काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलको लाइसेन्स थप पाँच वर्षका लागि नवीकरण भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो किस्ताबापत पाँच अर्ब रुपैयाँ भुक्तानी गरेपछि एनसेलको लाइसेन्स नवीकरण गरिएको हो ।
यसअघि १४ जेठमा चार अर्ब रुपैयाँ बुझाएको एनसेलले थप एक अर्ब रुपैयाँ तिरेपछि लाइसेन्स नवीकरण भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । योसँगै एनसेललाई आइतवार नवीकरण पत्र दिइएको उनले बताए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई २० अर्ब रुपैयाँको नवीकरण शुल्क ब्याजसहित चार किस्तामा तिर्ने सुविधा दिने निर्णय गरेको थियो । अब एनसेलले २०८४ भित्र बाँकी १५ अर्ब रुपैयाँ तीन किस्तामा पाँच/पाँच अर्बका दरले तिर्नुपर्ने छ । त्यस्तै प्रत्येक वर्ष बाँकी रकममा १० प्रतिशत ब्याज दस्तुर लाग्नेछ ।
प्रवक्ता पौडेलका अनुसार एनसेलले चाहेको खण्डमा किस्ता रकम समय अगाडि नै तिर्न सक्नेछ ।
यही १५ भदौमा एनसेलको जीएसएम मोबाइल लाइसेन्सको अवधि २० वर्ष पूरा भएको थियो । त्यस अगावै कम्पनीले किस्ताबन्दीमा शुल्क तिर्न पाउने गरी लाइसेन्स नवीकरण गरिदिन अनुरोध गर्दै आएको थियो । सोही बमोजिम सरकारले एनसेललाई चार किस्तामा ब्याजसहित नवीकरण दस्तुर तिर्ने सुविधा दिएको हो ।