तर यस फिचरबाट ६० सेकेन्डसम्मको मात्र भिडिओ पठाउन सकिन्छ । विशेषगरी खास क्षणहरू शेयर गर्न, रमाइलो भिडिओ बनाउन यो फिचर उपयोगी हुन सक्छ ।
-ह्वाट्सएप खोलेर मेसेज पठाउनु पर्ने व्यक्तिसँगको च्याटमा जानुहोस् ।
-मेसेज बक्सको दायाँ भागमा माइक्रोफोनको छेवैमा क्यामेरा आइकन देखिन्छ ।
-त्यसमा केही सेकेन्ड थिचिरहनुहोस् । यसपछि वृत्त आकारको क्यामेरा खुल्छ । र गिन्ती पनि सुरु हुन्छ ।
-अब क्यामेरा लक गर्न थिचिरहेको औंलालाई स्क्रिनको माथितिर लानुहोस् ।
-क्यामेरा परिवर्तन गर्न भने (फ्रन्ट र रियर) स्क्रिनको बायाँ भागमा आइकन देखिन्छ ।
-उसैगरी भिडिओ मेसेज क्यान्सिल गर्न थिचिरहेको औंलालाई बायाँतिर स्वाइप गर्नुहोस् । अनि मेसेज पठाउन औंला थिच्न छाड्नुहोस् ।
-यसपछि मेसेज पाउने व्यक्तिले भिडिओ मेसेज पाउनासाथ स्वत: हेर्न सक्छन् । अडिओ सुन्न भने त्यसमा एक ट्याप गर्नुपर्ने हुन्छ ।
ह्वाट्सएपका अनुसार त्यसरी पठाइने मेसेज पनि इन्क्रिप्सन गरिएको हुन्छ । यसकारण मेसेज असुरक्षित हुन सक्ने सम्भावना हुँदैन ।